दुखको बस्ती साङ्ता

समाधान संवाददाता २०७६ कार्तिक ४ गते १४:२९

एसके थकाली
जोमसोम

मुस्ताङ सदरमुकाम जोमसोमबाट पश्चिम लाग्दा करिब ४० किमीमा एउटा विकट बस्ती भेटिन्छ । यो ठाउँको नाम हो साङ्ता । मुस्ताङ र डोल्पाको पश्चिम सीमाना स्थित अग्लो पहाडको खोचमा पर्छ यो गाउँ । ६ महिना वारि, ६ महिना पारि बासस्थान फेर्ने साङ्तेलीको वार्षिक कार्यतालिका हो ।

हिउद लाग्दा जाडो छल्न पारी पाखो र बर्खा लाग्दा वारी पाखो उनीहरुका वासस्थान हुन् । बर्खायाममा खोला वारी पशुपालन, कृषि र आन्तरिक व्यापार व्यवसाय गरेर उनीहरु गुजारा गर्छन् भने हिउँद याममा पशु, चौपाया र खाद्यान्न बोकेर खोलापारीको घोक भन्ने स्थानमा जाडो कटाउन पुग्छन् ।

Advertisement

अहिलेको साङ्ता बस्ती उनीहरुको सुरुआती बस्ती होइन । धेरै वर्षअघि यो बस्ती खोला पारीको सेन्ताक भन्ने ठाउमा थियो । बस्तीमा सुख्खा पहिरोको जोखिम बढेपछि खोलावारी सरेको गाउँ मुखिया ङाहिटुक गुरुङले जानकारी दिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ शाङ्तामा विपन्न वर्गका १४ घर छन् ।

गएको निर्वाचनमा यहाँ करिब ४० मतदाता थिए । एउटै वडा पर्ने फल्याक र धार्काजुङ भन्दा साङ्ता गाउँ करिब ३० किमी टाढा छ । समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा अवस्थित साङ्ता मुस्ताङकै सबैभन्दा कम जनघनत्व भएको गाउँ हो । ससाना एकापसमा घर जोडिएको यो गाउँ निकै पिछडिएको छ । यहाँका बासिन्दा शुद्ध नेपाली बोल्न पनि सक्तैनन् ।

Advertisement

बस्तीका सबै घरले खेतीपाती गरे पनि उत्पादन गरेको अन्नवालीले ४ महिना थेग्दैन । सबैले च्याङ्ग्रा र याकचौरी पनि पालेका छन् । वैशाख लागेपछि उनीहरु पाटनमा यार्सा खोज्छन् । यार्सा, कृषि र पशुपालन व्यवसाय उनीहरुको जीवन धान्ने माध्यम हुन् । सीमित खेतीयोग्य जमिनमा गहुँ र फापरबाहेक अरु खेती हँदैन । हिउँद बर्खा नै उनीहरु गाउँमै बस्छन् । हिउँदको जाडोमा महिलाले घरेलु गलैंचा बुन्छन् ।

मुस्ताङको साङ्ता बस्ती हुँदै डोल्पा जोड्ने पदमार्ग छ । गाउँदेखि पैदल हिडे ६ घण्टामा याकखर्क पुगिन्छ । त्यसबाट ४ घण्टा हिडे डोल्पाको छार्का गाउँ पुगिन्छ । डोल्पा हँुदै विदेशी पर्यटक मुस्ताङ आउँछन् । झन्डै ५ पुस्ता पुरानो साङ्ता गाउँको बस्ती पछिल्लो समय बर्सेनि अन्यत्र स्थानान्तरण हुने क्रममा छ । सुरुआतमा २५ घरधुरी रहेकोमा अहिले १४ घरधुरीमात्र छन् ।

आधारभूत सुविधा उपलब्ध नभएपछि वस्ती विस्थापित हुन थालेको वडाध्यक्ष राप्के गुरुङले जानकारी दिए । उनी भन्छन््, ‘गाउँमा विद्युत, सञ्चार र स्वास्थ्य चौकी अभावले बस्ती विस्थापित हँुदै छ । यहाँका पूरै युवा अशिक्षित छन् । बिरामी पर्दासमेत उपचार पाउन कठिन छ । गाउँमा शौचालय पनि छैेन ।’ घर नजिकैको स्कुल करिब खाली छ । यहाँका केही बालबालिकालाई अन्यत्रका स्कुलमा राखेर पढाइएको छ ।

जोमसोमसम्म कच्ची सडक भए पनि यहाँ आइपुग्न पूरै दिन लाग्छ । गाउँसम्म सडक विस्तार भए पनि सार्वजनिक सवारी चल्दैनन् । गाउँले जोमसोमबाट चर्को भाडा तिरेर खाद्यान्न गाउँ लैजान्छन् । मुस्ताङमा ९६ गाउँ छन् ।

शनिबार ३ तहका सरकार साङ्ता गाउँ पुगे । संघीय सांसद प्रेमप्रसाद तुलाचन, प्रदेश सांंसदहरु महेन्द्रबहादुर थकाली र चन्द्रमोहन गौचन र प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल लगायतको टोली साङ्ता पुगेको हो । कहिल्यै सरकारका प्रतिनिधि नपुगेको गाउँमा सरकारी उपस्थित रहदा स्थानीय दंग परे ।

घरदैलोमै आइपुगेका सरकारी प्रतिनिधिसमक्ष गाउँलेले ५ बँुदे लिखित माग राखे । मागपत्रमा बिद्युत, सञ्चार, सडक स्तरोन्नति, सिंचाइ र बजारीकणको व्यवस्था लगायत छन् । जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता र प्रतिलिपि उपलब्ध गरयो । सांसद प्रेमप्रसाद तुलाचनले समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको अवधारणा अन्तर्गत सरकार लागिपरेको सुनाए । उनले यहाँ आधारभूत आवश्यकता तत्काल परिपूर्तिका लागि पहल गर्नेसमेत प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया