आङ सान सूची ‘भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने तयारी

समाधान संवाददाता २०७६ कार्तिक ४ गते १५:४६

समाधान संवाददाता, काठमाडाैं

सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमण तयारी सुरु गरेको छ ।

राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले तयारी सुरु गरेको हो ।

Advertisement

सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहाना राष्ट्रपति समक्ष व्यक्त गरेको बताए । सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको उनले जानकारी दिए ।

‘म्यानमारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रमोशन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ,’ संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, ‘हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौं ।’ मन्त्री ज्ञवालीले सूचीको भ्रमणको मिति भने खुलाएका छैनन् ।

Advertisement

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे । उनले नेपालले कसैको दवावमा परेर कुनै पनि सन्धि/सम्झौंता नगर्ने पटक–पटक दोहोर्‍याए ।

राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तराष्ट्रिय सन्धि, सम्झौता गर्ने मन्त्री ज्ञवालीको भनाइ छ । वालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको बताए । राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धि महत्वपूर्ण सम्झौंता भएको थियो ।

तपाईको प्रतिक्रिया