झलकमानका गीत जापानमा गुञ्जने

समाधान संवाददाता २०७६ कार्तिक ५ गते १४:१२

समाधान संवाददाता
पोखरा

जापानको कोमागाने सहरमा आयोजना हुने मिनाकोओ विश्व सांस्कृतिक महोत्सवमा सहभागी हुन पोखरेली कलाकारको ३ सदस्यीय टोली जाने भएको छ । कार्यक्रममा सहभागी हुन जाने टोलीलाई पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सोमबार बिदाइ गरे । टोलीमा सहभागी धनबहादुर गायक, विवेक गायक र प्रतीक थापालाई महानगर प्रमुख जिसीले माला लगाएर बिदाइ गरेका हुन् ।

टोली अक्टोबर २४ गते जापानको कोमागाने प्रस्थान गर्नेछ । कार्यक्रममा नेपाली लोक धुन र लोक गीतहरु प्रस्तुत गरिने टोलीमा सहभागी धनबहादुर गायकले बताए । उनले भने, ‘मादल, अबार्जा, सारंगी बजाएर झलकमान गन्धर्वका गीतसँगै कौडा गीत प्रस्तुत गर्ने योजना छ ।’ ‘हाम्रा मौलिक बाजा र १२ नेपाली लोक गीतबाट पोखरा र नेपाल चिनाउने छांै’, उनले भने, ‘झलकमानको राधा पियारी, पानको पात, कहाँ होनी कौरा, कलिलो तामाले, मखमली चोली, सक्यौ नानी र तिहारको गीत प्रस्तुत गर्ने छौं ।’

Advertisement

कलाकार जापानको कोमागाने सहरको सिटिजन्स एसोसिएसनको निमन्त्रणामा जान लागेका हुन् । कलाकार बिदाइ कार्यक्रममा महानगरका मेयर मानबहादुर जिसीले नेपाली कलासंस्कृतिको प्रचारसँगै पोखरा र कोमागानेबीच सांस्कृतिक आदानप्रदान हुने विश्वास व्यक्त गरे । उनले पोखरेली कलाकारले सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने बताए । ‘२ सहरका नागरिक बीचको सम्बन्धलाई कार्यक्रमले थप मजबुत बनाउने विश्वास लिएको छु’, प्रमुख जिसीले भने, ‘पोखराको तर्फबाट कोमागानेका जनतालाई सम्झना सुनाइदिनुहोला र पोखराको प्रतिनिधित्व गरेर जाने कलाकारले राम्रोसँग आफ्नो प्रस्तुति राख्नुहोला ।’

सांस्कृतिक आदान प्रदान गर्ने उद्देश्यले कोमागाने सरहमा उक्त कार्यक्रम आयोजना गरिएको र महानगरको प्रतिनिधित्व गरेर ३ जना कलाकार जान लागेको पोखरा कोमागानेमैत्री एसोसिएसन पोखराका सचिव महेन्द्रबहादुर गोदारले जानकारी दिए ।ध

Advertisement

तपाईको प्रतिक्रिया