सांसद तुलाचनको पहलमा जोमसोम–पोखरा हवाई सेवामा सहुलियतको टिकट व्यवस्था

एसके थकाली, जोमसोम
मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहल स्वरुप जोमसोम–पोखरा हवाई उडानमा स्थानीय तथा राष्ट्र सेवक कर्मचारीलाई टिकट आरक्षणको व्यवस्था मिलाईएको छ। यसका लागि सांसद तुलाचन र एअरलाईन्स कम्पनीसंग भएको सहमतीपछि जोमसोम–पोखरा दैनिक उडानमा ४ वटा सहुलियत टिकटको आरक्षण भएको सांसद तुलाचनले जानकारी दिए ।
तारा एअरलाईन्स कम्पनीले जोमसोम देखि पोखराका लागि अब दैनिक तेश्रो उडानमा नियमित स्थानीय बासिन्दा र यहा कार्यरत कर्मचारीलाई २ वटा टिकट आरक्षणको व्यवस्था मिलाउन पत्राचार समेत गरेको हो । कम्पनीले गत असोज १० गते टिकट आरक्षण व्यवस्था कार्यान्वयन गराउन सांसद तुलाचनको नाममा पत्रचार गरेको थियो । एअरलाईन्सको पत्रमा उडान भर्ने दिनको अघिल्लो दिन दिउसो २ बजे सम्ममा स्थानीय तथा कर्मचारी यात्रुको जानकारी दिनुपर्ने उल्लेख गरेको छ ।
यस्तै , सुमिट एअरलाईन्स कम्पनीले पनि जोमसोम–पोखरा दैनिक दोश्रो हवाई उडानमा स्थानीयबासी र यहा कार्यरत कर्मचारीलाई २ वटा सहुलियत हवाई टिकटको व्यवस्था मिलाउने जनाएको छ । सांसद तुलाचनको नामा सुमिट एअरलाईन्सले लेखेको पत्रमा यात्रु जानकारीका लागि अघिल्लो दिनको दिउसो २ बजे जानकारी गराउनु पर्ने जनाएको छ । एअरलाईन्स संग भएको सम्झौता संगै अब जोमसोम–पोखरा हवाई उडानमा स्थानीय र कर्मचारीलाई ४ वटा सहुलित टिकटको व्यवस्था भएको सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
सांसद भौगोलिक विकटता भएको मुस्ताङ जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दा र यहा कार्यरत कर्मचारीहरुको मर्म र भावना अनुरुप हवाई सुविधाका लागि पहल गरेको बताए । उनले प्राप्त सुविधाबाट स्थानीय र कर्मचारी लाभान्वित हुने दावी गरे । एअरलाईन्सको सहुलियत हवाई टिकट आरक्षण व्यवस्था गराउन संम्वन्धित दुबै कम्पनीका जोमसोम शाखा, जोमसोम नागरिक उड्डयन र स्थानीय प्रशासनलाई समेत पत्राचार गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनले सम्झौता कार्यान्वयन भएको नभएको नागरिक उड्डयन र प्रशासनले अनुगमन गर्ने बताए ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तारा र सुमिट एअरलाईन्स गरी २ वटा निजी कम्पनीले उडान भर्दै आईरहेका छन् भने नेपाल वायु सेवा निगमले सेवा प्रवाह गर्न सकेको छैन । मुस्ताङ भ्रमण तथा राउन्ड अन्नपूर्ण गर्ने विदेशी पर्यटकले हवाई सेवा प्रयोग गर्ने गरेका छन् । निजी एअरलाईन्सले विदेशी पर्यटकका लागि १ सय २५ अमेरीकी डलर र भारतिय पर्यटकका लागि ५ हजार भारु हवाई भाडा तोकेको छ । एअरलाईन्सले नेपालीका लागि २ थरीको टिकट उपलब्ध गराउने गरेको छ । जसमा सहुलियत नेपाली हवाई भाडादर ३ हजार ६० र अर्को ४६ सय रुपैया तोकेको छ ।
विदेशी, भारतिय र नेपालीबीचको समान हवाई भाडा दर नभएकाले नेपाली हवाई यात्रु टिकट प्राप्त गर्न बञ्चित हुनु परेको थियो । टिकट आरक्षण पछि नेपाली यात्रु, स्थानीय र कर्मचारीलाई राहत पुगेको हो । यस्तै सहुलियत हवाई सेवाले आकस्मिक उपचारका लागि समेत सजिलो भएको छ । जोमसोम–पोखरा १ सय ६० किमी र कच्ची सडक भएको र हवाई सेवामा टिकटको व्यवस्था नहुदा उपचारका लागि स्थानीयले सास्ती भोग्दै आईरहेका थिए ।
तपाईको प्रतिक्रिया