ब्राउन सुगरसहित २ जना पक्राउ

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १३:४१

समाधान संवाददाता
पोखरा

नेपालगञ्जबाट पोखरा आएका सत्या चौधरीले रातो रंगको पुरानो टिसर्ट लगाएका थिए । बाँके घर भएका चौधरीले लगाएको टिसर्ट केही खुइलिएको जस्तो देखिन्थ्यो । उनले लगाएको टिसर्टमा रोमनमा हिन्दी भाषामा केही लेखिएको थियो ‘समय हैन मेरो त अपराध गर्ने जमना हो ।’

उनको टिसर्टले भनेजस्तै उनी अपराधकै आरोपमा समातिए । चौधरीलाई पोखरामा गाडीबाट झरेको केही समयमा नै जिल्ला प्रहरी कार्यालय कास्कीले समात्यो । चौधारीले पोखरा ८ सिमलचौर बस्ने २५ वर्षीय अभिनय गुरुङका लागि भनेर नेपालगञ्जबाट लागुऔषध ल्याएका थिए । अभिनयले पोखरामा लागुऔषधको डिलरकै काम गर्ने गरेको प्रहरीको बताउँछ । विशेष सूचनाको आधारमा प्रहरीले निगरानी गरिरहेको थियो । चौधरीले अभिनयलाई ब्राउन सुगर दिँदै गर्दा प्रहरीले दुवैलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

Advertisement

चौधरीले बाँकेबाट १२ दशमलव १३ ग्राम ब्राउन सुगर ल्याएको प्रहरीले बताएको छ । ब्राउन सुगर १ ग्रामको लगभग ३ हजार ८ सय रुपैयाँमा खरिद गरेको अभिनय गुरुङले प्रहरीलाई बयान दिएका छन् ।

उनीहरुबाट ब्राउन सुगरको तौल गर्ने १ मेसिन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अभिनयले १ ग्राम ब्राउन सुगर ४० हजार रुपैयाँमा बेच्दै आएको प्रहरीलाई बयान दिएका छन् । गुरुङ १ वर्ष अघिदेखि सिमलचौरमा भाडामा बस्दै आएका थिए ।

Advertisement

उनीहरुलाई लगातर १ हप्ताको अप्रेसनपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

गुरुङले वर्ष दिन अघिबाट पोखरामा बसेर लागुऔषध डिलरको काम गर्दै आएको प्रहरीको दाबी छ । गुरुङ सिमलचौर नवीन गुरुङको घरमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया