फेवा संरक्षणलाई होटल संघको १ लाख

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १४:१९

समाधान संवाददाता
पोखरा

पश्चिमाञ्चल होटल संघ पोखराले फेवा तालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिस्टम म्यानेजमेण्ट बोर्डलाई बुधबार १ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । पोखराको लेकसाइडमा आयोजित बोर्डको बैठकका अवसरमा संघका अध्यक्ष एवं बोर्डका कोषाध्यक्ष विकल तुलाचनले बोर्डका संयोजक पुण्यप्रसाद पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मण सुबेदी, कोषाध्यक्ष पार्वती पाण्डे र सचिवालय प्रमुख रामप्रसाद खनालको पनि उपस्थिति थियो । वातावरण संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले विगतमा पनि विभिन्न काम र गतिविधि सञ्चालन गर्दै आएको र आर्थिक सहयोगसमेत प्रदान गरेको संघका अध्यक्ष तुलाचनले सो अवसरमा स्मरण गराए । यसअघि पनि संघले २ पटक गरेर २ लाख १ हजार एक सय ११ रुपैयाँ ताल संरक्षणका लागि बोर्डलाई प्रदान गरिसकेको छ ।

Advertisement

तालको उपल्लो तटीय क्षेत्रको संरक्षण भए फेवा तालको संरक्षणमा पनि ठूलो टेवा पुग्ने अवधारणा अनुसार ३ वर्षअघि बोर्डको स्थापना भएको थियो । कार्यक्रममा बोर्डका संयोजक पौडेलले हालसम्म सो संस्थामार्फत भएका संरक्षणका कामबारे जानकारी गराएका थिए । डब्लुडब्लुएफ हरियो वन र पोखरा महानगरपालिका तथा स्थानीय वासिन्दा तथा संस्थासँग सहकार्य गर्दै बोर्डले संरक्षणका काम गर्दै आएको पौडेलले सुनाए । गत वर्षमात्र २१ लाख रुपैयाँ हाराहारीको काम गरिएको उनले बताए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक वर्षमा काम गर्ने गरी फेवा तालको मुहानको रुपमा रहेका खोलामा ५ चेक ड्याम निर्माण गर्ने योजना रहेको संयोजक पौडेलले सुनाए । यसका लागि ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । बोर्डले यो वर्ष जलकुम्भी झार तालबाट हटाउने योजनालाई प्राथमिकता दिने उनले बताए । उपल्लो तटीय क्षेत्रमा होमस्टे सञ्चालन, अम्रिसो, कफी लगायतको खेती र आयआर्जनका काम सञ्चालन गरी संरक्षणमा टेवा दिने बोर्डले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया