मेरो नेपालको २ टिम बाहिरिए

समाधान संवाददाता २०७६ कार्तिक ८ गते १२:५९

समाधान संवाददाता
पोखरा

मेरो नेपाल युवा क्लबको आयोजनामा पोखरा १४ मझेरीपाटनस्थित रामेश्वरी खेल मैदानमा जारी पाँचौं मेरो नेपाल सेभेन ए साइड फुटबल प्रतियोगिताबाट आयोजकको २ टिम बाहिरिएका छन् ।

बिहीबार भएको पहिलो प्री क्वाटरफाइनल खेलमा शिवमार्ग आयोजक मेरो नेपाल क्लब बीलाई १–० गोलले हराउँदै अघिल्लो चरण्मा प्रवेश गर्‍यो । चाउथेको जितमा अजित गुरुङले २ तथा जीवन गुरुङले १ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच चाउथेका अजित गुरुङ घोषित भए ।

Advertisement

सातौं खेलमा आरकेटीले आयोजकको एम १४ टिमलाई ३–० को फराकिलो गोल अन्तरले पाखा लगायो । आरकेटीको जितमा नारायण केसीले २ गोल गरे भने अनिल गुरुङले १ गोल गरेका थिए । उक्त खेलको म्यान अफ दी म्याच आरकेटीका नारायण केसी घोषित भए ।

मेरो नेपाल नीलो टिमले सन्तोष एफसीलाई ५–१ को भारी गोल अन्तरले पाखा लगायो । नीलो अन्तिम आठमा प्रवेश गरेको छ । नीलोका तर्फबाट सुनील विक, गोविन थापा, विजय श्रेष्ठ, हेमन्त तामाङ र प्रज्वल गुरुङले समान १÷१ गोल गरेका थिए । सन्तोषका लागि प्रविन क्षेत्रीले सान्त्वना गोल गरे । खेलको म्यान अफ दी म्याच आयोजक मेरो नेपाल नीलोका हेमन्त तामाङ घोषित भए ।

Advertisement

अत्यन्तै प्रतिस्पर्धात्मक तेस्रो खेलमा एम १२ ले मनोहर बी फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको छ । खेल १÷१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको हो । एम १२ का मनोज गुरुङ खेलको म्यान अफ दी म्याच घोषित भए ।

चौथो खेलमा संगम एफसी चैटचैटचैट एफसीलाई ४–२ को फराकिलो गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । संगमको जितमा टंक गुरुङले २ तथा बेलप्रसाद गुरुङ र समीर कार्कीले समान १÷१ गोल गरे । त्यस्तै चैटचैटचैटका लागि मिसन दर्लामी र जीवन थापाले १÷१ गोल गरे । संगमका समीर कार्की खेलको म्यान अफ दी म्याच घोषित भए ।

छैटौं खेलमा मिलन टोलले बौद्ध शान्ति सेतोलाई २–१ गोलले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । मिलन टोलका लागि लक्ष्मण गुरुङले गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । बौद्धका लागि सुमित श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए ।

बिहीबार भएको अन्तिम खेल एलजी एसोसिएसन र योङस्टार क्लब बीच भएको थियो । उक्त खेलमा ३–१ गोलको अन्तर पादै एलजी एसोसिएसन अघिल्लो चरणमा प्रवेश गरेको छ ।

शुक्रबारको पहिलो खेल शुभकामना फुटबल क्लब र चाउथे फुटबल क्लब विच हुने प्रचार संयोजक पृथ्वी कुँवरले जानकारी दिए ।

प्रतियोगिताका विजेता र उपविजेताले क्रमश १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०÷१० हजार प्रदान गरिनेछ ।

अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक योगेन्द्र कुँवरले जानकारी दिए । प्रतियोगितामा ११ लाख खर्च र २५ लाख बचत हुने अनुमान गरिएको क्लबका अध्यक्ष दिवस कुँवरले बताए ।

तपाईको प्रतिक्रिया