विद्याको विकल्पमा सोमनाथ र राजकाजी

समाधान संवाददाता २०७६ कार्तिक १४ गते १२:३१

समाधान संवाददाता
पोखरा

कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय संसदमा उमेद्वार बनाउन नेकपाको केन्द्रीय कमिटीमा तीनजनाको नाम सिफारिस भएको छ । जिल्ला कमिटी कास्कीले सर्वसम्मत महिला नेतृ एवं दिवंगत नेता रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको मात्र नाम गण्डकी प्रदेश कमिटीमा पठाएको भए पनि प्रदेशले दुईजना थपेर तीनजना सिफारिस गरेको छ ।

जिल्लाको सिफारिस अपुरो भन्दै नेकपा गण्डकी प्रदेश कमिटीले पुराना नेता सोमनाथ अधिकारी प्यासी र युवा नेता तथा जिल्ला इन्चार्ज राजकाजी गुरुङ करणको नाम थपेर सिफारिस गरेको हो । कास्की २ मा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

Advertisement

कात्तिक ९ गते सम्पन्न प्रदेश कमिटी बैठकमा जिल्लाले पठाएको सिफारिस अनुमोदन गर्ने र नाम थपेर पठाउने विषयमा लामै विवाद भएको थियो । स्रोतका अनुसार जिल्ला कमिटीको बैठकमै सहभागी भएका सहइन्चार्ज खगराज अधिकारी, प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे लगायत नेता जिल्लाको सिफारिस अनुमोदन गर्ने पक्षमा थिए । गण्डकी प्रदेश मुख्यमन्त्रीसमेत रहेका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ भने केन्द्रले मागे अनुसारै संख्यामा नाम पठाउने अडानमा थिए ।

इन्चार्ज गुरुङले केन्द्रले तीन जनाको नाम मागेकाले जिल्लाले एउटै मात्र नाम पठाए पनि प्रदेशले ३ जनाको नाम पठाएको समाधानसंग बताए । ‘हामीले जिल्ला कमिटीको सिफारिस र जनभावनाको कदर गर्दै पहिलो नम्बरमा विद्या भट्टराईकै नाम सिफारिस गरेका छौं ।’ प्रदेश इन्चार्ज गुरुङले भने, ‘निर्विकल्प भन्ने केही हुन्न, टेक्निकल्ली अप्ठेरो पर्‍यो भने त्यसका लागि पनि केन्द्रलाई सजिलो होस् भनेर दोस्रो र तेस्रो प्राथमिकताको नाम सिफारिस गरेका हौं ।’

Advertisement

उनले नाम पठाउँदा एकदमै सन्तुलन मिलाइएको दाबीसमेत गरे । ‘जनभावना र जिल्ला कमिटीको भावनालाई ध्यान दिँदै विद्याजीको नाम पहिलो नम्बरमा, पुराना र पार्टी आन्दोलनको इतिहासलाई ख्याल गर्दै सोमनाथ प्यासीजीको नाम दोस्रो नम्बरमा र नयाँ युवा नेतृत्वलाई समेटेर राजकाजी गुरुङको नाम तेस्रो नम्बरमा सिफारिस गरेका छौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘यो सिफारिस सबैभन्दा सन्तुलित छ, महिला, जनजाति, पुराना, नयाँ, सबै पक्षलाई समेटिएको छ ।’

प्रदेश पार्टी इन्चार्ज एवं मुख्यमन्त्री गुरुङले यस्तो दाबी गरे पनि केही नेताहरुले उनको नियत माथि आशंका व्यक्त गरेका छन् । ‘जिल्ला कमिटीले सर्वसम्मत गरे पछि त्योभन्दा माथिका कमिटीलाई त झनै सजिलो हुनु पर्ने हो, प्रदेश कमिटी जान्ने हुनुपर्ने कारणै थिएन ।’ प्रदेश कमिटीकै एक नेताले समाधानसँग भने, ‘आवश्यक प¥यो भने पार्टीले जिल्ला र प्रदेशको सिफारिसभन्दा पनि फरक नेतालाई उम्मेद्वार बनाउन सक्छ । यसमा प्रदेश इन्चार्जको नियत माथि शंका लाग्छ ।’

जिल्लाले विद्याको नाम सर्वसम्मत पठाएपछि कार्यकर्ता पंक्तिमा देखिएको उत्साहलाई प्रदेश कमिटीले खुम्च्याउने काम गरेको नेकपा कास्कीका एक नेताले बताए । ‘हामीले चुनाव नलड्दै निर्वाचन जितिसकेका थियौं, प्रतिपक्षीहरु अब उम्मेद्वार बन्न नपरे हुन्थ्यो भन्ने अवस्थामा पुगेका थिए,’ नाम उल्लेख नगर्न आग्रह गर्दै ती नेताले भने, ‘प्रदेशको सिफारिसपछि भने प्रतिस्पर्धीहरुमा उत्साह देखिएको छ, हाम्रा कार्यकर्ता निरास बनेका छन् ।’

यसअघि साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको थियो भने कांग्रेस जिल्ला समितिले १६ जनाको नाम सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया