चन्दा उठाएर मन्दिर पुनर्निर्माण

समाधान संवाददाता २०७६ कार्तिक १४ गते १४:४५

कृष्ण न्यौपाने
दमौली

जिल्लाको म्याग्दे गाउँपालिका ५ मूलाबारीस्थित कालाभैरव मन्दिर चन्दा सहयोगबाट पुनर्निर्माण गरिएको छ । विदेशमा रहेका नेपालीबाट संकलन भएको रकमबाट जीर्ण अवस्थामा रहेको ऐतिहासिक मन्दिर पुनर्निर्माण गरिएको हो ।

देश तथा विदेशबाट संकलन भएको ४५ लाखको लागतमा पुर्ननिर्माण सम्पन्न भएको कालाभैरव मन्दिर निर्माण समितिका अध्यक्ष वसन्त आलेले जानकारी दिए । पुनर्निर्माणका लागि बेलायत, अमेरिका, हङकङ, साउदी अरब, कतार लगायतका देशबाट गरी ४० लाख संकलन भएको थियो । मूलाबारी घर भएर विदेशमा रहेकाबाट मात्रै ३० लाख संकलन भएको आलेले जानकारी दिए ।

Advertisement

यो रकमबाट मन्दिर पुनर्निर्माणका साथै प्रतीक्षालय र शौचालय बनाइएको छ । ‘मन्दिरको पुनर्निर्माणका लागि चन्दाबाटै राम्रो रकम संकलन गर्न सफल भयौं,’ आलेले भने, ‘रकम संकलनका लागि मूलाबारी घर भएर हाल विदेशमा रहनुभएका दाजुभाइले दिल खोलेर सहयोग गर्नु भयो ।’

२०७३ फागुनबाट मन्दिर पुनर्निर्माण सुरु गरिएको थियो । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यसहित गुरुयोजना निर्माण गरिएको आलेले जानकारी दिए । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै यस ठाउँलाई अन्तर्राष्ट्रियसम्म परिचित गराउन कम्मर कसेर गाउँले लागेको आले बताउँछन् ।

Advertisement

२ रोपनीमा फैलिएको मन्दिरवरपर गुरुयोजना अनुसारका संरचना निर्माणका लागि १ करोड ५० लाख लाग्ने अनुमान छ । लगानी जुटेको २ वर्षभित्र गुरुयोजना अनुसारको संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । ‘अहिलेसम्म चन्दाबाटै सबै काम गर्दै आएका छौं,’ आलेले भने, ‘गुरुयोजना अनुसारका संरचनाका लागि भने स्थानीय, प्रदेश र संघीय सरकारसँग बजेट माग गर्छौं ।’

मन्दिरभन्दा ७ सय मिटर तल कुवाबाट लिफ्टिङ गरी खानेपानी व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारसँग रकम माग गरिएको छ । यसै क्षेत्रबाट प्रदेशसभामा निर्वाचित आशा कोइरालाले खानेपानी व्यवस्थापनका लागि प्रतिबद्धता जनाएको आलेले जानकारी दिए । साथै मन्दिरले ओगटेको सबै क्षेत्रफलमा रेलिङ निर्माण गर्ने तयारी छ ।

मन्दिरको पुनर्निर्माणका लागि बेलायतबाट सबैभन्दा बढी १५ लाख संकलन भएको थियो । बेलायतमा तुल थापा, मोहन थापा, सरला थापा लगायतको नेतृत्वमा रकम संकलन भएको थियो । मूलाबारीलाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यसहित पुनर्निर्माण थालिएको मन्दिरका लागि बेलायतमा सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको तुल थापाले जानकारी दिए ।

पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिकाको धयरेबाट १२ किमी, थर्पुबाट ८ किमी र भिमाद नगरपालिकातर्फबाट ७ किमीमा मन्दिर छ । मन्दिर प्रचारप्रसारका लागि समितिले गत वर्षदेखि कालाभैरम दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।

बाइसे चौबिसे राजाको पालादेखि यस मन्दिरमा पूजाआजा हुँदै आएको स्थानीयवासी बताउँछन् । यस मन्दिरमा एकादशी र औंशी बाहेकका दिनमा पूजाआजा हुँदै आएको छ भने रामनवमी र विजयादशमीका बेला भने यहाँ ठूलो मेला लाग्ने गरेको छ । यहाँबाट मनोरम हिमश्रृङ्खलाका साथै भीमाद, थर्पु, खैरेनी लगायतका बजार देखिन्छ ।

तपाईको प्रतिक्रिया