चितुवा नियन्त्रणका लागि परम्परागत खाेर उपयाेगी

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १३:०६

कृष्ण न्यौपाने
दमौली

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ५ बालबालिकाको मृत्यु भयो । दिनप्रतिदिन चितुवाको आक्रमण बढ्न थालेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र स्थानीयबासीको संयुक्त सहभागितामा चितुवा नियन्त्रणका लागि दैनिक गस्ती सुरु गरियो ।

नगरपालिकाका विभिन्न वडाको सामुदायिक वनमा गस्ती गर्दा पनि उक्त टोलीले चितुवा भेटाउन सकेन । गस्ती गर्दैमा चितुवा नियन्त्रणमा आउन सक्ने स्थिति नदेखिएपछि स्थानीयबासीले काठको खोर निर्माण गरी वनमा राख्ने जुक्ति निकाले । सोही बमोजिम भानु नगरपालिका २ फुस्रेटारका ७६ वर्षीय हरिभक्त ढकालले निर्माण गरेको एउटा काठको खोर फुस्रेटारको सामुदायिक वनमा राखियो । उक्त खोर राखिएको १ महिनाभित्रै २ वटा चितुवा नियन्त्रणमा लिइएकोे छ ।

Advertisement

चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि भानु नगरपालिका, डिभिजन वन कार्यालय र स्थानीयबासीले ढकालकै सहयोगमा काठको खोर निर्माण थालेका छन् । आधुनिक खोरले चितुवा नियन्त्रण सम्भव नदेखिएपछि परम्परागत काठको खोर निर्माण थालिएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । ‘काठको खोर निर्माण गरी वनमा राखेको छोटो अवधिमै २ वटा चितुवा खोरमा परे,’ उप्रेतीले भने, ‘जसले गर्दा परम्परागत खोर चितुवा नियन्त्रणका लागि प्रभावकारी देखिएको छ ।’

उप्रेतीका अनुसार चितुवा नियन्त्रणका लागि ९ वटा काठका खोर विभिन्न सामुदायिक वनमा राखिनेछ । जसमध्ये ४ वटा निर्माण भएर सामुदायिक वनमा राखिएको छ भने ५ वटा खोर तिहार लगत्तै निर्माण हुनेछन् । स्थानीयबासी हरिभक्त ढकालका अनुसार एउटा काठको खोर निर्माणका लागि कम्तीमा ११ दिन लाग्छ । चितुवा नियन्त्रणका लागि खोरमा बाख्रा पनि राख्ने गरिएको छ । ‘आहाराा देखेपछि चितुवा उक्त खोरमा पस्ने र खोरमा पसेपछि चितुवा बाहिर निस्कन सक्दैन,’ ढकालले भने ।

Advertisement

गत असोज १६ गते भानु नगरपालिका २ फुस्रेटारमा राखिएको खोरमा १ चितुवा थुनियोे । त्यसको ५ दिनपछि असोज २१ गते चितुवाको आक्रमणमा परेर भानु नगरपालिका १ जामुनेगैह्राका ४ वर्षीय आशीष बानियाँको मृत्यु भयो । कात्तिक ११ गते बिहानै भानु नगरपालिका ३ दोरदोरमा राखिएको खोरमा अर्को चितुवा प¥यो, सोही दिन राति चितुवाको आक्रमणबाट भानु नगरपालिका २ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भयो ।

‘२ वटा भाले चितुवा खोरमा परे पनि नरभक्षी चितुवा फेला पर्न सकेको छैन,’ सहायक वन अधिकृत उप्रेतीले भने, ‘भालेभन्दा पोथी चितुवा नरभक्षी हो कि भने अनुमान छ ।’ भानु नगरपालिकामा १२ भन्दा बढी चितुवा रहेको अनुमान गरिएको छ । सोमबार भानु नगरपालिका ३ स्थित देउराली सामुदायिक वनमा राखिएको खोरमा परेको एउटा चितुवालाई सोही दिन चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको छ ।

विशेष सुरक्षा दस्ता परिचालन
चितुवालाई नियन्त्रणमा लिन १९ जनाको ‘विशेष सुरक्षा दस्ता’ भानु नगरपालिकामा खटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख केदार बरालका अनुसार वन कार्यालयबाट ४, नेपाल प्रहरीबाट ४ र सशस्त्र प्रहरीबाट ११ जना विशेष सुरक्षा दस्तामा छन् । जिल्ला प्रशासन कार्यालयले चितुवा नियन्त्रणका लागि उक्त टोलीलाई गोली हान्नेसमेत अधिकार प्रदान गरेको छ ।

जंगलमा आहारा पाउन छाडेपछि बस्ती नजिकै आहाराको खोजीमा आउने गरेको चितुवाले बालबालिकामाथि आक्रमण गर्ने गरेको छ । बरालले भने, ‘चितुवाको आहारा जंगलमा पाउन छाडेपछि चितुवा आहारा खोज्दै बस्तीमा आइरहेको छ । साँझको समयमा चितुवा आउँदा बालबालिका बाहिर देखेपछि चितुवाले उनीहरुलाई नै आक्रमण गरेको पाइएको छ ।’

तपाईको प्रतिक्रिया