पोखरामा साग तयारीः आर्चरी खेल मैदान तयारी तीव्र

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १४:१५

समाधान संवाददाता
पोखरा

पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग खेलकुद) को तयारी तीव्र पारिएको छ । पोखरामा हुने ९ खेलमध्ये आर्चरी पनि पर्दछ । पोखरा रंगशालाको दक्षिणी भागमा रहेको आर्चरी खेल मैदान निर्माण तथा स्तरोन्नतिको आधाभन्दा बढी काम सकिएको छ ।

कात्तिक २५ सम्म खेलमैदान तयार पार्ने लक्ष्यका साथ निर्माणको काम अघि बढेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

Advertisement

मैदानलाई समथर पार्ने, सुटिङ लाइन, वैटिङ लाइन ढलान गर्ने लगायत काम अहिले भइरहेको छ । ‘खेलका लागि मुख्य कुरा भनेको मैदान लेभलको हुनुपर्छ,’ उनले भने, ‘सुटिङ लाइन र टागेट लाइन एकै किसिमको हुनुपर्छ, यसैको तयारी भइरहेको छ ।’

आर्चरी पोखरामा नै गर्न संघ पूर्ण रुपमा तयार रहेको उनले सुनाए । आर्चरीका लागि मैदान समथर बनाउन दोस्रो चरणमा खेलमैदान माटोले सम्याउने काम भइरहेको छ । दोस्रो चरणमा माटो फिँजाएपश्चात मैदान समथर पार्ने काम हुने उनने जानकारी दिए ।

Advertisement

मैदान निर्मार्णका लागि ९० लाख माग गरिएको भए पनि केन्द्रले भने २५ लाख मात्र दिने भएको छ । आर्चरी संघले ६ महिनाअघि मागेको भए पनि नखाएपछि मैदानमा दुबो नलगाउने निर्णयमा पुगेको शेरचनको भनाइ छ ।

१३ औं सागका लागि आर्चरीमा नेपालसहित अन्य ५ देश सहभागी हुँदै छन् । आर्चरीका लागि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटान सहभागी हुने शेरचनले बताए ।

१२ औं साग गेममा नेपालले टिम इभेन्ट र पुरुष एकलतर्फ रजत पदक ल्याउन सफल भएको थियो । १३ औँ सागमा नेपालले पदक ल्याउने उनले दाबी गरे । महिला र पुरुष गरी आर्चरीका १० विधामा खेल हुनेछ । निर्माणधीन उक्त मैदानमा नेपाली टोलीले अभ्यास गरिरहेको छ ।

साग खेल अन्तर्गतका ट्रायथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन प्रतियोगिता पोखरामा सञ्चालन गर्ने योजना छ ।

सोही अनुसार पोखरामा अन्य खेलका भौतिक संरचना निर्माण गर्ने काम पनि तीव्र रुपमा अघि बढेको छ । महिला फुटबलका लागि पोखरा रंगशालामा निर्माणाधीन स्टेडियम निर्माण तीव्र रुपमा अघि बढेको छ । बिच भलिबलका लागि पोखरा ६ बाराही घाटको खेल मैदानमा भलिबल कोर्ट निर्माण भइरहको छ ।

भारोत्तोलन पोखरा १२ मा रहेको एसआर केसी बैंक्युटमा सञ्चालन गरिने छ । महिला क्रिकेट पनि पोखरामा रंगशालाको क्रिकेट मैदानमा गर्ने योजना छ । ब्याडमिन्टन र ह्यान्डबल पोखरा रंगशालामा रहेको बहुद्देश्यीय भवनमा गर्ने योजना छ । सराङकोट तोरीपानीबाट फेवाताल लगायत क्षेत्रमा प्याराग्लाइडिङ प्रतियोगिता गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया