—सम्पादकीय— चितुवा चुनौती

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १४:२८

एउटा आमबुझाइ छ— बाघभालुले मान्छेलाई त्यत्तिकै आक्रमण गर्दैन, उसलाई जिस्क्याए आक्रमण गर्छ वा उसलाई डरमा पारे आक्रमण गर्छ । भानु नगरपालिका तनहुँमा २ वर्षयता भएका घटनाले भने त्यसो भन्दैन । गएको २ वर्षमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको बिनासित्ति ज्यान गएको छ ।

ती निरपराध बालबालिकाले न चितुवा जिस्काएका थिए, न उसलाई खतरा पैदा गरेका थिए । चितुवा सधैं बस्ती पसेर बालबालिकामाथि आक्रमण गर्दै ज्यान लिने गरेको छ । पासोमा पारेर एउटा चितुवा अर्कै बासस्थानमा पु¥याइए पनि मान्छेमाथि चितुवाको आक्रमण भानुमा रोकिएन । सितिमिति जंगली हिंस्रक जनावार पनि नरभक्षी हुँदैनन् र भइहाले त्यो उनीहरुको आदत बन्छ भन्ने आमबुझाइ भने यहाँ लागु भएको देखिन्छ । २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, कात्तिक २९ गते वडा नम्बर ४ जोखानेका ४ वर्षीया रन्जीता लम्साल, मंसिर १५ गते वडा नम्बर २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते वडा नम्बर २ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते वडा नम्बर १ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र कात्तिक ११ गते भानु नगरपालिका–२ फुस्रेटारका ७ वर्षीय ऋतिक रोकाको चितुवा आक्रमणबाट ज्यान गएको छ ।

आमबुझाइ चितुवा मान्छेको बस्तीमा पस्यो भन्ने हो । संरक्षणकर्मीहरु भने मानवबस्ती फैलिने र जंगली जनावारको बासस्थान साँघुरिने प्रक्रिया बढेको तर्क गर्छन् । जंगलमा जीवजन्तुको आहार अभाव भएको भन्ने उनीहरुको तर्क हुन्छ । भानु नगरपालिकामा जस्तै चितुवाको आक्रमणमा परी मानिसकै ज्यान जाने घटना देशैभरि भएका छन् । धेरै गाउँमा, धेरै घरहरुमा मात्रै होइन धेरै सहरमा चितुवा पसेका दृष्टान्त बग्रेल्ती छन् । सन् २०१० देखि १४ सम्ममात्रै काठमाडौं सहरमा २५ चितुवा पसेका थिए र तिनको मृत्यु भएको थियो । चितुवाले मान्छे मार्ने र मान्छेले चितुवा मार्ने क्रमको दर उत्तिकै तीब्र गतिमा बढिरहेको संरक्षण सम्बन्धी संस्थाहरुको अध्ययनले देखाउँछ ।

Advertisement

मान्छेको ज्यान जोगाउने र चितुवा पनि संरक्षण गर्ने गरी दुवैथरी उपाय एकैचोटि खोज्नुपर्नेतर्फ तुरुन्तै कदम चालिनुपर्ने देखिन्छ । सधैं उही र उस्तै प्रकृतिका घटना भइरहँदा पनि राज्यले त्यस्तो कदम नचाल्नु उदासीन र अनुत्तरदायी बन्नु हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची– १ मा संरक्षित २७ प्रजाति रहेकामा चितुवा परेको छैन । त्यसैले पनि चितुवा संरक्षणमा र चितुवाबाट मानव जीवन जोगाउनेपट्टि सरकारको ध्यान नपुगेको देखिन्छ । कानुनले संरक्षित भनोस् यो नभनोस् चितुवाको संख्या घट्दै गएको र यसले मानवलाई प्रत्यक्ष नै क्षति पु¥याएको कसैबाट छिपेको छैन । तसर्थ बेलामा सचेत भई आवश्यक कदम चाल्न ढिला गरिए अझै अप्रिय दिन देख्नु नपर्ला भन्न सकिन्न ।

Advertisement

तपाईको प्रतिक्रिया