चीनले तबसम्म हामीलाई बुझ्दैन, जबसम्म हामी उसलाई बुझ्दैनौं

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १५:१०

हरि शर्मा
लिपपोत अनुहारको होस् या घरको, टल्कने केही दिन मात्र हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा गरिएको काठमाडौं लिपपोतले पनि आफ्नो टल्कन गुमाइसक्यो । तीनकुनेमा २५–३० लाख खर्च गरेर रातारात बनाइएको बगैंचा बिरूप छ । माटो थुपारेर त्यसमाथि रोपिएका दुबोका चपरी चोरी भए । चोक–चोकमा सजाइएका फूलका गमला चिनफिङ फर्किनेबित्तिकै महानगरले फिर्ता लग्यो ।

कालिमाटीदेखि सोल्टीमोडसम्म नयाँ छापिएको कालोपत्रे धन्न चिरा परेको छैन, तर दायाँबायाँका फुटपाथमा बिछ्याइएका कंक्रिट स्ल्याब उक्किन थालिसके । ती स्ल्याब राम्ररी टाँसिएका नै कहाँ थिए र !

जे भयो, त्यसमा मलाई आश्चर्य छैन– लिपपोत जो थियो ! तर, तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले सम्बन्धको जुन डोर कसेको छ, त्यो पनि लिपपोत मात्र साबित हुनसक्छ, यदि हामीले उत्तरी छिमेकीको कूटनीतिक शैली र मर्म बुझेनौं भने ।

Advertisement

‘हाउ कम्युनिस्ट चाइना नेगोसिएट्स’, अर्थात् चीनको कम्युनिस्ट शासनले कसरी नेगोसिएसन वा वार्ताहरू गर्छ ? — सन् १९६८ मा प्रकाशित भारतीय कूटनीतिज्ञ अर्थर लालको यो किताबले हामीलाई चिनियाँ कूटनीतिको शैली र मर्म बुझ्न मद्दत गर्छ ।

राष्ट्रसंघस्थित पूर्व भारतीय प्रतिनिधि तथा कोलम्बिया विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिला प्राध्यापक अर्थरले चिनियाँहरूसँगको वार्ता अनुभव समेटेर लेखेको यो किताब मैले धेरैअघि पढेको थिएँ । यसपालि चिनफिङको नेपाल भ्रमण बेला फेरि दोहो¥याएँ ।

Advertisement

किताबमा उल्लिखित सन्दर्भहरू पुराना भए पनि यसले चिनियाँ कूटनीतिका केही महत्वपूर्ण विशेषता उजागर गर्छ । चीनसँग कसिलो सम्बन्ध गाँस्न आह्लादित हाम्रा नेता तथा नीति–निर्माताहरूले यी विशेषता बुझ्नु जरुरी छ ।

अर्थरले किताबको पहिलो अध्यायमा सन् १९६१ मेदेखि १९६२ जुलाईसम्म जेनेभामा भएको चौध राष्ट्रहरूको चरणबद्ध सम्मेलन वर्णन गरेका छन् । उक्त सम्मेलन लाओसको विषयमा केन्द्रित थियो, जहाँ करिब ५० जना चिनियाँ प्रतिनिधिले भाग लिएका थिए ।

१४ राष्ट्रमध्ये सबभन्दा ठूलो प्रतिनिधिमण्डल चीनकै थियो । किलकिलेसम्म टम्म टाँक कसिएको खाकी युनिफर्म लगाएका चिनियाँहरूले बैठककक्षको एकचौथाइ कुर्सी ओगेटका हुन्थे । बाँकी १३्र राष्ट्रले पनि यत्रै प्रतिनिधिमण्डल डाकेका भए सबै जना अटाउने हल पाउनधरि मुश्किल पथ्र्याे भनेर अर्थरले लेखेका छन् ।

‘उनीहरू संख्यात्मक रूपमा मात्र धेरै थिएनन्, सबै प्रतिनिधिको सक्रियता उत्तिकै बाक्लो थियो,’ अर्थर लेख्छन्, ‘जब–जब म आफ्नो प्रस्तावको मस्यौदा लिएर चिनियाँ प्रतिनिधिमण्डलकहाँ जान्थेँ, त्यो प्रस्ताव पालैपालो चार–पाँच जना वरिष्ठ अधिकारीका हातमा घुमाइन्थ्यो । उनीहरू छुट्टै कोठामा गएर केही बेर खुसरफुसर गर्थे, त्यसपछि बल्ल चिनियाँ टोलीका प्रवक्ताको प्रतिक्रिया आउँथ्यो ।’

प्रवक्ताको अनुहारको रङ हेर्दा अर्थरलाई लाग्थ्यो, चिनियाँहरूले प्रस्ताव मञ्जुर गरे । ‘त्यो मेरो भ्रम हुन्थ्यो । उनीहरू सुरूमा प्रस्ताव ठिक छ भन्थे, तर जति–जति वार्ता हुँदै गयो, त्यसमा अनेक खोट निकाल्थे । हरेक बुँदा यसरी लेखौं, उसरी लेखौं भनेर आफ्नो हिसाबले सच्याउन थाल्थे । हामीलाई उनीहरूको कुरा बुझ्न निकै गाह्रो हुन्थ्यो,’ अर्थर लेख्छन् ।

यो एउटा उदाहरण मात्र हो । यस्ता अनेक दृश्य किताबमा छन्, जसले हामीलाई चिनियाँ कूटनीतिको पहिलो मन्त्र सिकाउँछ — उनीहरू जनसंख्यालाई आफ्नो हतियार ठान्छन् । जुनसुकै स्तरको वार्ता वा नेगोसिएसन होस्, चिनियाँहरूको उपस्थिति ठूलो संख्यामा हुन्छ, ताकि समकक्षी प्रतिनिधिमण्डलले सुरूमै मानसिक दबाब झेल्नुपरोस् ।

चिनियाँ नेता माओ त्से–तुङको भनाइ छ, ‘हामीलाई हाम्रो विशाल जनसंख्याप्रति गर्व छ । यो संख्या अझै बढ्यो भने पनि चिन्ता गर्नुपर्दैन । बढ्दो जनसंख्यालाई पुग्ने गरी उत्पादन गर्न हामी समर्थ छौं । जनसंख्या र देशको विशालता हेरेर हामीले जहाँ जाँदा पनि ठूलो संख्यामा हिँड्नुपर्छ ।’

माओको यो भनाइ चिनियाँहरू आज पनि अनुसरण गर्दै छन् । त्यसैले त, जोसँग जुन स्तरको वार्ता गर्दा पनि सम्बन्धित विभागको तलदेखि माथिल्लो तहसम्मका अधिकारीलाई सक्रिय राख्छन् । अन्तिम निर्णय नेतृत्वको हातमा हुन्छ, तर निर्णायक तहमा पुग्नुअघि धेरै जनासँग चरणबद्ध वार्ता गर्दै जानुपर्छ । प्रत्येक तहबाट विषयवस्तु छानिँदै–छानिँदै बल्ल निर्णायक तहमा पुग्छ । धेरै मान्छेलाई वार्तामा सामेल गराउँदा आफ्नो तर्क र प्रस्तुति खारिएर आउँछ भन्ने उनीहरू विश्वास गर्छन् ।

यसपालि नेपालको सन्दर्भमा पनि हामीले चिनियाँहरूको यही शैली देख्यौं । राष्ट्रपति चिनफिङ २ जहाज मान्छे लिएर आए । बैठककक्षदेखि रात्रिभोजमा समेत उनीहरूको बाक्लो उपस्थिति रह्यो ।

चिनियाँ कूटनीतिको दोस्रो मन्त्र हो– उनीहरू आफूले संगत गर्ने वा सम्बन्ध बढाउने देशमा स्थायित्व चाहन्छन् । यो भनेको राजनीतिक स्थायित्व मात्र होइन, सम्बन्धको स्थायित्व पनि हो ।

नेपालले चिनियाँ राष्ट्रप्रमुखबाट भ्रमणको अपेक्षा राखेको र पहल गरेको धेरै भयो । चिनियाँ पक्षबाट जहिल्यै सकारात्मक जवाफ आए पनि भ्रमणको साइत जुरेन । २०६२–६३ को जनआन्दोलनले नेपालको राजनीतिक स्वरुप आनका तान फेरिँदा पनि चिनियाँ पक्षले वक्तव्य निकालेर स्वागत त र्गयो, तर राष्ट्रप्रमुख स्वयं आएर यहाँको राजनीतिक परिवर्तनलाई समर्थन र शुभकामनाको मोहर लगाएनन् ।

२०७२ सालमा संविधान जारी गरेपछि पनि नेपालले चिनियाँ राष्ट्रप्रमुखलाई आतिथ्य प्रदान गर्न खुब दौडधूप गरेको थियो । यसबीच अरू थुप्रै देश पुगेका चिनियाँ राष्ट्रपति हिमालय सीमापारको छिमेकी देश भने आउन भ्याएनन् ।

धेरैले नेपाली पक्षबाटै प्रभावकारी पहलकदमी हुन नसकेको शंका गरे । तर कमी हाम्रो पहलकदमीमा थिएन, उनीहरूको विश्वासमा थियो । उनीहरूले कूटनीतिक स्तरमा जे भने पनि भित्री रूपमा नेपालले राजनीतिक स्थायित्व हासिल र्गयो भन्ने पत्याएनन् । जब दुई प्रमुख कम्युनिस्ट पार्टी एक भए र दुईतिहाइ बहुमतप्राप्त सरकार बन्यो, बल्ल चीनलाई नेपालको राजनीतिक स्थायित्वमा विश्वास पलायो । नेपालका कम्युनिस्ट शक्तिहरू मिलेर अघि बढून् भन्ने चीनको पुरानै मनसाय पनि थियो । उसले यहाँका साना–ठूला थुप्रै कम्युनिस्ट नेताहरूलाई चीन निम्तो गरेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो चाहना जाहेर गरेकै हो ।

लामो कसरतपछि चिनफिङ नेपाल आउनुले यहाँको ऐतिहासिक राजनीतिक परिवर्तनलाई चीनले संस्थागत रूपमा स्वीकार गरेको सन्देश दिन्छ । चिनियाँ पक्षमा यो सरकारले आफ्नो राजनीतिक वा आर्थिक चासोहरूलाई स्थायित्व दिन सक्छ भन्ने विश्वास पनि जागेको देखिन्छ । विगतमा बिपी कोइराला सरकार र राजाको सक्रिय शासनकालमा उसले यस्तै स्थिरता देखेको थियो । त्यही भएर उच्च स्तरका धेरै राजनीतिक भ्रमणहरू त्यो बेला पनि भएका थिए ।

चीनजस्तो स्थिर र दीगो राजनीतिक शक्तिसँग सँगसँगै हिँड्ने हो भने हामीले त्यही स्तरको स्थिरता र परिपक्वता देखाउनुपर्छ । यस निम्ति सरकारले प्रतिपक्षी दलहरूसँगको सम्बन्ध सुधारमा गम्भीरता देखाउनु जरुरी छ । सत्तापक्ष र प्रतिपक्षबीच मन माझिएको अवस्थामा मात्र आफ्नो हित वा चासो सुनिश्चित हुन सक्छ भन्ने चीनले बुझेको छ । उसले ‘नेपालमा जसको सरकार आए पनि हामी खाली स्थिरता चाहन्छौं’ भनेर बारम्बार भन्नुको आसय यही हो । सरकारले प्रतिपक्षी दलहरूलाई पन्छाएर एक्लै हिँड्छु भन्ने सोच्यो भने चीन खुसी वा विश्वस्त नहुन सक्छ ।

चीनले नेपालमा स्थिरता र स्थायित्व चाहेको हाम्रो भलाइको निम्ति होइन, उसको आफ्नै भलाइको निम्ति हो । नेपालको अस्थिरताले आफ्नो स्थिर र दीगो राजनीतिमा आँच आउला भन्ने चीनलाई भय छ । जसरी धनी मान्छेलाई आफ्नो धन र छविको डर हुन्छ, चीन पनि आफ्नो समृद्धि र छविमा आँच आउने गरी नेपालमा कुनै गतिविधि नहोस् भन्ने सुनिश्चितता खोज्छ ।

चीनसँग स्थिर र दीर्घकालीन सम्बन्धको अपेक्षा राख्ने हो भने सरकार र राजनीतिक दलहरूले चिनियाँ कूटनीतिको यो मन्त्र मनन् गर्नुपर्छ ।

चिनियाँ कूटनीतिको तेस्रो मन्त्र हो– ऊ तिमीलाई तबसम्म बुझ्दैन, जबसम्म तिमी उसलाई बुझ्दैनौ । ऊ आफ्नो कुरा बुझाउन मुख पनि खोल्दैन, तिमी आफैंले उसको मनको कुरा पर्गेल्नुपर्छ । चीनबाट हामीले अपेक्षा गरेको आर्थिक सहायता र विकास निर्माणका कार्यक्रमहरूको भविष्य यही कूटनीतिमा निर्भर गर्छ । चीन संसारको सबभन्दा ठूलो व्यापारी हो । व्यापारीहरू निःशुल्क सेवा विरलै गर्छन् । उनीहरूले सेवा गरे पनि त्यसमा कुनै न कुनै गुप्त व्यावसायिक लाभ जोडिएकै हुन्छ । हामीले चीनबाट जे–जस्ता विकास निर्माण र आर्थिक सहायताको अपेक्षा गरेका छौं, त्यो पूरा गर्नु उनीहरूका लागि ठूलो कुरा होइन । ढिलोचाँडो प्रक्रिया अघि बढ्ला, तर त्योभन्दा अगाडि उसले हामीबाट के चाहेको छ भन्ने बुझ्नुपर्छ ।

चीन संसारकै सबभन्दा ठूलो आर्थिक शक्ति हुने बाटोमा छ । व्यापार मामिलामा अमेरिकासँग पनि सिधै जोरी खोज्छ । उसको शक्ति जति बढेको छ, त्यो शक्ति क्षय नहोस् भन्नेमा उत्तिकै सतर्क देखिन्छ । जसरी सगरमाथा चढेपछि ओर्लिनु चुनौतीपूर्ण हुन्छ, चीनलाई पनि आफू विश्वशक्ति हुँ भन्ने भएपछि त्यसमा कायम रहिरहने चुनौती छ ।

अहिलेको सन्दर्भमा तिब्बत, ताइवान र हङकङ प्रमुख चिनियाँ चुनौती हुन् । नेपालसँग सीमा जोडिएको तिब्बत त उसको सदाबहार दुखिरहने घाउ हो । यी चुनौती झेल्नमा नेपालबाट कुनै किसिमको अप्ठ्यारो हुँदैन भनेर ऊ आश्वस्त हुन खोज्छ । त्यो आश्वासन नेपालकै मुखबाट सुन्न पनि चाहन्छ ।

चीनले नेपालमा राजनीतिक स्थायित्व चाहनुको मुख्य कारण आफ्ना यी चुनौती र चासोमा सम्झौता नहोस् भनेर नै हो । चिनियाँ कूटनीतिको महत्वपूर्ण र हामीले बुझ्नैपर्ने पक्ष के भने, ऊ आफ्ना चुनौतीप्रति जति सतर्क र सचेत छ, त्यही स्तरको हडबडी मुखले व्यक्त गर्दैन, न व्यवहारले देखाउँछ । बरू नेपालजस्तो देशले उसका चाहना र चासोहरू स्वतः बुझिदेओस् र पालना गरोस् भन्ने चाहन्छ ।

चीनको यो व्यवहार हाम्रो गाउँघरमा भेटिने सामन्त जमिन्दारसँग ठ्याक्कै मिल्छ । तपाईंहरूले कत्तिको याद गर्नुभएको छ, गाउँका प्रायः जमिन्दारहरू आफूभन्दा सानालाई काम लगाउँदा आफैं सानो भएको ठान्छन् । सानाले आफ्नै बुद्धिविवेकबाट उसको काम गरिदियो भने पुलकित भएर स्याबासी दिन्छन् । उस्तै परे बक्सिस पनि थमाउँछन् ।

यही जमिन्दारी पारा चीनको कूटनीतिमा झल्किन्छ । ऊ आफूलाई हजारौं वर्ष पुरानो सभ्यताले सिँचेको विशाल साम्राज्य ठान्छ । आफूलाई साम्राज्यको द्योतक मान्छ– राज्यका रूपमा पनि, सभ्यताका रूपमा पनि । जसरी ठूलो मान्छेको अहंकार र इख धारिलो हुन्छ, चीन त्यस्तै ठूलो इख पालेर बसेको छ । ऊ आफ्नै मुखले बडप्पन देखाउँदैन । आफूले केही भन्नुअघि नै नेपालजस्तो देशले उसको कुरा बुझेर पालना गरिदियो भने दंग पर्छ । उसलाई महान् भनिदेओस्, उसको महानता स्वीकार गरिदेओस् भन्ने चाहन्छ । बदलामा जेसुकै सहायता गर्न तयार हुन्छ ।

चिनियाँ र भारतीय कूटनीतिको भिन्नता यही हो । भारत औपनिवेशिक शक्ति हो । व्यापार गर्ने नाममा छिरेको ‘इस्ट इन्डिया कम्पनी’ ले जसरी कपट र क्षुद्र व्यवहारबाट हिन्दुस्तानभरि बेलायती साम्राज्य खडा र्गयो, भारतको राजनीति र कर्मचारीतन्त्रमा आजसम्म त्यस्तै व्यवहार हाबी छ ।

ऊ आफूलाई ठूलो ठान्ने मात्र होइन, मुखले र व्यवहारले बारम्बार जताउँछ । नेपालमा हुने सानोतिनो हलचलले आतंकित हुन्छ । नेपालका हरेक तहका गतिविधिमा सूक्ष्म केरकार गर्छ । भारतले आर्थिक नाकाबन्दी लगाउँदा जब चीनबाट केरुङ मार्ग हुँदै तेलका ट्यांकर छिरे, त्यसले सबभन्दा बढी उनीहरूलाई नै पोल्यो ।

आफ्नो चिन्ता र सरोकार खुलस्त नभन्ने चिनियाँ शैली माओ त्से–तुङकै पालादेखिको हो । जसरी आज तिब्बत, ताइवान र हङकङलाई लिएर चीन संवेदनशील छ, हिजो माओको समयमा आर्थिक रूपले संवेदनशील थियो । उसले त्यो बेला पनि आफ्नो संवेदनशीलता र दुःख कहिल्यै देखाएन । लाखौं मान्छे भोकमरीले मर्दा पनि समृद्ध सभ्यतामा गर्व गर्न छाडेन । भोकभोकै बसेर भए पनि आणविक शक्तिमा लगानी गरिरह्यो ।

आजको चीन आफ्नो गर्विलो इतिहास पुनरोदय चाहन्छ । देङ सियाओ पेङको पालामा आर्थिक समृद्धि निम्ति व्यवहारिक नीति लिएको चीन फेरि सिद्धान्तनिष्ठ हुने बाटोमा छ ।

चीनसँगको सम्बन्ध कसिलो पार्ने हो भने उसको बदलिँदो नीति र कूटनीतिक शैलीको निरन्तरता हामीले बुझ्नुपर्छ । हामी चीनसमक्ष यस्तो चाहियो, उस्तो चहियो भनेर आर्थिक सहायताको फेहरिस्त राख्छौं, चीन भने त्यसको बदलामा उसको स्वार्थ सुरक्षित छ कि छैन भनेर गहिरिएर हेर्छ । जबसम्म ती स्वार्थ सुरक्षित छन् भनेर ऊ आश्वस्त हुँदैन, तबसम्म मन खोलेर आउँदैन । कुनै पनि वार्तामा उसले लामो समय लगाउनुको कारण यही हो ।

आजको मितिमा चीनलाई नेपालबाट राष्ट्रसंघमा भोटको खाँचो छैन । ऊ यति शक्तिशाली भइसक्यो, कतै न कतैबाट त्यसको प्रबन्ध मिलाउन सक्छ । उसलाई दुख्ने भनेको नेपाली भूमिभित्र हुनसक्ने चीनविरोधी गतिविधि हो । खासगरी स्वतन्त्र तिब्बत र हङकङको समर्थनमा नेपाली भूमि प्रयोग होला कि भन्ने उसलाई डर छ । नेपालले चीनसँग जोडिएका साना–ठूला हरेक समारोहमा ‘तिब्बत चीनको अभिन्न अंग हो’ भन्यो भने ऊ दंग पर्छ । चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सह–अध्यक्ष पुष्पकमल दाहालसँग हङकङको विषय उठाएको पनि सुनिन्छ ।

यसपालि चिनफिङको भ्रमण क्रममा उसको एउटा प्रमुख चासो सशक्त ढंगले मुखरित भयो । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले चिनफिङलाई उद्धृत गर्दै लेख्यो, ‘कसैले चीनलाई फुटाउने सपना देखेको छ भने हामी कडा मुकाबिला गर्नेछौं, र ती बाह्य शक्तिको सपना चकनाचुर पार्नेछौं ।’

चिनियाँ राष्ट्रपतिले यस्तो कुरा अन्त कतै बोलेको सुनिएको थिएन । उनले यो सन्देश दिन नेपाली भूमि नै रोज्नुको कूटनीतिक अर्थ छ । तिब्बत र हङकङ मुद्दाले उत्पन्न अन्तर्रा्ष्ट्रिय चुनौतीबीच चीनले नेपालबाट के अपेक्षा राखेको छ भन्ने यसले सन्देश दिन खोजेको बुझिन्छ ।

यही चासो र चुनौतीका कारण चीनले नेपालसँग सुपुर्दगी सन्धि गर्न खुब जोड दिएको थियो । यसपालि त्यो सन्धि हुन सकेन । पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता भने भएको छ ।

चीनबाट हामी के चाहन्छौं भन्ने आफ्नो ठाउँमा छँदैछ, तर चीनले त्यसको बदलामा के अपेक्षा राखेको छ भनेर प्रस्ट नभई द्विपक्षीय सम्बन्धको गाडीलाई दिशा दिन मुश्किल पर्छ । हामीले उसको मनसाय मनन् गरेर आपसी वार्ताहरूलाई त्यसैअनुरुप अघि बढाउन सकेनौं भने वार्ता लम्बिरहन्छ, निष्कर्ष निस्कँदैन ।

अर्थर लालले भनेजस्तै चिनियाँ अधिकारीहरू अनुहारमा असहमतिको झलक पनि देखाउँदैनन्, सहमतिको कुरा पनि गर्दैनन् । हामीले राख्ने आर्थिक सहायताको प्रस्ताव स्वीकार्छन् तर त्यसमा अनेक खोट निकालेर अल्झाइरहन्छन् ।

अर्थरको किताबले सिकाउने चिनियाँ कूटनीतिको चौथो मन्त्रले भन्छ– ऊ उत्ताउलो सम्बन्धमा विश्वास गर्दैन । सम्बन्धमा सन्तुलन खोज्छ, निरन्तरता र विश्वसनीयता खोज्छ । यसको निम्ति वैचारिक सामीप्यमा बढ्ता केन्द्रित हुन्छ ।

केही वर्षयता राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रबाट चीन भ्रमणको निम्तो आउने क्रम ह्वात्तै बढेको हामीले देखेका छौं । यस्ता भ्रमणको उद्देश्य नेपालका विभिन्न क्षेत्रबाट प्रभावशाली व्यक्तिहरू डाकेर आफ्नो समृद्धिको झलक देखाउनु मात्र होइन । उनीहरू आफ्नो चासो, सुर्ता र सरोकारबारे हामीलाई अप्रत्यक्ष रूपले सचेत गराउँछन् । सँगसँगै, चिनियाँ संविधानमा केही समयअघि समावेश चिनफिङ विचाराधारा बुझाएर वैचारिक सामीप्य बढाउन चाहन्छन् ।

राष्ट्रपति भ्रमणको पूर्वसन्ध्यामा चिनफिङ विचारधाराबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तालाई प्रशिक्षणसमेत दिएको थियो । नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यमा पनि चिनफिङ विचाराधाराको चर्चा गरिएको छ । यी सबै चिनियाँ कूटनीतिक मन्त्रकै कडी हुन् ।

यो कूटनीतिले पनि माओकै पालादेखि निरन्तरता पाउँदै आएको छ । हिजो माओका पालामा उनकै विचारधारा प्रधान थियो । देङ सियाओ पेङको उदयपछि चिनियाँहरू आर्थिक समृद्धिको मन्त्र जप्न थाले । अहिले त्यही ठाउँ चिनफिङ विचारधाराले लिएको छ । माओपछि कुनै नेताको विचारले चिनियाँ संविधानमा स्थान पाएको यसैपालि हो । उनीहरू यसमा आन्तरिक रूपले गर्व मात्र गर्दैनन्, बाह्य रूपले पनि यो विचाराधारा प्रवर्द्धन गर्ने अभियानमा छन् ।

अर्थरले जुन समय चिनियाँहरूसँग नेगोसिएसनको अनुभव गरे र यो किताब लेखे, त्यसको दाँजोमा आजको चीन धेरै मानेमा फरक छ । उसको विश्वव्यापी व्यवहार र सम्बन्ध पहिलेजस्तो साँघुरो छैन । चीनले राजनीतिक तथा आर्थिक व्यवहार गर्ने देशहरूको सूची नै पहिलेभन्दा कता हो कता विस्तार भइसक्यो । ऊ समृद्ध छ, विश्वको शक्तिकेन्द्र आफूतिर खिच्न खोज्दैछ । विश्वलाई आफ्नो एजेन्डामा हिँडाउन खोज्दैछ । बहुपक्षीय व्यापारको नेतृत्व लिन खोज्दैछ । वातावरणको मुद्दामा संसारलाई बाटो देखाउँदैछ ।

यति हुँदाहुँदै उसको कूटनीतिक व्यवहार र तौरतरिका भने बदलिएको छैन । त्यो हिजो अर्थरले किताब लेख्दा जस्तो थियो, अहिले पनि त्यस्तै छ । हामीले चिनियाँ कूटनीतिका यी मन्त्र जबसम्म बुझ्दैनौं, तबसम्म कसिलो सम्बन्ध गाँस्ने प्रयासहरू चिनफिङ भ्रमण बेला सहर सिँगारेजस्तो लिपपोत मात्र साबित हुनेछन्, जसको टल्कन कुनै पनि बेला खुइलिन सक्छ ।

घरिघरि उत्ताउलो भएर ‘गियर चेन्ज’ गर्दा र आवश्यकभन्दा बढ्ता आह्लादित भएर क्रिया–प्रतिक्रिया जनाउँदा सम्बन्धको डोर उछिट्टिएर गाडीबाट खस्न सक्छ । जति बढी संयमित र सन्तुलित भएर हिँड्छौं, चीनसँगको सम्बन्ध उति दीगो र स्थिर हुँदै जानेछ ।

तपाईको प्रतिक्रिया