भ्रमण वर्षमा होटलको प्याकेज

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १५:४८

समाधान संवाददाता, पोखरा

एसोसिएसन नेपाल (हान) ले भ्रमण वर्ष केन्द्रित सहुलियत प्याकेज ल्याउने तयारी गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन लाग्दा हानले प्याकेज ल्याउने तयारी गरेको हो । भ्रमण वर्ष सुरु हुन २ महिना बाँकी रहँदा नेपाल भित्रने पर्यटकलाई लक्षित गर्दै सहुलियत प्याकेज ल्याउने तयारी गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । हानले आफ्ना सदस्य होटेलले छुट सेवा दिनुपर्ने गरी प्याकेजको घोषणा गर्ने शाहले बताए । हानअन्तर्गत ५ तारेदेखि पर्यटकीय स्तरका गरी २ हजार होटेल सदस्य छन् ।

Advertisement

होटेलले हानले घोषणा गरेका प्याकेज अनुसार विदेशी पर्यटकलाई मात्रै यस्तो सुविधा र सेवा उपलब्ध गराउने छन् । हानका अनुसार प्रस्तावित प्याकेजमा कोठा शुल्क ३० प्रतिशत र खाना तथा फुड बेभरेजमा १५ प्रतिशत छुटको योजना छ ।

हानकी अध्यक्ष सिर्जना राणाले भ्रमण वर्ष लक्षित गरी हानले प्याकेजको घोषणा गर्न लागिएको बताइन् । ५ तारे होटेल अन्नपूर्ण होटेलकी कार्यकारी निर्देशक राणाले भ्रमण वर्ष सफल बनाउन हस्पिटालिटी क्षेत्रको मुख्य भूमिका हुने बताइन् । उनले भनिन्, ‘यस अभियानलाई सफल बनाउन पर्यटक आकर्षित र सहुलियत सेवा दिन आवश्यक हुन्छ, यसमा होटेल क्षेत्र सचेत र सक्रिय छ ।’

Advertisement

नेपालको पर्यटन व्यवसायका लागि भ्रमण वर्ष ठूलो अवसर भन्दै राणाले यसका लागि निजी क्षेत्र तयार रहेको बताइन् । भ्रमण वर्ष नजिकिँदै गर्दा होटेल क्षेत्रले पनि आफ्ना कर्मचारीलाई पर्यटकको आतिथ्य सत्कार सेवा दिन थप तालिम दिनुपर्ने राणाको सुझाव छ । ‘नेपालको होटेल क्षेत्रले दिने सेवा उत्कृष्ट छ, भम्रण वर्षलाई थप गुणस्तरीय र आकर्षित बनाउन पनि अझ मिहनेतको जरुरी छ ।’ राणाले भनिन्, ‘यसबाहेक सडक पूर्वाधार, कनेक्टिभिटीका साथै हवाई पूर्वाधार सुधार गर्न अब ढिलाइ गर्नु हुँदैन ।’

यस्तै हानका पूर्व अध्यक्ष तथा होटेल व्यवसायी अमरमान शाक्यले हस्पिटालिटी क्षेत्र आन्तरिक तथा विदेशी पर्यटकका लागि सेवा र सुविधा दिन तयार रहेको बताए । तर, त्यसका लागि पर्यटनका अन्य महत्वपूर्ण क्षेत्र पूर्वाधारका साथै प्रचारप्रसारको अवस्था भने सन्तोषजनक नभएको शाक्यले टिप्पणी गरे । ‘अहिले नेपालभर खुलेका होटेलहरु २० लाख होइन, २५ लाख पर्यटकलार्ई सेवा दिन सक्षम छन्,’ उनले भने, ‘सडक पूर्वाधारका साथसाथै अन्य पूर्वाधारको तयारी निकै कमजोर छ ।’

पर्यटकका लागि अक्टोबर महिना उपयुक्त सिजन मानिए पनि अहिले पर्यटक आगमनमा केही कमी आएको उनको भनाइ छ । भ्रमण वर्ष भनेरमात्रै नहुने भन्दै शाक्यले २÷४ वटा होटेल बुक हुँदैमा राम्रो मान्न नसकिने तर्क गर्दै भने, ‘होटेल उद्योग सबैभन्दा बढी लगानी भएको क्षेत्र हो ।’

नेपाल आउने पर्यटक प्रवद्र्धन गर्ने र भ्रमण वर्षको अवसरमा केही प्रतिशत छुट दिनु होटेल व्यवसायीको उत्तरदायित्व भएको उनले बताए । उनले भने, ‘तत्कालका लागि यो प्याकेज विदेशी पर्यटकका लागि मात्रै लक्षित गरिएको छ । होटेल व्यवसायीले कसरी सहुलियत दरमा गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल गरी आन्तरिक पर्यटकलाई पनि छुट योजना ल्याउने जनाएको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले भ्रमण वर्ष घोषणा गरिसकेको छ । गुणस्तरीय सडक तथा पर्याप्त मात्रामा हवाई पूर्वाधार नहुनु अहिले पर्यटन व्यवसायीको टाउको दुखाइको विषय बनेको छ । ३ घण्टा लाग्ने बाटोमा अहिले १२ घण्टासम्ममा पनि पुग्न सकिने अवस्था नभएको उनीहरू बताउँछन् । हानका अनुसार अहिले मुलुकभर ठूला ५ तारेस्तरदेखि साना, मझौलादेखि होमस्टेसम्मको संख्या झन्डै १० हजार छ । पर्यटन विभागका अनुसार हाल मुलुकभर ५ तारे होटलको संख्या १५ पुगेको छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६ वार्षिक प्रगति प्रतिवेदन अनुसार २०७५÷७६ मा नेपालमा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमण आएका छन् भने प्रति पर्यटक प्रतिदिन खर्च ४४ अमेरिकी डलर छ । आर्थिक वर्ष २०७४÷७५ मा भने प्रतिदिन ५४ अमेरिकी डलर खर्च रहेको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया