इलमीलाई सघाउँछौंः मन्त्री लम्साल

समाधान संवाददाता २०७६ कार्तिक १७ गते १३:३४

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले इलामी गर्ने दृढ इच्छा हुनेलाई प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । शनिबार रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारीको १८ औं वार्षिक साधारणसभामा मन्त्री लम्सालले दृढ इच्छा शक्तिका साथ काम गर्न खोज्ने जोकोहीलाई सरकारले सघाउने प्रतिवद्धता गरेका हुन् ।

उनले सहकारीलाई प्रोत्साहन गर्न तथा कृषि उत्पादकत्व बढाउन सरकारले निरन्तर आर्थिक सहयोग गर्दै आएको बताए । उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जना हुने किसिमले सरकारले कृषिमा अनुदान दिएको दाबी गरे । ‘सरकारले सहकारीमार्फत कृषि पेशा अंगालेका तथा व्यक्तिगत फर्ममार्फत कृषि गरेकालाई अनुदान वर्षैपिच्छे दिएका छौं,’ मन्त्री लम्सालले भने, ‘तर त्यसले न कुनै रोजगारी सिर्जना गर्न सकेको छ, न कुनै कृषि उपजको उत्पादन बढेको छ ।’ अब किसानलाई दिने अनुदानको प्रक्रिया परिर्वतन गर्न आवश्यक भएको उनको ठम्याइ छ ।

Advertisement

उनले कृषिमा यान्त्रिीकरण, आधुनिकीकरण तथा नयाँ प्रविधिलाई जोड दिँदै सहकारीमार्फत कृषि उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे । मन्त्री लम्सालले सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतमाथि उठाउन गरिएको सामूहिक प्रयास नै सहकारी भएको जनाए ।

सांसद खगराज अधिकारीले सहकारीले सहकारीको भावना अनुरुप काम गर्नुपर्नेमा जोड दिए । सहकारीले नाफामुलक भन्दा पनि सेवामूलक बन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

Advertisement

सहकारीका अध्यक्ष लेखनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य दीपक कोइराला, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, मत्स्य अनुसन्धान केन्द्रका डा. टेकबहादुर गुरुङ, नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण केसी, नेकपाका प्रतिनिधि टीकाराम पंगेनी, रुपाताल संरक्षण परियोजनाका वसन्तबहादुर थापा लगायतले बोलेका थिए ।

सभामा सहकारीमा आवद्ध भई उत्कृष्ट काम गर्नेहरुलाई सम्मान गरिएको थियो । सहकारीले यस वर्ष १ करोड ३ लाख नाफा आर्जन गरेको छ ।

तपाईको प्रतिक्रिया