चुमभ्यालीमा आधुनिक गुम्बा

समाधान संवाददाता २०७६ कार्तिक १७ गते १३:४२

मोहसिन अली मियाँ
गोरखा

गोरखा सदरमुकामबाट धार्चे गाउँपालिकाको केन्द्र माछीखोलासम्म गाडी र त्यहाँबाट झण्डै ४ दिनको पैदल यात्रामा पुगिन्छ छेकम्पार । हालसम्म सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने छेकम्पारकै एउटा गाउँ हो लामागाउँ ।

पछिल्लो समय चुमभ्याली यात्राका क्रममा लामागाउँ पुग्नुअघि वरैको गाउँबाट आकर्षक गुम्बा सबैको आँखामा पर्छ । झट्ट हेर्दा काठमाण्डौ, लुम्बिनी लगायतका क्षेत्रको भन्दा कम नदेखिने चुम नामक गुम्बा आकर्षकमात्रै होइन, आधुनिक र भव्य पनि छ ।

Advertisement

चुमभ्यालीका स्थानीयकै लगानीमा ६ वर्षअघि सुरु गरिएको गुम्बा निर्माण गत महिनामात्रै सकिएको हो । चुमनुब्री गाउँपालिका ७ मा पर्ने छेकम्पार स्थित लामागाउँका बौद्ध धर्मावलम्बीको संयुक्त पहलमा चुम गुम्बा निर्माण भएको हो । ‘यो गुम्बा बनाउदा सबैको पसिना बगेको छ’, गुम्बाका लामा पासाङ फुञ्जो लामाले भने, ‘बिशेष गरेर रकम जुटाउने काम भने क्यानडामा बस्ने गाउँकै दाइ लामा पेमाले गर्नुभयोे ।’

अधिकांश बौद्ध धर्मवालम्बीको बसोबास रहेको छेकम्पारमा चुम गुम्बा २०७० सालबाट निर्माण सुरु गरिएको थियो । २०७२ सालमा भूकम्प गएपछि गाउँका सबै घर भत्किएसँगै १ वर्ष गुम्बा निर्माण रोकियो । ‘भूकम्पले सबैका घर भत्कियो, गाउँले सबै आफै अलपत्र थियांै, जसोतसो अस्थायी टहरा बनाएर १ वर्षपछि फेरि गुम्बाको काम सुरु गर्‍यौं,’ वडा नम्बर ७ का अध्यक्षसमेत रहेका गुम्बाका लामा पासाङले भने, ‘धेरैको श्रमदान र सहयोगले गुम्बा निर्माणले सार्थकता पायो ।’

Advertisement

२ तले गुम्बामा लामाहरु बस्न छुट्टै कोठा निर्माण गरिएको छ भने विद्यार्थी, कर्मचारी लगायत पाहुनालाई समेत बस्ने संरचना बनाइएको छ । गुम्बामा रहेका सबै कोठा ‘अट्याज बाथरुम’ सहितका छन् । गुम्बासँगै करुण स्वास्थ्य संस्था समेत स्थापना गरिएको छ । आगामी दिनमा गुम्बाबाट बौद्ध धर्मका लामाको पढाइसँगै नेपाली, अंग्रेजी, गणित, विज्ञान लगायतका बिषयको समेत पठनपाठन सुरु गरिने योजना छ ।

गुम्बा निर्माणमा झण्डै १३ करोड रकम खर्च भएको छ । क्यानडामा बस्ने छेकम्पारका लामा पेमाको सक्रियतामा रकम संकलन भएको हो । ‘भर्खर गुम्बा उद्घाटन भयो, ठ्याक्कै हिसाब त निकालेका छैनां, तर १३ करोड जति लाग्यो भन्ने हाम्रो अनुमान हो’, गुम्बाका लामा पासाङले भने, ‘सरकारी १ रुपैया पनि सहयोग भएन ।’

अधिकांश सामान तिब्बतबाट
गुम्बा निर्माणका चाहिने अधिकांश सामग्री तिब्बतबाट चौरी र खच्चडबाट ढुवानी गरिएको हो । जिल्ला सदरमुकामभन्दा तिब्बतबाट सामान ल्याउदा सस्तो पर्छ । ‘काठ, ढुंगाबाहेक अरु सामान सबै खरिद गर्‍यौं,’ लामा पासाङले भने, ‘धेरै सामान तिब्बतबाट ल्यायौं । तलबाट भन्दा हामीलाई तिब्बतबाट ल्याउदा ढुवानी सहज र सस्तो पर्न आउछ ।’ तिब्बतबाट १ बोरा सिमेन्ट छेकम्पार आइपुग्दा ४ हजार ३ सय पर्ने तर गोरखा सदरमुकाम, आरुघाट क्षेत्रबाट ढुवानी गर्दा भने ४ हजार ७ सयभन्दा बढी पर्न जाने स्थानीय बताउँछन् । काठमाडौंबाट ल्याउनुपर्ने सामग्री भने हेलिकोप्टरबाट ल्याइएको थियो ।

नवनिर्मित गुम्बाले उत्तरी क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने उनीहरुको विश्वास छ । बौद्ध धर्म अनुसारका हरेक संस्कार गर्नका लागि छेकम्पारका बिभिन्न गाउँमा बसोबास गर्ने बौद्धमार्गीलाई लक्षित गर्दै निर्माण गरिएको गुम्बाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने देखिन्छ । ‘यस्तो सुविधासम्पन्न र भव्य गुम्बा उत्तरी क्षेत्रमै यो पहिलो हो’, पासाङले भने, ‘यसले गर्दा पर्यटक पनि बढ्छन् भन्ने हाम्रो विश्वास हो ।’

गुम्बामा आगामी दिनमा छोप्पा, थोटुप लगायतका पूजा नियमित सञ्चालन गर्ने व्यवस्थापन समितिको तयारी छ । गुम्बाको गत महिना असोज १९ देखि २३ गतेसम्म ५ दिन बिभिन्न पूजा, प्राथना र विधि सम्पन्न गरी लामा पेमाले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया