७ दिनभित्र फुटपाथ पसल छोड्न अल्टिमेटम !

समाधान संवाददाता २०७६ कार्तिक १८ गते १२:३३

विकास रोकामगर
पोखरा

पोखरा महानगरको सबैभन्दा व्यस्त व्यापारिक क्षेत्र लेकसाइडपछि महेन्द्रपुल, चिप्लेढुंगालाई मानिन्छ । जहाँ दैनिक हजारौं सेवाग्राही, उपभोक्ताको भीड थामिनसक्नु हुन्छ । छिचोल्नै गाह्रो हुने भीडमा सडक पेटीमै अस्तव्यस्त तरिकाले व्यापारीले पसल राखिदिँदा यात्रुलाई झनै सास्ती हुने गरेको छ ।

‘एक त हिँड्ने बाटोमै पार्किङ गरिएको हुन्छ । त्यसमाथि व्यापारीले फुटपाथामै व्यापार गरिदिँदा हिँड्नै गाह्रो हुन्छ,’ महेन्द्रपुलमा भेटिएका १ यात्रुको गुनासोे थियो, ‘सटर भाडामा लिएर व्यापार गरिरहेका पसलेले समेत आधा बाटोसम्मै सामान थुपारेका हुन्छन् ।’ यो समस्या महेन्द्रपुलमा मात्रै नभई चिप्लेढुंगा, बगर, पृथ्वीचोक, सिर्जनाचोक, सिद्धार्थ चोकको साझा समस्या हो ।

Advertisement

महानगरले पैदलयात्रीका लागि कुनै ठाउँमा अपांगमैत्री फुटपाथ बनाइसकेको छ भने कुनै ठाउँमा निर्माणाधीन छ । तर, हिँड्नलाई बनाएका ती बाटोमा व्यापारी र सवारीचालकले ठाउँ ओगट्दा यात्रु समस्यामा परेका छन् ।

उसो त सडक पेटीमा राखिएका पसल महानगरले यसअघि नहटाएको भने होइन । साविक पोखरा उपमहानरले २०७१ सालमा पोखराका मुख्य बजार क्षेत्रका फुटपाथ पसल हटाएको थियो । तर, एक पटक हटाइसकेपछि त्यसलाई निरन्तता दिन नसक्दा समस्या दोहोरिएको हो । त्यस बेलाभन्दा अहिले फुटपाथ व्यापारी बढी छन् ।

Advertisement

‘फुटपाथमा आधा बाटोसम्मै सामान राखेर व्यापार गर्छन्,’ चिप्लेढुंगामा व्यापार गरिरहेका १ व्यापारीले भने, ‘नगर प्रहरी आउँदा हटाएको जस्तो गर्छन् । उनीहरु गइसकेपछि फेरि सामान सडकमा ल्याउन थालिहाल्छन् ।’ नगर प्रहरीको लापरबाहीले गर्दा पनि फुटपाथ समस्या समाधान हुन नसकेको उनी सुनाउँछन् ।

फुटपाथ पसल हटाउने महानगरको निर्णय
पोखरा महानगरले सडक छेउका अव्यवस्थित फुटपाथ पसल हटाउने निर्णय गरेको छ । कात्तिक ७ गते महानगरको ट्राफिक व्यवस्थापन गर्नेबारे बसेको बैठकले सबै फुटपाथ पसल हटाइने निर्णय गरेको हो ।

महानगर ट्राफिक व्यवस्थापन समिति, नगर प्रहरी, जिल्ला ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ लगायतको संयुक्त बैठकले फुटपाथ पसल हटाउने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका फुटपाथ अतिक्रमण गरी व्यवसाय सञ्चालन भइरहेको पाइएको छ र यसले सहरको सुन्दरतामा ह्रास आएको छ,’ निर्णयमा भनिएको छ, ‘यसले बटुवाको यात्राल असहज भएकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहयोग लिएर फुटपाथ पसल हटाउने निर्णय भएको छ ।’

महानगरले पृथ्वीचोकमा रहेको माइक्रो बस स्टेसन पनि ‘तत्काल’ हटाउने निर्णय गरेको थियो । तर सो निर्णय कार्यान्वयनमा आइसकेको छैन । ‘मैले ट्राफिक प्रहरीलाई सो स्टेसन हटाउन जिम्मा दिएको हुँ । निर्णय अनुसार ८ गते नै हटिसक्नुपर्ने हो,’ महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘अब केही दिनमै हटिसक्छ । म बुझ्छु ।’ महानगरले चिप्लेढुंगास्थित चौतारो वरिपरिसमेत कुनै व्यापार गर्न नपाउने निर्णय गरेको छ ।

७ दिनभित्र फुटपाथ छोड्न अल्टिमेटम !
पोखरा महानगरले फुटपाथमा पसल गरिरहेका व्यापारीलाई ७ दिनभित्र फुटपाथ छोड्न पत्राचार गरेको छ । आइतबार महानगरका नगर प्रहरी, जिल्ला ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिले सडकका व्यापारीलाई सडक छोड्न अल्टिमेटम दिएका हुन् ।

महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्र फुटपाथमा व्यापार गर्न नपाइने र अटेर गरेमा कारबाही गरिने महानगरले चेतावनी दिएको छ । ‘दिएको समयभित्र पसल नहटाए महानगरले कारबाही प्रक्रियाअघि बढाउँछ,’ फुटपाथ पसल अटाउन गठित समिति संयोजक तथा महानगर निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले भने, ‘अटेर गरे ५ हजारदेखि १० हजारसम्म कारबाही गरिन्छ ।’

तपाईको प्रतिक्रिया