मराङ ‘घर’ गुम्बा नेपालकै पुरानो

समाधान संवाददाता २०७६ कार्तिक १८ गते १३:१५

एसके थकाली
जोमसोम

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका २ स्थित मराङको घरगुम्बा नेपालकै पुरानो गुम्बा मानिएको छ । गुम्बा ८ औं शताब्दी अर्थात १३ सय वर्षअघि गुरु रिम्पोछे अर्थात पद्मसम्भवले निर्माण गरेको मानिन्छ ।

मराङस्थित ‘घर’ गुम्बा नेपाल र तिब्बतमा गुम्बा निर्माण हुनु अगावै बनेको कागबेनी छोदे गुम्बाका खेम्बो तेन्जिङ साङ्वोले जानकारी दिए । प्राचीन यो गुम्बा ढुंगा र माटोले निर्माण भएको छ । दुई तले गुम्बामा पद्म सम्भवको ठूलो मूर्ति प्रतिस्थापन गरिएको छ । यहाँ निङ्पा लामाहरुले दैनिक पूजापाठ गर्छन् । घर गुम्बा धार्मिक तथा ऐतिहासिक र पुरातात्तित्वक दृष्टिले समेत महत्वपूर्ण रहेको खेम्बो साङ्वोले बताए । उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकले यो गुम्बाको अध्ययन र अवलोकन गर्ने गरेको पाइएको छ ।

Advertisement

गुम्बाको कथा अनुसार तिब्बतमा सबैभन्दा पुरानो गुम्बा ‘सम्य’ गुम्बा हो । तर, यो गुम्बाअघि नै मराङमा गुम्बा बनिसकेको बौद्ध किंवदन्तीमा उल्लेख छ । तिब्बतको ‘सम्य गुम्बा त्यसबेलाका राजा स्रङचङको पालामा निर्माण भएको हो । राजा स्रङच्रङ गम्पोले त्यसबेला नेपालकी चेली भृकुटीसँग वैवाहिक सम्बन्ध जोडेका थिए । तिब्बतमा ‘सम्य’ गुम्बा निर्माण गर्नुअघि बुद्ध धर्मका विरोधीले विभिन्न प्रकारका बाधा अड्चन र अवरोध पु¥याएको बताइन्छ । ती अवरोध गर्ने विरोध शक्तिलाई ग्रन्थमा राक्षसको संज्ञा दिइएको छ । गुम्बा निर्माणमा राक्षसी शक्तिले अवरोध र दुख दिने गरेपछि राक्षसलाई बध गर्न तिब्बतका राजा स्रङच्रङले पद्मसम्भवलाई तिब्बतमा झिकाइएको खेम्बो साङ्वोले सुनाए ।

पद्म सम्भवलाई पूजापाठ गरी राक्षस विस्थापित गर्न रिम्पोछेलाई झिकाइएको थियो । राक्षस शक्तिले राम्रा कुराहरुलाई बाधा पु¥याउने गर्थे । त्यहाँ अवरोध गर्ने २ जना सिङरवो (राक्षस) थिए । तिब्बतमा बौद्ध धर्म स्थापना गर्न २ राक्षस शक्ति बाधक बन्थे । राजाको निमन्त्रणामा पद्मसम्भव राक्षस धपाउन तिब्बत पुगे । रिम्पोछेले २ राक्षसलाई धपाउँदै धपाउँदै मुस्ताङको जोमसोम ल्याई पु¥याए ।

Advertisement

थासाङ –२ स्थित कोबाङको धौलागिरी आधार शिविर नजिकै गुरु साङ्वो गुफा छ । जुन गुफा राक्षससँग सामना गर्दा उपचार कक्षको रुपमा प्रयोग गरिएको थियो ।

राक्षस धपाउने क्रममा लुप्रा पान्डा खोलामा वारिपारिका २ वटा पहाडलाई जोडेर पद्म सम्भवले घेराबन्दी गर्न खोजिएको भन्ने भनाइ छ । तर त्यहाँ पनि पद्म सम्भवको जालोबाट फुत्किएर पुन ः राक्षस माथि लागेको ग्रन्थमा उल्लेख छ । लुप्रा पान्डा खोलाको भित्तातिर पद्म सम्भवको टाउकोको छाप अझै छ । त्यहाँ पूजा गर्न गुम्बा निर्माण भएको छ ।

कतिपय बुझाइमा गुरु रिम्पोछेले डोल्पाबाट राक्षसलाई लखेट्दै आएका हुन् । राक्षस लखेट्ने क्रममा गुरु रिम्पोछेले बारागुङ मुक्तिक्षेत्रको तेताङमा नुन निकालेको हुनाले त्यस ठाउँमा नुन खानी उत्पन्न भएको जनविश्वास छ । सिङरवो (राक्षस) उकालो लागेपछि पछ्याउने क्रममा रिम्पोछे चुङ्सी गुफामा ध्यान गरे । यहाँ रिम्पोछेका खजाना र पाइलाका डाम छन् । लोघेकर दामाोदरकुण्डको घमी खोलापारि २ राक्षसलाई पक्रन रिम्पोछे सफल भए । त्यहाँ राक्षसको आन्द्रा निकालेर फालेकाले पद्म सम्भवले रिम्पोछेले छोर्तेन बनाएर छाडे । त्यसपछि ढाक्मरमा पुग्दा राक्षसको कलेजो र रगत निकालेर पद्म सम्भवले भित्तामा फालेका भित्ता सबै रातो हुन पुगेको ग्रन्थमा लेखिएको छ । यसपछि पद्मसम्भवले राक्षसको समाधि मराङमा गरेका थिए । राक्षसको मुटु निकालेर नियन्त्रणमा लिएकाले त्यहाँ गुम्बा बनाइएको हो । पद्म सम्भवले राक्षसको बध गरिएको स्थानमा कुनै बाधा अड्चन नहोस् भनेर घर गुम्बाको निर्माण गरेका थिए ।

मराङस्थित घर गुम्बापछि तिब्बतको सम्य गुम्बा बनेको हो । हाल उपल्लो मुस्ताङमा दर्जनौं गुम्बाहरु निर्माण भइसकेका छन् । गुरु रिम्पोछे आगमनपछि मुस्ताङमा बौद्ध धर्म विस्तार भएको खेम्बो साङ्वोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया