नेकपा बैठकमा विद्याको ब्रिफिङः कास्कीकी छोरी बनेर चुनावमा आएकी छु

समाधान संवाददाता २०७६ कार्तिक १९ गते १३:५८

अमृत सुवेदी

विद्या भट्टराईलाई कास्की क्षेत्र नम्बर २ को एकल उम्मेदवार सिफारिस गर्नुअघि नेकपा कास्कीको बैठकमा केही आवाज उठेको थियो, ‘संवेदनालाई मात्रै नहेरौं ।’ नेकपा प्रदेश कमिटीले जिल्लाबाट आएको विद्याको एकल सिफारिसमा सोमनाथ प्यासी र राजकाजी गुरुङ ‘करण’को नाम थपेर पठाएपछि अनेक चर्चासमेत भए ।

हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ मा उनकै श्रीमती विद्यालाई उम्मेदवार बनाउने नेकपाले संवेदनाको राजनीति गर्‍यो भन्ने आवाजसमेत उठ्यो । रवीन्द्रको सपना पूरा गर्न र चुनावसमेत जित्न विद्या नै उपयुक्त उम्मेदवार भएको ठहर गरेपछि विद्याको राजनीतिमा पुनरागमन भयो । तर, उनी हिजो किन राजनीतिबाट टाढा भइन् ? भन्ने प्रश्नहरुसमेत उठे ।

Advertisement

मंसिर १४ गते हुने निर्वाचनको तयारी गर्न र नेकपा कार्यकर्तालाई निर्देशन दिन नेकपा कास्कीले सोमबार बैठक डाकेको थियो । सो बैठकमा उम्मेदवार भट्टराईले आफूमाथि उठेका यस्तै विभिन्न प्रश्नमाथि संकेतमात्रै गरिनन्, पार्टीको प्रतिष्ठालाई बढाउने र फेरि निरन्तर सक्रिय राजनीति गर्नेसमेत प्रतिवद्धता जनाइन् ।

‘म उम्मेदवारका रुपमा खडा भइरहँदा केही प्रश्न उठेका छन् । ती प्रश्नको जवाफ दिने गरी पार्टीले, तपाईंहरुले उम्मेदवारका रुपमा उभ्याउनुभएको छ,’ सोमबार जिल्ला बैठकमा विद्याले भनिन्, ‘कुनै पनि हिसाबले कमी नहुने गरी, पार्टीको प्रतिष्ठालाई कायम राख्दै चुनावी अभियानमा होमिनेछु ।’

Advertisement

विद्याले हिजो काठमाडौंको छोरीका रुपमा राजनीति गरेको तर अब कास्कीकी छोरीका रुपमा उम्मेदवार बनेको बताइन् । परिवारलाई सम्हाल्न हिजो राजनीतिबाट टाढा भए पनि विभिन्न प्रकारले पार्टीलाई निरन्तर सहयोग भने गरिरहेको उनले बताइन् ।

‘मैले हिजो किन राजनीति छोडेँ भन्ने प्रश्न छ, यसमा विवाहपछि महिलाको फरक जिम्मेवारी अवश्य हुन्छ । त्यसको जिम्मेवारीमा म पनि परेँँ र परिवारलाई सम्हाल्न पनि म सक्रिय राजनीतिबाट पछि हटेकी हुँ,’ विद्याले कास्कीका नेकपा नेता कार्यकर्ताबीच प्रतिवद्धता जनाइन्, ‘तर, मैले राजनीति नै छोडेकी हैन । पार्टीले दिएको जिम्मेवारीलाई न्याय अवश्य पुर्‍याउनेछु ।’

प्राध्यापनमा लागिरहँदा पनि विभिन्न हिसाबले पार्टीलाई सहयोग गरिरहेको विद्याको भनाइ थियो । हिजो एउटा पत्नीको रुपमा रवीन्द्रलाई सहयोग गरेको बताउँदै विद्याले अब पार्टीको विचार र सिद्धान्तलाई शिरोपर गर्ने बताइन् ।

‘मैले जसरी एउटी पत्नीका रुपमा रवीन्द्रलाई सहयोग गरेँ । रवीन्द्रको व्यक्तित्व निर्माणमा मेरो पनि महत्वपूर्ण भूमिका छ भनेर नै पार्टीले मेरो योगदानलाई चिनेरै मलाई उम्मेदवारका रुपमा उपयुक्त ठानेको होला भन्ने मलाई लाग्छ,’ विद्याले भनिन् ।

सोमबारको बैठकमा विद्याले आफ्नो भनाइ राखेपछि मंगलबार नेकपा कास्कीले पत्रकार सम्मेलन गरेर चुनावी तयारी र नेकपाका एजेन्डा सार्वजनिक गर्ने तयारी गरेको छ । काठमाडौंको काम सकेर चुनावी प्रचारको अभियानमा लाग्ने उनको भनाइ छ ।

चुनाव जित्नैपर्छः नेकपा नेता
विद्यालाई चुनावी मैदानमा उतारेको नेकपा चुनाव जित्नेमा ढुक्क छ । झन्डै ८ हजार मतान्तरले यसअघि रवीन्द्र अधिकारीले चुनाव जितेको क्षेत्रमा उनकै पत्नी विद्या उम्मेदवार बन्दा अझ ठूलो मतान्तर हुने उसको विश्वास छ । सोमबारको बैठकमा नेकपाका प्रदेश नेताहरुले जसरी पनि चुनाव जित्नै पर्ने भएकाले एक भएर मैदानमा उत्रन निर्देशन दिएका छन् ।

प्रदेश सहइन्जार्ज खगराज अधिकारीले निर्वाचन जित्ने गरी तयारीमा जुट्न जिल्ला तहका नेता तथा कार्यकर्तालाई आग्रह गरे । नेकपामाथि विभिन्न ठाउँबाट प्रहार भइरहेको र चुनावमा अझै बढी चलखेलसमेत हुन सक्ने भएकाले सचेत भएका गोलबद्ध हुने अधिकारीले निर्देशन दिए ।

प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले कुनै पूर्वाग्रह र अन्तरविरोधलाई बिर्सिएर चुनावमा नेकपालाई जिताउन लाग्नुपर्ने बताए । देशकै एकमात्र प्रतिनिधि सभाको निर्वाचन हुने क्षेत्र पनि भएकाले नेकपाले कुनै पनि हालतमा यो सिट सुरक्षित गर्नुपर्ने पाण्डेको भनाइ छ । अनावश्यक सरकारको आलोचना भइरहेका बेला यो क्षेत्रको निर्वाचन अर्थपूर्ण हुने पाण्डेले बताए ।

कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ले देशकै एकमात्र प्रतिनिधि सभा क्षेत्र भएकाले नेकपा एक भएर देखाउनुपर्ने बताए ।

राजकाजी चुनावी कमान्डर
विद्या भट्टराईलाई जिताउन र चुनावी अभियान सफल बनाउन नेकपा कास्कीले २७ वटा उपसमिति गठन गरेको छ । चुनाव जिताउने कमान्डको नेतृत्व राजकाजी गुरुङ करणलाई जिम्मा दिइएको छ । करणको नेतृत्वमा निर्वाचन मूल कमान्ड समिति गठन भएको हो । निर्वाचन अनुगमन तथा निर्देशन पार्टीले तोकेको व्यक्ति हुनेछन् ।

निर्वाचनका लागि गठित उपसमितिले सोमबारबाटै काम थालिसकेका छन् । उपसमितिको बैठक बसेर आगामी रणनीति तयार पर्ने काम भइरहेको छ । नेकपा कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापाको नेतृत्वमा २ हजार ६ सय ५१ जना सदस्य रहेको निर्वाचन परिचालन समिति गठन भएको छ । अन्य प्रत्येक उपसमितिमा ५१ जना सदस्य रहनेछन् ।

उपनिर्वाचनका लागि २१ गते मनोनयन दर्ता हुँदैछ । त्यसको पूर्वसन्ध्यामा चुनावी सारगर्मीसमेत बढेको छ । नेपाली कांग्रेसले बाहेक साना अन्य दलले पनि उम्मेदवार ढुंगो लगाइसकेका छन् । साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएर घरदैलो अभियानसमेत थालिसकेको छ । समाजवादी पार्टीले धर्मराज गुरुङ र राप्रपाले रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गर्दै चुनावको तयारी गरिरहेको छ ।

कास्की क्षेत्र नम्बर २ मा सिंगो देशभरीकै चर्चा र चासो छ । एकमात्र प्रतिनिधि सभाको निर्वाचन हुने क्षेत्र र रवीन्द्र अधिकारीको क्षेत्रसमेत भएकाले अझ चासोको केन्द्र बनिरहेको छ ।

२०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ मतदाता थिए । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् । त्यसबखत रवीन्द्र अधिकारीले ह्याट्रिक गरे । ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसे पछि परे । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । यो क्षेत्रमा तेस्रो स्थानमा विवेकशील साझा पार्टीका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत ल्याएका थिए । ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेको यो क्षेत्रमा निर्वाचन कार्यालयले तयारी पूरा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया