फुटपाथ ‘बेच्ने’ घरबेटीलाई पनि कारबाही !

समाधान संवाददाता २०७६ कार्तिक १९ गते १५:५६

विकास रोकामगर
पोखरा

फुटपाथ व्यापारीले आगेट्नाले पोखराका मुख्य बजार क्षेत्रमा यात्रुलाई हिँड्नै सकस हुन्छ । फुटपाथमा व्यापार गर्न नपाउने भए पनि व्यापारीले मनोमानी गर्दा समस्या उत्पन्न भइरहेको छ ।

फुटपाथमा व्यापारीको मनोमानी चल्नुमा स्वयं उनीहरुमात्रै छैनन् । बाटोमै व्यापार गर्न दिने घरबेटी पनि उत्तिकै जिम्मेवार छन् । तर, यसमा व्यापारीको मात्रै दोष छैन । सडक छेउ घर भएका घरधनीले सटरसँगै बाटोमा पनि व्यापार गर्न दिएर ‘थप भाडा’ असुल्छन् । सटरभन्दा बाटोमा धेरै व्यापार हुने भएकाले पनि व्यापारी सटर भन्दा बाटोमै बसेर व्यापार गर्न सजिलो हुने उनीहरु बताउँछन् ।

Advertisement

पोखरा महानगरले सडक छेउका फुटपाथमा व्यापार नगर्न ७ दिने ‘अल्टिमेटम’ नै दिएको छ । महानगरको सूचना अनुसार आइतबारदेखि ७ दिनभित्र फुटपाथ पसल हटाइसक्नु पर्ने, अटेरी गरेमा ५ देखि १० हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ । फुटपाथ पसल हटाउन आइतबारदेखि नै नगर प्रहरी, उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी लगायत सम्बन्धित संघसंस्था ‘फिल्ड’मा खटिएका छन् ।

फुटपाथ व्यवस्थित बनाउने यो महानगरको पहिलो प्रयास भने होइन । यसअघि २०७१ सालमा साविक पोखरा उपमहानगरले समेत सडक छेउका फुटपाथ हटाउने नीति लिएको थियो । तत्कालीन समयमा पोखरा उपमहानगरका कार्यकारी अधिकृत झलकराम अधिकारीको निर्देशन तथा पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष सञ्जीवबहादुर कोइरालाको संयोजकत्वमा फुटपाथ हटाउने अभियान सुरु भएको थियो ।

Advertisement

पटक पटक सूचना जारी गर्दा पनि ‘फुटपाथ व्यापार’ समस्या नसुल्झिएपछि महानगरले घरबेटीलाई पनि कारबाही गर्ने भएको छ । आफ्नो घरअगाडि व्यापार गर्न दिएर बढी रकम उठाउने घरधनीलाई पनि कारबाही गरिने महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘थप पैसाको लोभमा सटरबाहिर पनि पसल थाप्न दिने र त्यसवापत एक्स्ट्रा पैसा असुल्ने गरेको पाइयो,’ उनले भने, ‘अब त्यसो गर्न पाइने छैन । त्यसो गरेको पाइए उनीहरु पनि कारबाहीको दायरामा पर्नेछन् ।’ उनले अटेरी गर्ने घरधनीलाई कारबाही गर्न तथा फुटपाथ हटाउन महानगरले समिति नै गठन गरिसकेको जानकारी दिए । समितिको संयोजकमा महानगर निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापा छन् ।

महानगरले ७ दिनभित्र पोखराका मुख्य व्यापारिक क्षेत्र नयाँ बजार, महेन्द्रपुल, सिद्धार्थचोक, पृथ्वीचोक, सिर्जनाचोक, बगर लगायत ठाउँका सबै फुटपाथ हटाउने जनाएको छ । ‘सहरी क्षेत्रका फुटपाथ अतिक्रमण गरी व्यवसाय सञ्चालन भइरहेको पाइएको छ र यसले सहरको सुन्दरतामा ह्रास आएको छ,’ कात्तिक ७ गते महानगरले गरेको निर्णयमा भनिएको छ, ‘यसले बटुवाको यात्राल असहज भएकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहयोग लिएर फुटपाथ पसल हटाउने निर्णय भएको छ ।’

मानव अधिकार÷विपी चोकमा कार्यक्रम गरे १५ हजार जरिवाना
पोखराको चिप्लेढुंगामा रहेका मानव अधिकार चोक र विपी चोकमा कुनै पनि प्रकारको कार्यक्रम नगर्न सूचित गरेको छ । ती ठाउँमा सवारी साधनको बढी चाप हुने र कार्यक्रम गर्दा ट्राफिक जामको समस्या निम्त्याउने हुनाले कार्यक्रम नगर्न सूचना जारी गरिएको महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘ती ठाउँमा पहिलेदेखि कार्यक्रम गर्न मनाही थियो । तर, अटेरी गरेर विभिन्न कार्यक्रम भइरहेका हुन्थे । कार्यक्रमले अशोभनीय देखिने र जामको समस्या उस्तै हुन्थ्यो,’ इन्जिनियर पौडेलले भने, ‘अब महानगर स्ट्रिक्ली लागेको छ । त्यहाँ कार्यक्रम गर्न पूर्ण मनाही गरिएको छ ।’ उनले ती चोकमा कार्यक्रम गरे ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया