तनहुँ महोत्सवस्थलमा ७ जनजातिका आकर्षक घर

समाधान संवाददाता २०७६ कार्तिक २० गते १३:२१

कृष्ण न्यौपाने
दमौली

व्यास नगरपालिका ४ सिमलटारमा दरै, कुमाल, थारु, मगर, गुरुङ, बोटे र भुजेल जातिको घर निर्माण गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले बुधबारदेखि गर्न लागेको तनहुँ सांस्कृतिक तथा पर्यटन महोत्सवस्थलमा विभिन्न ७ जातिको घर निर्माण गरिएको हो ।

महोत्सव घुम्न आउने दर्शकलाई विभिन्न जनजातिको रहनसहन र संस्कृतिबारे जानकारी दिन एकै ठाउँमा ७ जातिको घर निर्माण गरिएको परिषद अध्यक्ष बसुन्धरा घर्तीले बताइन् ।

Advertisement

घर्तीका अनुसार जनजातिका घरमा उनीहरुका संस्कृति झल्कने सामग्रीसमेत प्रदर्शन गरिनेछ । ‘महोत्सव अवलोकन गर्न आउनेलाई एउटै थलोबाट विभिन्न जनजातिको परम्परागत घर र संस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यका साथ घरहरु निर्माण गरेका छौ,’ घर्तीले भनिन्, ‘यसले महोत्सवमा आकर्षण थप्नेछ ।’ ती घरहरु बाँस र खर प्रयोग गरी निकै आकर्षक बनाइएको छ ।

‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गराैं, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं’ भन्ने नारासहित हुने महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । २ सय ३० स्टल रहने महोत्सवमा ३ करोड बराबरको आर्थिक कारोबार हुने र ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिए ।

Advertisement

महोत्सवबाट आम्दानी भएको रकम महासंघको अधुरो कार्यालय भवन निर्माण र जग्गा खरिद गर्दा लागेको ऋण तिर्न प्रयोग गरिने आयोजकले जनाएको छ । महासंघले व्यास नगरपालिका १ करङकाठमा २७ लाख र व्यास नगरपालिका १२ घाँसीकुवामा १० लाखमा जग्गा खरिद गरेको छ । करङकाठमा आफ्नै कार्यालय भवन निर्माण गरेको महासंघलाई जग्गा र भवन निर्माण गर्दा २१ लाख ऋण लागेको बताइएको छ । दोस्रो र तेस्रो महोत्सवबाट आम्दानी भएको ३५ लाख, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानबाट प्राप्त १८ लाख र व्यास नगरपालिकाबाट प्राप्त ५ लाख सहयोगमा भवन निर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया