कास्की २ उपनिर्वाचन सुरक्षाः ७ मतदानस्थल अति संवेदनशील

समाधान संवाददाता २०७६ कार्तिक २४ गते १३:४५

ईश्वर देवकोटा
पोखरा

कास्की क्षेत्र नम्बर २ उपनिर्वाचनका ३२ मतदान स्थलहरुमा जिल्ला सुरक्षा समिति कास्कीले सुरक्षा दृष्टिले ७ वटा मतदान स्थललाई अति संवेदनशीलको रुपमा एकीन गरेको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ११ वटा वडाका विभिन्न ३२ मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा समितिले विशेष निगरानी बढाउने भएको छ । जसमध्ये ८ वटा संवेदनशील र बाँकी १७ वटा मतदान स्थल सामान्य रहेको समितिको निश्कर्ष छ । मतदातालाई उक्त दिन ढुक्क रहेर मतदान गर्ने वातावरण तयार गर्न सुरक्षा समितिले हालैबाट योजना बनाई संवेदनशीलताको आधारमा कार्यान्वयन समेत गर्ने तयारी गरिरहेको छ ।

Advertisement

भौगोलिक विकटता, राजनीतिक दलको प्रतिस्पर्धा र निर्वाचन बहिष्कार गर्ने समूहहरुका गतिविधिका आधारमा सबै ३२ मतदान स्थलका ८२ केन्द्रहरुको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई राख्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेशकुमार केसीले बताए ।

‘अति संवेदनशील हुने कारण विकट भूगोल, राजनीति प्रतिस्पर्धा, विरोधी समूहको व्यापक उपस्थिती हुन सक्ने स्थललाई अति संवेदनशीलको रुपमा लिएका छौं,’ उनले भने, ‘संवेदनशील र सामान्यमा स्थल पनि तिनै कारणबाट सुरक्षा योजना लागु गरिएको छ ।’

Advertisement

निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न कुन निकाय कसरी परिचालन हुने योजनाअनुसार अघि बढिएको सिडिओ केसीले बताए । ‘सुरक्षाको अवरोध गर्ने तत्व के कस्ता हुन सक्छन् सबैको पहिचान भएको छ,’ उनले भने, ‘त्यस अन्तर्गत कुनकुन संयन्त्र परिचालन हुने योजना अनुसार नै हुन्छ ।’ कार्यालय, कर्मचारी, उम्मेदवार र मतदाताहरुलाई सुरक्षित महशुस गराउन विभिन्न रणनीति अवलम्बन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाइने सिडिओ केसीले बताए ।

विगतको आमनिर्वाचन जस्तै यसपटकको उपनिर्वाचनमा पनि सुरक्षा संयन्त्र परिचालन हुने भएको छ । सरकारले नै नेपाली सेनालाई परिचालन गर्न निर्णय मार्फत स्वीकृती दिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र बाहिरी पेरीफेरीमा नेपाली सेना परिचालन हुने छन् ।

कास्की क्षेत्र नम्बर २ मा ११ वडा छन् । तिमध्ये वडा १६, २०, २१, २२ का अधिकांश भू–भाग भौगोलिक रुपले केही विकट मानिन्छन् । भौगोलिक असहजताको फाइदा उठाउँदै निर्वाचन बहिष्कार गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहले मतदातालाई डर÷त्रास फैलाउन सक्नेतर्फ सुरक्षा निकाय चनाखो बनेको छ ।

तर त्यस्ता निर्वाचन बहिष्कार गर्ने तत्वहरु पहिचान गरी यथोचित व्यवस्थापन गर्न समितिले योजना बनाइसकेको सिडिओ केसी बताउँछन् । ‘संविधानप्रदत्त नागरिकको चुनावमा भाग लिने, मतदान गर्ने हक हो । त्यो हकलाई खोस्ने अथवा बिथोल्ने जो कोही शक्तिलाई पनि कानुनी दायरामा ल्याउन प्रतिबद्ध छौं,’ उनले भने ।

निर्वाचन बिथोल्न खोज्ने समूहलाई पूर्वतयारीका साथ व्यवस्थित गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइसकेको सिडिओ केसीले जानकारी दिए । ‘स्रोत साधन परिचालन गरेर त्यस्ता अवैधानिक गतिविधिलाई नियन्त्रण गर्न परिचालित भइसकेका छौं,’ उनले भने ।

आसन्न उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा मात्रै हुँदै छ । दलीय प्रतिपस्र्धाको रुपमा पनि यस क्षेत्रलाई विशेष चासोको रुपमा लिइएको छ । ११ स्वतन्त्र सहित ११ दलीय गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई उम्मेदवार छिन् भने प्रमुख प्रतिस्पर्धी मानिएको नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा छन् । कुल ३२ मतदानस्थलका ८२ केन्द्रमा ७१ हजार ८ सय ७१ मतदाता सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया