उपल्लो मुस्ताङमा आशिंक हिमपात

समाधान संवाददाता २०७६ कार्तिक २४ गते १४:०४

एसके थकाली
जोमसोम

उपल्लो मुस्ताङका विभिन्न गाउँमा यो मौसमकै पहिलो पटक सिजनकै पहिलो हिउँ परेको छ । उपल्लो मुस्ताङमा शुक्रबार बिहानै देखि हुलका वर्षासंगै आंशिक हिउ परेको चराङका निर्वाचित जनप्रतिनिध टसी ढुन्डुक ठकुरीले जानकारी दिए ।

ठकुरीले हिउँमा खेलेको केही तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । कात्तिकमै हिउँ पर्दा उपल्लो मुस्ताङी आश्चर्य चकित भएको ठकुरीले बताए । उनले कात्तिकमा जाडो परे पनि हिउँ नपरेको प्रस्ट््याए । उपल्लो मुस्ताङमा हिउपरेसँगै जाडो बढेको ठकुरीले जानकारी दिए । उनका अनुसार शुक्रबार १० सेन्छिमिटर हिउँ परेको हो । उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती गाउँ छोसेर, छोन्हुप, सुर्खाङ, चुमजुङ, यारा, घारा, मराङ, चराङ, ध्ये, ताङ्ग्या र घमी लगायतका स्थानमा आशिंक हिउँ परेको ठकुरीले बताए ।

Advertisement

मुस्ताङमा तिहारलगत्तै अत्यधिक जाडो बढेको छ । उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरु जारी शैक्षिक सत्र सकेर बेशी झर्ने क्रममा छन् । कतिपय विद्यालय र गुम्बा स्कुल यसअघिनै बेशीमा स्थान्तरण भएको छोसेरस्थित दिब्यदीप माविका प्रअ रामुप्रसाद श्रेष्ठले जानकारी दिए । उपल्लो मुस्ताङका शैक्षिक संस्था बर्सेनि घुम्तीका रुपमा बेशी लैजाने परम्परा रहेको प्रअ श्रेष्ठले खुलाए । उपल्लो मुस्ताङमा दसैं÷तिहारको गुल्जारसँगै जाडो बढेपछि सुनसान बन्न थालेको हो । उपल्लो मुस्ताङीहरु जाडो महिनामा घरमा १ जना कुरुवा राखेर घुम्ती व्यापारमा बेशी उर्लन्छन् । यसरी बेशी झरेकाहरु भारतमा गएर व्यापार गर्छन भने कतिपयले नेपालका ग्रामीण स्थानमा व्यापार गर्छन् । यतिबेला दिनहुँ २० देखि ५० जनासम्म उपल्लो मुस्ताङी बेशी झर्न थालेको उपल्लो मुस्ताङ जीप व्यवसाय समितिका अध्यक्ष देव गुरुङले जानकारी दिए । उनले जाडो छल्ने क्रमले उपल्लो मुस्ताङका गाउँ रित्तिन थालेको बताए । मुस्ताङका शैक्षिक सत्र मंसिरपछि बन्द हुन्छ भने माथिल्लो भेकमा कात्तिकमै बन्द हुन्छ ।

पोहोर माघको दोस्रो साता हिउँ परेको थियो । जाडो छल्न बेशी झरेकाहरु हिउँद व्यापार गरी खाद्यान्न लिएर चैतमा गाउँ फर्कने परम्परा छ । जाडो याम सुरु भएपछि उपल्लो मुस्ताङमा पर्यटकको घुमफिर शून्य जस्तै हुन्छ । हिउँद याममा राष्ट्रिय गौरवको आयोजनाको उपल्लो मुस्ताङ खण्डको काम ठप्प हुने गर्छ । त्यहाँ कार्यरत मजदुर सबै अन्यत्रको काममा लाग्छन् । हिउँले उपल्लो मुस्ताङ सडकमा यातायात समेत अवरुद्ध हुने गर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया