एउटामात्रै कविता लेख्नु परे आमाकै लेख्छुः कवि तीर्थ श्रेष्ठ

समाधान संवाददाता २०७६ कार्तिक २४ गते १४:५७

समाधान संवाददाता
पोखरा

धर्साहरुले घरका भित्ता भरिएका छन्
ती धर्साहरु रातमा उठ्छन्
र निदाइरहेकी बुढी आमाको
सपनामा सुटुक्क पस्छन्
ती धर्साहरु सर्प बन्छन्
र बुढी आमा सपनामा जथाभावी डस्छन्

कवि तीर्थ श्रेष्ठ कवितामा आमालाई अटाउन चाहन्छन् । ‘धर्सैधर्साको चक्रब्यूहमा बुढीआमा’ शीर्षकको यो कवितामा पनि परदेशिएको छोराको प्रतीक्षामा रहेकी बुढाआमालाई पस्केका छन् । छोराको प्रतीक्षामा भित्तामा कोरिएका धर्सा र धर्सामा गुज्रिँदाको भावलाई कवि तीर्थले सुन्दर बिम्व बनाएका छन् । आमाका कविता बोल्दा कवि तीर्थ भावुक पनि बन्छन् । भन्छन्, ‘जीवनको अन्तिममा पनि एउटामात्रै कविता लेख भनिए म आमाकै कविता लेख्छु ।’

Advertisement

आमाहरु सौतेनी हुँदैनन् र सौतेनीहरु आमा हुँदैनन् कविता लेखेका कवि तीर्थले आमामाथि कहिल्यै शब्द नरित्तिने बताए । ‘आमा आमा नै हुन्छन् । कि आमाहरु सौतेनी हुँदैनन् कि सौतेनीहरु आमा नै हुँदैनन् । किनकी मैले एउटा आमा गुमाएर अर्की आमा पाएँ । तर, ममता कहिल्यै कम पाइनँ ।’

कवि तीर्थको नवीनतम् कविता कृति धर्सैधर्साको चक्रव्यूह डेढ महिनाअघि प्रकाशित भएको थियो । धर्सैधर्साको चक्रव्यूहका साथ कवि तीर्थ शनिबार आफन्त, शुभचिन्तक र साहित्यनुरागीबीच थिए । सन्दर्भ थियो, उनको नयाँ कृतिको गृह विमोचन । पोखरामा हुने अनेक कार्यक्रममा जोडिन्छन्, तीर्थ र वाककलामार्फत कार्यक्रम नै आफूमा केन्द्रित गर्छन् । शनिबारको कार्यक्रम पनि उनीमाथि नै केन्द्रित त थियो तर कवि स्वयं घरिघरि अक्मकाउथे र घरिरि भावुक बनिदिन्थे । घरि आफैंमाथि शंका पनि गर्थे ।

Advertisement

कृतिको गृह विमोचनमा उनका कविता र उनकै विविधि व्यक्तित्वमाथि दृष्टिकोण राख्ने प्रिय पात्रहरु नै थिए । उनका कविता वाचन गर्ने समसाथकै अनुज थिए । विमोचन गर्ने उनकै अभिभावक थिए । कार्यक्रममा ताली बजाउने उनकै शुभचिन्तक र घरआँगनकै साहित्यानुरागी थिए । कवि तीर्थले तिनै साहित्यिक अनुजबाट कमजोरी पनि सुने र प्रशंसा पनि पाए । अनि कवि भावुक हुँदै भने, ‘म अझै पनि कवि हुने कोसिस गरिरहेको मान्छे हुँ ।’

हरदम केही न केही सिर्जनशील कर्ममा रमाइरहने कवि तीर्थले जन्मभूमिप्रतिको अमीट स्नेह पोखे । उनको त्यही स्नेहमा ऊर्जा भर्न शनिबार नेवा छेंको सभाहलमा खचाखच पोखरेली पुगेका थिए । कवि तीर्थ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनलाई श्रद्धा पोख्छन् र सधैं अभिभावक मान्छन् । उनै अभिभावक वात्स्यायनले तीर्थको कृति विमोचन गरे । वात्स्यायनले नै डेढ महिनाअघि नै काठमाडौंमा कृति लोकापर्ण गरेका थिए । तीर्थको कृतिमा वात्स्यायनकै रेखा चित्र कोरिएका छन् । वात्स्यायनले तीर्थलाई हेर्ने नजर हो, साहित्य, कलाको मर्म र मानवीय धर्म बुझेको कवि । पोखरामा कला, साहित्य र संगीतको वृद्धि विकासमा निरन्तर खटिइरहेका व्यक्तिका रुपमा आफूले चिनेको वात्स्यायनले बताए ।

कवि सरस्वती प्रतीक्षाको दृष्टिकोण छ, ‘तीर्थ जति तरलवादी कवि हुन्, उति नै सरलवादी कवि हुन् ।’ कवि तीर्थका केही कविताहरु निकै क्रान्तिकारी रहेको उनको भनाइ छ । देब्रे ढल्कुवाहरुले मात्र क्रान्तिकारी कविता लेख्छन् भन्ने भ्रम चिर्न तीर्थका कविता सफल भएको सरस्वतीले बताइन् । प्रकृतिको एकदम नजिक रहेका कविता पस्केका तीर्थका कमजोरी पनि कवितामा आएका सरस्वतीको टिप्पणी थियो । धेरै कविता राखेर बाक्लो बनाउनुभन्दा केही नराखे पनि हुने कविता फाल्न कविले कन्जुस्याइँ गरेको सरस्वतीले समीक्षा गरिन् ।

अर्का कवि जीवनसागर भण्डारीले तीर्थ श्रेष्ठका कविताका सरल शब्दले जटिल र गम्भीर विषय उठाउने बताए । तीर्थ एकचोटि लेखेर केही समयपछि हराइजाने कविता लेख्ने कवि नभएको बरु बाँचिरहने र दीर्घकालीन प्रभाव छाड्ने कविता लेख्ने कवि भएको उनको भनाइ थियो ।

रंगकर्मी अनुप बरालले तीर्थको कविता वाचन गर्दै एउटा चरालाई समाएर उडाउँदा हातमा स्पर्शको महसुस भइरहने कविका रुपमा सम्झिए । धर्सैधर्साको चक्रव्यूहमा बुढीआमा कविता वाचन गर्दै कवि भोजबहादुर जिसी भावुक नै बने । कवि रीता अधिकारी ऋतुले आफूलाई मन परेको म यशोधरा कविता वाचन गरिन् ।

तीर्थकै मातृसंस्था पोखरेली युवा सांस्कृतिक परिवारले राखेको गृह विमोचनमा प्रकाशक नेपालयका आभासले जीवनलाई नजिकबाट छुने र महसुस गर्न सक्ने कविता लेख्न सक्ने कविताका रुपमा सम्झिए । संस्थाका उपाध्यक्ष उपेन्द्र पौडेलले हजुरबा पुस्तादेखि नाती पुस्तासँग मिल्न सक्ने, एकैसाथ धेरै परिचय बाँचेको ऊर्जाशील र सिर्जनशील सर्जकका रुपमा तीर्थलाई पस्किए । परिवारका अध्यक्ष प्रकाश ज्ञावालीले पोखरेली साहित्य क्षेत्रकै अभिभावक रुपमा तीर्थलाई सम्झिए ।

तपाईको प्रतिक्रिया