अमरसिंहमा स्मार्ट शौचालय

समाधान संवाददाता २०७६ कार्तिक २४ गते १५:१८

समाधान संवाददाता
पोखरा

पोखरा १२ रहेको अमरसिंह चौर व्यस्त चौर पनि हो । ठूलो मैदान भएकाले त्यहाँ व्यापार महोत्सवदेखि विभिन्न शारीरिक व्यायाम गर्नेको दैनिक ठूलो भीड लाग्छ । तर, त्यही व्यस्त चौरमा १ पनि सार्वजनिक शौचालय नहुँदा समस्या थियो ।

तर, अब सार्वजनिक शौचालय नभएकै कारण अब अमरसिंह चोकमा समस्या हुने छैन । पोखरा महानगरले अमरसिंह चोकमा सार्वजनिक शौचालयमात्रै बनेको छैन, ‘स्मार्ट’ सेन्सरजडित प्रविधियुक्त शौचालय बनाएको छ । महानगर प्रमुख मानबहादुर जिसीले शनिबार यसको उद्घाटन गरेका हुन् ।

Advertisement

पोखरा महानगर, रोट¥याक्ट क्लब, लायन्स क्लब, अमरसिंह व्यापार, व्यवसाय समितिको संयुक्त लगानीमा शौचालय बनेको हो । मेयर जिसीले महानगरमा व्यवस्थित शौचालय बनाउन सुरु गरेको बताए । ‘महानगरभित्र सार्वजनिक शौचालय नबनेका होइनन् । तर, व्यवस्थित गर्न नसक्दा प्रयोगविहीनजस्तै बनेका छन्,’ उनले भने, ‘अब सबै सार्वजनिक शौचालयलाई व्यवस्थित गर्न लागेका छौं ।’

करिब २६ लाखमा बनेको शौचालय सेन्सरजडित छ । शौचालयमा बालमैत्री, महिलामैत्री र अपांगमैत्री छ । अमरसिंह चौरमा साना तथा ठूला कार्यक्रम भइरहने तर सार्वजनिक शौचालय अभावकै कारण भोग्नुपर्ने समस्याको समाधान भएको उपभोक्ता समिति अध्यक्ष ओमप्रसाद सुवेदीले दाबी गरे ।

Advertisement

‘यहाँ कार्यक्रम भइरहन्छन् । कार्यक्रममा आउने मान्छेहरु शौचालय नभएकै कारण समस्यामा पर्थे,’ सुवेदीले भने, ‘अहिले बनेको यो शौचालय महानगरको मापदण्ड अनुसार नै बनेको छ । अब कोही शौचालय नभएर समस्यामा पर्नुहुने छैन ।’ उनले शौचालयको बाहिर स्लेप बनाउन बाँकी रहेको र त्यसका लागि ६ लाख रुपैयाँ विनियोजन भइसकेको जानकारी दिए । शौचालयमा पानी, बत्तीको पर्याप्त व्यवस्था छ । जुन स्वाचलित छन् । पुरुष, महिला, अपांग र बालबालिकाका लागि छुट्टाछट्टै ठाउँ बनाइएको छ । धारा पनि स्वचालित छ ।

अमरसिंह चोकमा शनिबार उद्घाटन भएको महानगरको एउटामात्रै स्मार्ट शौचालय भने होइन । यसबाहेक पोखराको मालपोत कार्यालयभित्र, सराङकोट भकुन्डे, ठूली पोखरी, सहिदपार्कमा प्रविधि र अपांगमैत्री स्मार्ट शौचालय बनेका छन् । ‘पोखरा ६ हल्लनचोकमा निर्माणाधीन छ । त्यो केही समयमै सञ्चालनमा आउँछ,’ मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने, ‘पोखरा १ मा पनि अहिलेसम्म बनिसक्नुपर्ने हो । टेन्डर पनि भइसकेको छ । तर, वडाले जग्गा उपलब्ध गराउन नसक्दा ढिलाइ भएको छ ।’

पोखराकै दोबिल्ला पार्कमा पिकनिकमा रमाउन जानेको ठूलै घुइँचो लाग्छ । उक्त ठाउँमा शौचालय नहुँदा भने समस्या छ । महानगरले यसै आर्थिक वर्षमा दोबिल्ला पिकनिक पार्क, मीलनचोक, राखीडाँडा, रत्नशोभा मावि माझठाना लगायत ठाउँमा समेत शौचालय बनाउने प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया