यात्रा संस्मरणः ताराखोलाको दुख देखेपछि

समाधान संवाददाता २०७६ कार्तिक २४ गते १६:१७

भीमा ढुंगाना

असोज ३, २०७६ । बिहान ६ बजे नै हामी पोखराबाट बागलुङका लागि हिँड्यौं । संविधान दिवस मनाउने कार्यक्रम हुँदाहुँदै पनि हामी यात्रा छिटो सुरु गर्न बाध्य भयौं ।

कार्यक्रम धेरै पहिला नै तय थियो । लामो समयदेखि झरी परेकोले बाटो बाटोमा ससाना पहिरो पार गर्दै १० गजे बागलुङ पुगियो । डाँडाको पहिरोमा काम हुँदै गरेको र ११ बजे त्यो ठाउँमा पुग्नु पर्ने भएकोले हामी छोटो विश्रामपछि बाग्लुङबाट गोल्कोट जाने बाटोलाई पिछा गर्दै ठाउँ–ठाउँमा बाटो सोध्दै आगाडि बढिरह्यौं । बागलुङ जिल्ला मेरो जन्मस्थल भए पनि औपचारिक घुमघाम भने पहिलो पटक नै थियो । त्यसैले सबै ठाउँ मेरो लागि नयाँ र नौला थिए ।

काठेखोला गाउँपालिका साविकको बिहुँ गाविसलाई नागबेली गर्दै, डाँडा पाखा, हरियाली र ढुंगाले छाएका रातो माटो र कमेरोले पोतेका कलात्मक घर, बारीको काँल्लामा झुलेका घाँस, लटरम्म फलेका अम्बाका बोट, थाँक्रामा झुन्डिएका पहेंला मादले काँक्रा हेर्दै र लोभिँदै निरन्तर उकालो चढिरह्यौं ।

यी पहेला मादले काँक्रा देख्दा आफ्नो मन त लोभियो लोभियो । नेता नारायणकाजी श्रेष्ठको बाल्यकालमा काँक्रा चोरेको रमाइलो कथाको समेत याद आयो । गाउँघरतिर काँक्रा चोर्नुलाई पहिला अपराध मानिँदैनथ्यो । त्यही भएर होला बुढापाकाको मुखबाट हामीले काँक्रा चोरेका बास्तविक कथा सुन्दै आएका छौं ।

कच्ची बाटो । गाडी बेला बेलामा फनफनी नाच्छ । हामीलाई बारीको पाटामा पु¥यौउलाझैं गरी उफार्छ । हामी ऐया–ऐया गर्दै हल्लिदै बल्ल–बल्ल थामिएर बस्दै गन्तव्यमा पुगिएला कि नपुगिएला दोधारे कुरा गर्दै निरन्तर अगाडि बढिरह्यौं । माथि भनेको पहिरोमा ठिक ११ बजे त पुगियो तर पहिरो पार गर्न निकै गाह्रो प¥यो । किनकि हाम्रो गाडी ४ ह्विलर थिएन, गाडी भित्र बसेर पहिरो काट्ने आँट पनि आएन र हामी बाहिर निस्केर समाधानको बाटो खोज्न लाग्यौं । करिब आधा घन्टापछि गाडीलाई डोजरको सहायताले बल्ल–तल्ल पहिरोबाट कटायौं । फेरि निरन्तर उकालो लाग्यौं । करिब १२ः३० मा ‘घोडा बाँधे’ भन्ने ठाउँमा पुग्यौं ।

लगभग १७÷१८ सय मिटर उचाइमा अति रमणीय र चिसो ठाउँ रहेछ । यही ठाउँमा धेरैजसो गाडी रोकेर चालक, सहयोगी र यात्रुले खाना खाने रहेछन् र हामीले पनि चिसोको अनुभूति गर्दै खान खाएर विश्रामपछि फेरि उकालो चढियो ।

त्यसरी नै गल्कोट तिरको ओरालो झरियो । यो दृष्यले कता–कता काठमाडौं दक्षिणकालीदेखि हेटौंडा जाने बाटोको ठाउँको याद दिलायो । लगभग १ घन्टाजति पिच बाटोको यात्रा गरेपछि ठाँटी (गल्कोट) पुग्यौं । पिच नछोडि गए बुर्तिबाङ पुगिने रहेछ । त्यहाँ पुगेपछि बल्ल ठूला गाडी र ट्याक्सी देखिए ।

गुल्मी र बुर्तिबाङबाट आउने रहेछन् । हामी ताराखोलाको पक्की पुल तरेपछि हाम्रो यात्रा पिच बाटोलाई छोडेर ताराखोलाको किनारै किनार (हरिचौर गल्कोट दरबार) ट्रयाक मात्र खोलेको बाटोलाई पछ्याउँदै उत्तरतर्फ लाग्यौं ।

एकैछिन दरबार हेरी चिया गफ ग¥यौं । चिया पसलको वरिपरि देखिने पक्की घर, फाँटमा झुलेका लट्टा परेका धान र मानिसको गेटअप देखेर यहाँको आयको श्रोत के होला भन्ने मनमा कौतुहलता जाग्नु हाम्रो लागि स्वभाविकै थियो । त्यस्तै ७०÷७५ वर्षका २÷३ जना बुवालाई मैले सोधें, ‘बुवा, यहाँ अरु ठाउँमा भन्दा पहाड भएता पनि राम्रो देखें यताका मानिसको आम्दानीको स्रोत के होला ? जानकारी लिन मन लाग्यो ।

बुवाले सुरुप्प चियाको सुर्की तान्दै भन्नु भयो, ‘यो ठाउँ त पहिले देखि हिंग बाँधेको टालो हो, बागलुङको राजधानी हो । माथि गल्कोटे राजाको दरबार छ र अहिले हामी ९ सय ५ वृद्धको पेन्सन छ र ८ सय ५ युवा बाहिर छन् । बाहिरबाट पैसो आउँछ । त्यसैले यहाँ अहिले त सुखै छ । तर हामीपछि यो ठाउँको भविष्य छैन ।’

फेरि निराशा थपियो । गन्तव्य अझै टाढा भएकोले धेरै लामो कुराकानी गर्न समय भएन । हामी बिदा भएर अगाडि लाग्यौं । यात्रा झन् कठिन र रहस्यमय बन्दै गएको थियो ।

काठे पुल, बस्ती नै नभएका खोंच, छ्वांगछ्वांग गर्ने खोलाको आवाज, कुहिरोमुनि म्याग्दीको सिमानामा देखिएको धेरै टाढाको गन्तव्य ताराखोला गाउँ, जति आगाडि बढ्यो । त्यति नै कसरी फर्किने भन्ने चिन्ता ।

करिब १ घन्टाको यात्रापछि खोलामा हाइड्रो (२.५ मेवा) रहेछ । अरु घर थिएन । त्यसको माथि इलाका प्रहरी कार्यालय पनि रहेछ । हामीले प्रहरी कार्यालयका प्रमुखकलाई सोध्यौं । भीरको बाटो साँझ पर्न लागको र पहिरोले बाटो क्षतविच्छेद भएकोले उहाँले हाम्रो गाडी अगाडि बढ्न नसक्ने बताउनुभयो । त्यस ठाउँबाट गाडीमा झन्डै १ घन्टा उकालो चढ्नुपर्ने रहेछ । गाउँपालिकाको अध्यक्षसँग सहयोगको लागि अनुरोध ग¥यौं । त्योभन्दा हामीसँग अरु विकल्प थिएन ।

बल्ल तल्ल साँझ ६ बजे ताराखोला गाउँपालिकाको कार्यालय भएको ठाउँमा पुग्यौं । हामीलाई त युद्ध नै जितेजस्तो अनुभूति भयो । माथि टुप्पोमा पुगेपछि चारैतिर अग्ला अग्ला धुरी, घर कसरी अडिएको होला जस्तो आश्चर्य मान्दै चारै तिर नियाल्यौं ।

अतिनै थकित भएकोले हामी सरासर अलि माथि हाइस्कुल नजिकै होमस्टेमा बास बस्यौं । लगभग २२÷२३ सय मिटरसम्मको उचाइ भएकोले हामीलाई चिसो महसुस हुनु स्वभाविकै हो । आगोको नजिकमा बसेर हामी पोलेका मकै, आगोमा तताएको बाक्लो दूध, आलु र लोकल कुखुराको झोल, मादले काँक्राको स्वाद लिँदै त्यहाँको वस्तुस्थिति, आम्दानीको स्रोत, उत्पादन, बजार, पठनपाठन लगायत धेरै कुरामा जानकारी लियौं ।

होमस्टेका दिदीबहिनीले १० वर्षे जनयुद्धमा ६ जना सहिदले बलिदान दिएको र युद्धका बेलाका आफूले भोगेका दुख र अनुभव पनि सुनाउनुभयो । भन्नुहुन्छ, ‘बाँचिन्छ भनेको होइन । अहिले त जुनी फेरियो ।’ युवा जनशक्ति बाहिर भएको र घर गृहस्थी आमा बुवा र श्रीमतीबाट चलेको रहेछ ।

तर अतिनै मेहनती र पौरखी हात जसलाई उच्च सम्मान गर्नुपर्छ, कुनै मेसिनको प्रयोग बिनानै चामल बाहेक खाद्यान्न सबै आफै उत्पादन गर्ने, सबैको घरमा २÷३ ओटा भैंसी, गोरु, अल्लोबाट बनेका सामग्री, बाख्रा, कुखुरा पालेका रहेछन् । मकै २ खेति, आलु २ खेती, भांगो, टिमुर पनि प्रशस्त उत्पादन हुने र बाग्लुङ र पोखरामा बिक्री वितरण गरिने रहेछ । ‘सबै उत्पादन अर्गानिक नै हो, किन भने कुनै विषादी र मल हाम्रो गाउँमा प्रवेशनै गरेको छैन तर प्रमाणीकरण भने गरेको छैन,’ उहाँहरुको भनाइ थियो ।

साविकका ५ गाविस (हाल ५ वडा), हरेक वडाबाट त्यहाँ आउन पैदल २ देखि ३ घन्टा लाग्ने रहेछ । हरेक दिन २÷३ घन्टा हिँडेर विद्यार्थी स्कुल आउने जाने गर्ने सुन्दा मन अमिलो भयो र सोचें, ‘कि नपुगेका यस्ता ठाउँ कति होलान् ? यस्ता विद्यालय कति होलान् ?’

यो समस्या साँच्चि नै गम्भीर हो । र फेरी सोचे, हाम्रा १० मिनेट पनि हिड्न नपर्ने बजारका स्कुल र विद्यार्थीलाई सम्झें र मनमनै तुलना गरें, ‘के शिक्षामा समान पहुँच र सबैलाई एउतै गुणस्तर सम्भव छ त ? छैन भनु भने अरु विकासति देशमा कसरी भयो ? छ भनु भने कहिले सम्भव होला त ? अर्को चुनौती थपियो ।

गफगाफ र खानपिन पछि १० बजेतिर सुत्यौं । भोलिपल्ट ६ बजेतिर उठेर वरपर नियाल्दै हिड्यौं । घर सबै ढुंगाका छाना, बारीका गह्रा एउटा गुन्द्री पनि नअट्ने देखिन्छन् । हेर्दा खनजोत, मल बोक्ने, खेती थन्क्याउने, कसरी गर्ने होलान् ? डाले घाँसका बोट टावरझैं अग्ला कसरी घाँस झार्छन् होला ? त्यहाँबाट खस्यो भने जमिनमा नपर्दै माथि पुगिएला जस्तो लाग्ने । कता कता कहाली लाग्दो, फेरि सोचें कति मान्छेको यी रुखबाट लडेर मृत्यु हुन्छ होला ? कति अपांग भए होलान् ?

यी अग्ला रुखको सट्टा साना तर त्यतिकै पोसिला भूइँ घाँसको पनि त अनुसन्धान भएको होला । तर हाम्रो ध्यान त्यहाँ किन पुग्न नसकेको होला ? सानो परिवर्तनले पनि ठूलो क्षति हुनबाट रोक्न सक्छ भन्ने हेक्का किन हुन नसकेको वा हुँदा हुँदै पनि गर्न नसकिएको ? कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्न त यहाँ र यस्ता ठाउँमा पो जरुरी देखियो । जहाँ जीवन निर्वाह र जीवन मरणसँग सिधै जोडिएको र अर्को विकल्प पनि नभएको तर चुनौती पनि त्यतिकै छ । कसरी गर्ने कसरी ? बाटो पनि राम्रोसँग गएको छैन ।

त्यसपछि १० बजेतिर खाना खाएर ११ बजे सुरु हुने भनेको १ बजे हाम्रो कार्यक्रम सुरु भयो । किनकि ५ वटा वडाबाट सहभागी आउँदा सबैलाई हिँडेर लगभग ३ घन्टा लाग्दो रहेछ । ४ः३० बजेतिर कार्यक्रम सकेर हामी सबैको सामूहिक फोटो खिचेर बिदाबारी भयौं । त्यो दिन रात परेकोले त्यहीं होमस्टेमा रमाइलो गरी बास बस्यौं ।

भोलिपल्ट सबेरै चिया पिएर कोकिला होमस्टेको बसाईं, त्यहाँको स्थानीय उत्पादनको स्वाद र कृषिमा विशेष गरी आलु, टिमुर, भांगो, मकै, कोदो, बाख्रापालन, अल्लोका परिकार आदि र उहाँहरुको मायालु सत्कार मुटुमा पोको पा¥यौं । त्यसैगरि गाउँ पालिका अध्यक्ष प्रकाश घर्तीमगर लगायत सम्पूर्ण कर्मचारीको कार्य कुशलता र सहकार्य यो मानस पटलमा लिएर फेरि ओराली झर्‍यौं । बाटोभरी मनमा निकै तरंग खेले ।

साँच्चि नै यस्ता दुर्गम ठाउँ कति होलान् ? कसरी यी ठाउँमा विकास पुर्‍याउने ? विकास पुगेन भने यो पुस्ता पनि मुस्किलले त्यहाँ बस्न गाह्रो छ । युवाशक्ति ओरालामा बग्ने पानी ती बग्दै ७ समुद्रपार पुगिसके । यस्तो अवस्थामा यिनीहरुमाथि न्याय कसरी गर्न सकिएला ? वृद्धा, बालबालिका, शिक्षा, बाटो, सुत्केरी व्यथा, आपतकालीन अवस्थामा उद्धार… ?….? बेलैमा वैधानिक ढंगको बस्ती विकास, भूगोल सुहाउँदो उत्पादन र प्रविधिमा जोड गर्न सकिएन भने…..? कतै हाम्रा योजना र हाम्रो जिम्मेवारी कागजमा मात्र सीमित हुने त हैनन् ?

तपाईको प्रतिक्रिया