सुकुम्वासी बस्तीमा मतदाता फकाउँदै खेमराज

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १२:१९

तस्बिरः युनिश गुरुङ

अमृत सुवेदी
पोखरा

झण्डा, ब्यानरसहितको समूहमा निधारमा अबिर, गलामा माला लगाएर नमस्कार गर्दै घरदैलो गरिरहेका व्यक्ति देख्नेबित्तिकै सबैलाई थाहा हुन्छ, उनी उम्मेदवार हुन् । ४ तारे झण्डा, रुख चुनाव चिह्नसहित आएका समूह देख्नेबित्तिकै बुझ्न गाह्रो हुँदैन, चुनावको मुखमा घरदैलोमा हिँडेको त्यो पार्टी नेपाली कांग्रेस नै हो । अग्लो कद, शीरमा ढाका टोपी, दौरा सुरुवाल र कालो स्पोट्र्स सुजमा हिँडिरहेका व्यक्तिलाई नजिकैबाट चिन्न गाह्रो छैन । उनी आफैंले भन्दै थिए, ‘नमस्कार म खेमराज पौडेल, नेपाली कांग्रेसको उम्मेदवार । म त भोट माग्न आएको हजुर । यसपटक जे भए पनि रुखमा भोट हाल्नु होला ।’

गणेशमान सिंहलाई साक्षी राखेर कांग्रेसले घरदैलो थालेको थियो । घरदैलो पोखरा बसपार्कको सुकुम्वासी बस्ती पुगेको थियो । उम्मेदवार खेमराज नमस्कार गर्दै, घरि अंगालो मार्दै त घरि हात मिलाउँदै भोट माग्दै थिए ।

सुकुम्वासी बस्तीका मतदाता चिनाउने खेमराजसँगै थिए, रामराज लामिछाने । उनी हुन्, कांग्रेसबाट विजयी वडा नम्बर ९ का वडाध्यक्ष । यो बस्ती त्यही वडामा पर्छ र लामिछाने अधिकांशलाई चिन्छन् । दल बलसहित खेमराज नमस्कार गर्दै १ महिला छेउ पुग्छन् र भन्छन्, ‘ल पहिलेको चुनावमा जेजस्तो भए पनि यसपटक मलाई जिताउनुस् । म तपाईंहरुको समस्या पूरा गर्छु ।’ महिला नमस्कार फर्काउँदै मुसुक्क हाँस्छिन् र भन्छिन्, ‘भोट त हालौंला बरु यस्तो धुलो बाटो छ, हामीलाई त सधैं यस्तो हो हजुरहरुलाई गाह्रो होला ।’ वडाध्यक्ष लामिछानेले सुकुम्वासी वस्तीको यो बाटो पिच गर्न बजेट बिनियोजन भएर प्रक्रिया अगाडि बढिसकेको बताउँछन् ।

Advertisement

रामराजको भनाइसँगै खेमराजले थप्छन्, ‘यसअघि पटक पटक चुनाव जितेर पनि बाटो पिच हुन सकेन । अब हामीले पूरा गर्छौं ।’ सुकुम्वासी बस्तीका केही घरका ढोकामा चुकुल लगाइएका छन् । केही घरमा मान्छेहरु छन् । प्राय साना पसलहरु भने खुलेका छन् । खुलेका पसल र ढाका नलगाइएका घरहरुबाट मान्छेहरुका नजर, चुनावी अभियानमा आइरहेका टोलीतिरै छ ।

खेमराजले मातादातासँग भोट माग्दै भनें, ‘सधैंभरि एउटै पार्टीलाई भोट हालेर होइन, यसपटक मलाई अवसर दिनुस् ।’ टोलका नेता भीम कुँवरले मतदातालाई विश्वासमा पार्न थप्दै थिए, ‘उहाँजत्तिको निष्ठावान र क्षमतावान व्यक्तिलाई यसपटक भोट हालिदिनुस् ।’ मतदातालाई फकाउँदै आफूले जिते अहिलेको सरकारजस्तो जनताको आवाज नै नसुनेझैं गरेर नबस्ने खेमराजले बताए । एक घरको आगनमा २ महिला र १ पुरुष थिए । खेमराजले मत माग्दै सुकुम्वासीका समस्या पूरा गर्न नेतृत्व लिने आश्वासन बाँडे ।

२ मध्ये एक महिला थिइन्, खिनकुमारी भण्डारी । भण्डारीले प्रत्येक पटक भोट माग्न आउँदा नेताले आश्वासन दिने र त्यसपछि हराउने गरेको भन्दै तितो पोखिन् । ‘३० वर्ष भयो यहाँ बस्न थालेको । तर, कतिबेला के हुने हो, ठेगान छैन । पानीको धारा जोड्न निवेदन दिएको २ वर्ष भइसक्यो । तर, जोडिँदैन । यस्तै त रहेछ ।’

खेमराजले आफू पहिलो पटक चुनाव उठेको बताउँदै हिजोका नेताले जस्तो गल्ती नदोहो¥याउने बताए । एक कार्यकर्ताले खेमराजलाई भन्दै थिए, ‘यो घर हाम्रो पार्टीका त होइनन् तर पनि जाऔं ।’ खेमराज त्यतै मोडिए र भने, ‘यसअघि यही क्षेत्रबाट चुनाव जित्नुभएका नेताको दुखद् घटनामा ज्यान गयो, हामी विक्षिप्त छौं । तर, यो चुनावमा म आएको छु । एउटै व्यक्ति र परिवारभन्दा माथि उठेर हेर्नुस् । म केही गरेर देखाउँछु ।’

मतदाताको आशीर्वाद लिँदै खेमराज अर्को घरमा पुग्दा हिजो पनि आफूले सुकुम्वासीका समस्या सुल्झाउन खोजेको तर त्यो अवसर नै नमिलेको बताए । ‘हिजो म सुकुम्वासी आयोगको अध्यक्ष हुँदा केही सेतो पूर्जा त उपलब्ध गराएकै हुँ । सबै समस्या सुल्झाउँछु भनेकै थिएँ । तर, अवधि नै सकियो ।’

पञ्चायत सुरु हुनुभन्दा अघिल्लो सालदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका खेमराज २०५५ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सुकुम्वासी आयोगको अध्यक्ष बनेका थिए । विष्णुमाया गुरुङले खेमराजलाई आशीर्वाद दिइन्, ‘ल जसरी पनि जित्नुपर्छ है त ।’

पोखरा बसपार्क र सुकुम्वासी बस्तीमा एक अर्कामा समस्या छ । सुकुम्वासी वस्तीको व्यवस्थापन नगरी बसपार्क बनाउन सकिँदैन । २०३२ सालमै बसपार्क निर्माण गर्न अधिग्रहण गरिएको जग्गामा अहिले ५ सयका हाराहारीमा सुकुम्वासीका घर बन्दा जग्गा २ सय ५ रोपनीबाट ८१ रोपनीमा खुम्चिएको छ । जग्गा अधिग्रहण र संरक्षणको जिम्मा पाएको नगर उपत्यका विकास समितिका विभिन्न अध्यक्षहरुको नाम लिँदै उनले केही प्रयास भए पनि राजनीतिक दलको उपल्लो तहबाट पहल नहुँदा समस्या यथायत रहेको बताए । बसपार्क र सुकुम्वासी क्षेत्रमा पुगेर खेमराजले आश्वासन दिलाउँदै हिँडिरहेका थिए ।

खेमराजसँगै भोग माग्न हिँड्ने कार्यकर्ताले पनि दोहो¥याइरहन्थे, ‘उहाँ पहिले आयोगको अध्यक्ष पनि हुनुहुन्थ्यो । जिल्ला सभापति पनि भइसक्नु भएको हो’

घरदैलोकै क्रममा एक जना कार्यकर्ताले भने, ‘खै त पर्चा पम्लेट केही छैन ?’ खेमराजले भने, ‘म त घरदैलोमा हिँडिरहेको छु । नेताहरुलाई भन्नुस् न ।’ आइतबारबाट सुरु भएको घरदैलो अभियान सुकुम्वासी बस्तीमा पुग्दा जिल्लाका शीर्ष नेताहरु थिएनन् । न त १६ जनामध्ये अधिकांश उम्मेदवारका आकांक्षी नै थिए ।

शिक्षण पेशावाट निवृत्त खेमराजका १ चेला बाटैमा भेटिए । ‘ल गुरु खुसी लाग्यो, चुनाव जित्नु होला शुभकामना,’ चेलाले भने । खेमराजले उत्तर फर्काए, ‘तपाईंहरुले भोट हाले न जित्ने हो ।’ यत्तिकैमा कार्यकर्ताले खेमराजप्रति सहानूभूति देखाए । भने, ‘खेमराज गुरु आज तपाईं धेरै थाक्नुभयो । अब एक ठाउँमा बसेर चिया पिऔं ।’ खेमराजले सहमति जनाए । बसपार्क टोलको सानो चिया पसलको आँगनमा कुर्चि थिए, एउटामा खेमराज बसे र वरिपरी नेता तथा कार्यकर्ता । खेमराजले आज धेरै नहिडौं अर्को पटक पनि फेरि आउनै पर्छ भनि प्रस्ताव राखे । ‘आज धेरै हिँडियो, फेरि भोली पनि हिँड्नैपर्छ,’ खेमराजले नेता कार्यकर्तालाई भने ।

खेमराजले ६० वर्ष नेपाली कांग्रेसको राजनीतिमा बिताए । ७५ वर्षमा कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा टिकट पाए । आइतबार घरदैलोमा खेमराज जोसिला देखिए । लामो नेपाली कांग्रेसको राजनीतिमा संक्रिय खेमराज अवसर नपाएका नेता मानिन्छन् । ‘मान्छे उमेरले होइन, चिन्तन, व्यवहार र सक्रियताले युवा हुने हो,’ खेमराजले मतदातालाई भन्दै थिए, ‘यसअघि जसलाई हेर्नुभयो राम्रै भयो, यसपटक मलाई हेर्नुस् ।’

घरदैलोमा खेमराजले अरु पार्टी र उम्मेदवारको नाम लिएर आलोचना गरेनन् । बरु उनले नाम नलिइकनै एउटा परिवारका व्यक्तिलाई भोट दिने नगर्न आग्रह गरे ।

३ वटा वडामा घरदैलो गरेका खेमराजले मतादातालाई फकाउँदै हर सुखदुखसँग जोडिने प्रतिवद्धता गरे । पोखरेलीको वर्षौंदेखिको पूरा हुन नसकेको सपना पोखरा बसपार्कमा उभिएर खेमराजले समाधानलाई प्रतिक्रिया दिए, ‘कम्युनिस्ट सरकारले जनताको मन जित्न गरी काम गर्न नसक्नु नै मेरो जीतको आधार हो ।’ आफूप्रति पार्टी, कार्यकर्ता, मतदाताको सद्भाव र सहानुभूति पनि रहेको खेमराजको विश्वास छ । नेकपा उम्मेदवार विद्या भट्टराईको घरदैलो सोमबारदेखि वडा नम्बर ४ बाटै हुँदैछ ।

तपाईको प्रतिक्रिया