जैसराले पाइन् ९४ वर्षमै नेपाली नागरिकता

समाधान संवाददाता, दमौली
देवघाट गाउँपालिका १ निवासी जैसरा गुरुङले ९४ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा आयोजना गरेको घुम्ती शिविरबाट गुरुङले नागरिकताको प्रमाणपत्र बनाएकी हुन् ।
घरदैलोमा पुगेर नै सेवा दिने उद्देश्यसहित प्रशासन कार्यालयले तेस्रो पटक देवघाट गाउँपालिकामा घुम्ती शिविरको आयोजना गरेको हो । शिविरबाट २ सय १२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । घुम्ती शिविरबाट ९३ पुरुष र १ सय १९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत लोकराज सुवेदीले जानकारी दिए । नागरिकता बनाउन सदरमुकाम दमौलीसम्म आउनुपर्ने बाध्यता रहेकाले सर्वसाधारणको सुविधाको लागि गाउँमा नै घुम्ती शिविरमार्फत् नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।
‘जनतालाई घरदैलोमा नै सेवा दिने प्रशासन कार्यालयको नीति छ,’ प्रजिअ पण्डितले भने, ‘सोही बमोजिम कार्यालयमार्फत् बेला–बेलामा स्थानीय तहमा नागरिकता वितरणका लागि घुम्ती शिविर गर्ने गरेका छौं ।’ देवघाट गाउँपालिकाका अध्यक्ष थापाले प्रशासन कार्यालयले स्थानीय स्तरमा नै आएर नागरिकता वितरण गरिदिँदा स्थानीयलाई राहत मिलेको बताए । प्रशासन कार्यालयले यसअघि पनि देवघाट गाउँपालिकामा २ पटक घुम्ती शिविरमार्फत् नागरिकता वितरण गरिसकेको छ । कार्यालयले गत आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, रिषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामासमेत घुम्ती शिविरको आयोजना गरेको थियो ।
तपाईको प्रतिक्रिया