मुक्तिनाथलाई व्यवस्थित गर्न २ करोड

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १३:११

एसके थकाली
जोमसोम

हिन्दु र बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रको विकासमा २ थरी बजेट विनियोजन भएको छ । चालु वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड््यन मन्त्रालयले १ करोड र राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरको बेनी जोमसोम कोरला सडक आयोजनाले १ करोड गरी २ करोड बजेट छुट्याएका छन् ।

मुक्तिनाथको रानीपौवा बजारको तल्लो गेटदेखि मन्दिर परिसरको उपल्लो गेटसम्मको करिब ३ सय मिटर उकालो जीर्ण पैदल बाटो स्तरवृद्धि गर्दै पुनः रेलिङसहितको ढुंगे सिंढी निर्माण गर्न कालिगण्डकी करिडोर सडकले बजेट विनियोजन गरेको करिडोर सडक आयोजना प्रमुख मुकुन्दराज अधिकारीले बताए । बाटो निर्माण गर्न ठेक्कासमेत लागिसकेको उनले जनाए ।

Advertisement

मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीलाई सहज बनाउन आयोजनाले बाटो निर्माण गर्न लागेको अधिकारीले उल्लेख गरे । सिंढी निर्माणका लागि खिङ्खर कन्ट्र«क्सनले जिम्मा लिएको छ । कन्ट्रक्सनले स्थानीय उपभोक्ता समितिसँग मिलेर काम गर्ने जनाएको छ ।

मुक्तिनाथ क्षेत्रको बृहत्तर विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड््यन मन्त्रालयले बहुवर्षीय आयोजना अन्तर्गत २ वर्षअघि मुक्तिनाथ विस्तृत गुरुयोजना प्रतिवेदन सार्वजनिक गरेको थियो । परियोजना अनुमोदनका क्रममा रहे पनि मन्त्रालयले गत वर्षदेखि यसको प्रारम्भिक कार्य थालेको छ । यसको जिम्मा सिएम कन्ट्रक्सनले पाएको छ । गुरुयोजनाको खाका अनुसार मन्त्रालयले मुक्तिनाथ मन्दिर परिसर फराकिलो पार्ने, त्यहाँको साबिक आनी क्वाटर संरचना हटाई ५० मिटर उत्तरतर्फ नयाँ क्वाटर निर्माण गरिनेछ ।

Advertisement

अपांगमैत्री शौचालय निर्माण, कागबेनी स्थित श्राद्ध स्थल स्तरोन्नति र श्राद्धस्थल आसपास कालिगण्डकी नदीमा रिटेनिङ वाल लगाउने लगायतका पहिलो चरणको काममा गत वर्ष १ करोड र चालु वर्ष १ करोड विनियोजन भएको इन्जिनियर सचिन्द्र यादबले जानकारी दिए । गत वर्ष ढिलो बजेट प्राप्त भएकाले ५० लाख फ्रिज भएको थियो । गुरुयोजना अन्तर्गत रिटेनिङ वाल लगाउने काम भइरहेको छ ।

मुक्तिनाथमा बर्सेनि हजारै स्वदेशी तथा विदेशी तीर्थालु आउँछन् । मुक्तिनाथको विकास, संरक्षण र व्यवस्थापनका लागि मुक्तिनाथ विकास समिति छ । समितिमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी संयोजक तथा विभिन्न प्रबुद्ध व्यक्तित्व यसका सदस्य छन् । समितिले १ जना कर्मचारी राखेर चन्दा संकलन गर्दै आएको छ । समितिको कोषमा ४ करोड बढी रकम मौज्दात छ । समितिले संकलन गरेको चन्दा मुक्तिनाथको विकासमा खर्च नभएकोप्रति सरोकारवालाले विरोधसमेत जनाइरहेका छन् ।

समितिले आफ्नै ढंगले खर्च गर्न पाउने अख्तियारी नपाएकाले रकम खर्च हुन नसकेको समितिका संयोजक वेदप्रसाद अर्यालयले बताए । उनले मुक्तिनाथको अबको विकासमा पुरातत्व विभाग र मुक्तिनाथ विकास समिति मिलेर काम गर्ने सम्झौता भएको जानकारी दिए । समितिले मुक्तिनाथ आउने भक्तजनबाट बर्सेनि ८० लाख चन्दा संकलन गर्ने गरेको छ । चन्दाबाहेक मुक्तिनाथमा चढाइएका भेटी, दान भने त्यहाँ कार्यरत आनीहरुले लिने गर्छन् । मन्दिरमा १ पुजारीसहित दर्जनभन्दा बढी आनी छन् ।

यसअघि मुक्तिनाथ बृहत्तर विकासका लागि २०७२ सालमा स्थानीय मुक्तिनाथ विकास समिति र पुरातत्व विभागले संयुक्त रुपमा मुक्तिनाथ गुरुयोजना ल्याउने जनाइएको थियो । तर यो योजना सफल हुन सकेन । करिडोर सडकले मुक्ति क्षेत्रको जीर्ण पैदल बाटो स्तरवृद्धि सुरु गरेकोमा संघीय सांसद प्रेमप्रसाद तुलाचनले सकारात्मक कदम भनेका छन् ।

३ हजार ८ सय मिटर उचाईमा रहेको मुक्तिनाथमा प्राथमिक उपचारका लागि अक्सिजनसहितको स्वास्थ्य संस्था आवश्यक छ । पैदल हिड्न नसक्ने तीर्थालुले घोडा चढेर दर्शन गर्दै आएका छन् । त्यहाँ उपचारको उचित प्रबन्ध नहुँदा तीर्थालुले लेक लागेर ज्यान पनि गुमाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया