पश्चिम सहकारीमा २ सहकारी मर्ज

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १३:३८

राकेश शर्मा
म्याग्दी

म्याग्दीको पश्चिम दरवाङ बचत तथा ऋण सहकारीमा २ सहकारी संस्था गाभिएका छन् । संस्थाको दरवाङमा भएको १२ औं वार्षिक साधारणसभाबाट मंगला गाउँपालिका २ बाबियाचौरको प्रभु बचत तथा ऋण सहकारी र अन्नपूर्ण गाउँपालिकाको शिख बहुउद्देश्यीय सहकारी गाभिएका हुन् ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट म्याग्दी जिल्लाभर कार्यक्षेत्रको अनुमति पाएको पश्चिम दरवाङले रघुगंगा गाउँपालिकामा पनि सेवा केन्द्र विस्तार गर्ने तयारी गरेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको सहकारीले धवलागिरी गाउँपालिकाको ताकम, मंगलाको बाबियाचौर, बेनी नगरपालिकाको तातोपानी र बेनी तथा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सेवा केन्द्र खोलेको छ ।

Advertisement

२ हजार ७ सय १० सेयर सदस्यको ६ करोड ३६ लाख ५९ हजार सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्ष ४३ करोड २० लाख ७५ हजार ३ सय १२ कारोबार गरेको प्रबन्धक प्रेमलाल कँडेल (सदन)ले बताए । गत वर्षको खुद नाफा १ करोड २५ लाख ४३ हजार ४ सय २४ रुपैयाँ छ । सहकारीले व्यवसायिक गाईभैसी पालन गर्ने सेयर सदस्यलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।

संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष कृष्ण आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गाभिएको प्रभु बचतका श्रीराम पौडेल सहसचिव, मोतीलाल पौडेल र भीमप्रसाद आचार्य सञ्चालक समिति सदस्य चयन भएका छन् । यसअघि ११ जनाको सञ्चालक समिति रहेकोमा अब १३ सदस्यीय बनाइएको छ । कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले धेरै सहकारी सहरबाट गाउँ पस्ने गरेकोमा पश्चिम दरवाङ गाउँबाट बजार पसेकोमा सरहना गरे । युवालाई सहज र सरल रुपमा ऋण लगानी गर्ने, बचतमा आकर्षित गराई उद्यम व्यवसाय गर्न सहयोग गरी विदेशिनुपर्ने बाध्यता कम गर्न उनले आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया