म्याग्दी र गोरखामा मोहम्मद जयन्ती

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १३:४२

समाधान संवाददाता, म्याग्दी

म्याग्दीका मुस्लिम समुदायले आइतबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाएका छन् । मोहम्मदको १४९४ औं जन्मदिनको अवसर पारेर म्याग्दी मुस्लिम सेवा समाज समितिले बेनीमा झाँकीसहितको र्‍याली आयोजना गरेको थियो । जिल्ला प्रशासन कार्यालय अगाडिको चोकबाट सुरु भएको र्‍याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, बालमन्दिर चोक हुँदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो ।

बेनी, पर्वत बेनी, दरबाङ लगायत क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदाय धार्मिक पोसाकसहित प्लेकार्ड र ब्यानर बोकेर र्‍यालीमा सहभागी भएका थिए । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअब्बल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

Advertisement

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत सरिफ वाचन गर्ने उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम सेवा समाज म्याग्दीका अध्यक्ष रहमद खानले बताए । मोहम्मदको जन्मजयन्तीको अवसर पारेर मुस्लिम सेवा समाज समितिले शनिबार बेनी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरेका थिए ।

१८ जना बिरामीलाई फलफूल वितरण गरिएको म्याग्दी मुस्लिम सेवा समाज समितिका अञ्जित खानले बताए । करिब १ सय वर्षअघि म्याग्दीमा बसाइसराइ गरेर मुस्लिम आएका थिए । करिब एक सय परिवार मुस्लिम समुदायको म्याग्दीमा बसोबास छ । उनीहरु व्यापार व्यवसाय गर्दै आएका छन् ।

Advertisement

गोरखाका मुस्लिम समुदायले पैगम्बर मोहम्मदको १४४१ औं जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । यस दिनमा मुस्लिम समुदायका सबै मानिस आ–आफ्नो बस्तीको मस्जिद वा मद्रसाहरुमा भेला भई मिलाद सरिफ पढ्ने, पैगम्बर मोहम्मदको प्रशंसा गर्ने, पवित्र धर्म ग्रन्थ कुरानको वाचन गर्ने, दुवा गर्ने, सबै मानिसलाई पैगम्बर मुहम्मदको बाटोमा हिँड्न आग्रह गर्ने, विश्व शान्तिका लागि र्‍याली गर्ने चलन रहेको मुस्लिम अगुवा महिबुब मियाँले जानकारी दिए ।

यसै सन्दर्भमा जिल्लाका विभिन्न मुस्लिम बस्तीमा शान्ति ¥यालीसमेत आयोजना गरिएको छ । विश्व शान्ति, मेलमिलाप, र मुहम्मदको प्रशंसासहित शब्दहरु लेखिएका ब्यानर, प्ले कार्डसहित गोरखा नगरपालिकाको ताप्ले, आरुघाट लगायत स्थानमा र्‍याली भएको मियाँले बताए । र्‍याली पश्चात भएको मिलाद कार्यक्रममा स्थानीय धार्मिक गुरुहरुले सम्बोधनसमेत गरेका थिए ।

यसै अवसरमा गोरखासहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा समेत मोहम्मद जयन्तीका अवसरमा कार्यक्रम भएका छन् । तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, बागलुङ, नवलपुर लगायतका जिल्लाका विभिन्न मुस्लिम बस्तीहरुमा कार्यक्रम भएका हुन् । मुहम्मद जयन्तीका दिन केही वर्षयता सरकारले दिँदै आएको विदा कटौती गरेपछि मुस्लिम समुदाय रुष्ट बनेका छन् ।

तपाईको प्रतिक्रिया