साग समयमै हुन्छः सिलवाल

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १३:४९

समाधान संवाददाता
पोखरा

दक्षिण एसियाली खेलकुद (साग) खेल मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ । प्रत्येक २ वर्षमा आयोजना हुने यो खेल यो वर्ष नेपालको जिम्मामा छ । सागका विभिन्न २७ खेल पोखरा, काठमाडौं र जनकपुरमा हुने तय छ ।

सागको इतिहासमै तेस्रोपटक आयोजक बन्ने जिम्मेवारी नेपालले पाएको हो । जति नजिक सागको समय आउँदैछ त्यति नै साग हुने÷नहुनेमा शंका पनि बढ्दैछ । भौतिक पूर्वाधार निर्माण तथा व्यवस्था अभावका कारणले साग हुने÷नहुनेबारे शंका पैदा गरेको हो । साग योजनाअनुसार काठमाडौंमा १९, पोखरामा ९ र जनकपुरमा एउटा खेल गर्ने तय छ ।

Advertisement

साग खेल हुने पोखरा रंगशाला अहिले तीब्र गतिमा पुनर्निमाण भइरहेको छ । पोखरामा हुने ९ खेलमध्ये प्याराग्लाइडिङ र महिला फुटबल प्रतियोगिताबारे भने अन्योल छ । प्याराग्लाइडिङका लागि भाग लिने राष्ट्र संख्या अपुग भएकाले खेल नहुने करिब निश्चितजस्तै छ । महिला फुटबल प्रतियोगिताका लागि मैदानको घाँस, चेन्जिङ रुम, प्लेयर्स बक्सका कामसमेत अहिलेसम्म पूरा नभइसकेकाले प्रतियोगिता नहुने सम्भावना बढेर गएको हो ।

तर, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल भने तोकिएकै समयमा साग खेल हुने कुरामा ढुक्क छन् । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पोखरामा ९ वटै खेल हुने दाबी गरेका हुन् । उनले प्याराग्लाइडिङका लागि पनि ‘प्रयास’ गरिरहेको सुनाए ।

Advertisement

‘नेपालले प्रतियोगिताका लागि नाम दर्ता गरिसकेको छ । भारतले पनि आउने वचन दिएको छ,’ सिलवालले भने, ‘प्रतियोगिता हुन ३ राष्ट्र अनिवार्य हुनुपर्ने भएकाले अन्तिम प्रयास गरिहेका छौं । अझै केही दिन कुर्नेछौं ।’ उनले स्टेडियमका लागि दुबो लगाउनमात्रै हतार भएको र बाँकी सबै काम अन्तिम चरणमा पुगिसकेको दाबी गरे ।

सिलवालले साग खेल तयारीका लागि नेपालले कुनै पनि कसर बाँकी नराखेको बताएका छन् । खेलाडीलाई स्वदेश तथा विदेशमा प्रशिक्षण दिनेदेखि विदेशी प्रशिक्षक झिकाएर भए पनि तयारी गरिरहेको उनको दाबी थियो । ‘१÷२ खेलबाहेक सबै तयारी पूरा भइसकेको छ । तपाईंहरु मंसिर १५ गते पर्खेर बस्नुस्,’ उनले भने ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलेसमेत तोकिएकै समयमा साग खेल हुने विश्वास व्यक्त गरे । उनले शनिबारसम्म अनिश्चित भएपनि आइतबारदेखि खेल हुने निश्चित भएको सुनाए । ‘पहिले साग हुन्छ कि हुँदैन भन्ने दुविधा थियो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलले रिजेक्ट गरिदिन्छ कि भन्ने डर पनि थियो,’ उनले भने, ‘काउन्सिल र सेफ दि मिसनले नै ओके गरिसकेपछि जसरी पनि सम्भव छ ।’ शनिबारमात्रै साग तयारीबारे बुझ्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोलीले रंगशालाको निरीक्षण गर्न पोखरा आएको थियो ।

श्रेष्ठले साग खेल तयारीबारे निरीक्षण गरिसकेपछि भाग लिने राष्ट्रले पोखरा खेलाडी पठाउन उत्सुक देखिएको दाबी गरे । ‘उनीहरुको देश र पोखराको मौसम फरक छ । खेलाडीलाई स्वास्थ्य समस्या नहोस् भनेर समयअगावै आफ्ना खेलाडी पोखरा पठाउने भएका छन्,’ उनले भने, ‘साग खेलबारे काठमाडौंभन्दा पोखरा नै बढी क्रियाशील पनि देखिएको छ ।’

साग खेलको १४ औं संस्करण आयोजना गर्ने जिम्मा पाकिस्तानलाई छ । पाकिस्तानले खेल आयोजना गर्न नसके श्रीलंका र माल्दिभ्सको संयुक्त पोल्टामा पर्नेछ । ‘अल्फाबेटिकल नियमानुसार पाकिस्तानको जिम्मामा हो । तर, आयोजना गरेन भने इतिहासमै पहिलो पल्ट २ राष्ट्रले संयुक्त रुपमा जिम्मेवारी पाउनेछन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया