विद्यामा रवीन्द्र देख्ने मतदाता

समाधान संवाददाता २०७६ कार्तिक २६ गते १२:१६

अमृत सुवेदी
पोखरा

पहिलोपटक संसदीय चुनाव उठेकी विद्या भट्टराई देखिएकी थिइन्, अनुभवीजस्तै । हात हल्लाउँदै, घरि अंकमाल गर्दै त घरि हात मिलाउँदै घरदैलो सुरु हुनै लाग्दा भीड जम्मा भइसकेको थियो । हँसिलो अनुहार, शालिन बोली र मान्छेपिच्छे, ‘सञ्चै हुनुहुन्छ ? सब ठिक छ नि ?’ भन्दै अगाडि बढ्दै थिइन् विद्या ।

मुस्कुराहठसहित हात हल्लाउँदै अगाडि बढेकी विद्यामा कसैले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अनुहार देखे । नजिकै खासखुस सुनियो, ‘विद्यालाई त गहिरिएर हेर्दा रवीन्द्र जस्तै देखिँदो रहेछ । शैली पनि त्यस्तै ।’

Advertisement

मध्यम कद । फूलबुट्टे सारीमाथि गाडा निलो कोट । गलामा मालामा हँसिलो चेहेरा । सोमबार बिहान ८ बज्नै लाग्दा घरदैलोमा हाजिर भएकी थिइन्, उम्मेदवार विद्या भट्टराई अधिकारी ।

गणेश टोलमा छ, नेकपाको निर्वाचन परिचालन वडा कार्यालय । कार्यालयमा बिहान साडे ७ बजे नै भेला भइसकेका थिए, नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता । त्यही कार्यालयमा जम्मा भएर पोखराको वडा नम्बर ४ मा पहिले नै तय थियो, नेकपाको घरदैलो कार्यक्रम ।

Advertisement

विद्याले सोधिन्, ‘आज कहाँबाट सुरु गर्ने हो घरदैलो ?’ उनीसँगै थिइन्, प्रदेश सभा सांसद प्रभा कोइराला, नेकपाबाट वडाध्यक्षका प्रत्यासी कृष्ण पराजुली, व्यवसायी सञ्जीवबहादुर कोइराला लगायत । उनीहरुले सुझाए अनुसार विद्या अगाडि बढिन् । पुरानोशैलीको घरको ढोका बुढी आमानेर पुगेर विद्याले भनिन्, ‘आमा म विद्या भट्टराई । सूर्यमा भोट हाल्नुस् । तपाईंहरुकै छोरी सम्झेर आशीर्वाद दिनुस् ।’

बुढी आमाले विद्याले गाला मुसारिन् । मुस्कुराइन् र भनिन्, ‘सफल हुनु मेरो आशीर्वाद छ ।’ सँगै रहेकी प्रभाले थपिन्, ‘बुढाबुढीलाई भत्ता दिलाउने पार्टी हो ।’

गणेशटोलकै अर्की आमा आइपुगिन् र विद्यालाई अंगालो मारिन् । उनले रवीन्द्रको सम्झना गर्दै भनिन्, ‘भाइ साह्रै असल थियो, बित्यो । अब बहिनीले जित्नुपर्छ । मैले त भोट हाल्न पाउँदिनँ । मैले भोट हाल्ने रसिद स्याङ्जातिर छ । म यहाँ छोराबुहारीलाई भन्छु ।’ ती आमा रहिछन्, भद्रीमाया श्रेष्ठ ।

पोखरा–४ नेपाली कांग्रेसको बाहुल्य भएको वडा मानिन्छ । यो वडामा स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले जितेको छ । यही वडाबाट आइतबार कांग्रेसले घरदैलो अभियान थालेको थियो । सोमबार घरदैलोमा त्यही वडा पुगेर विद्याले भोट मागिन् ।

विद्याले न विपक्षीको नाम लिइन्, न कुनै आलोचना वा न कुनै पार्टीलाई नै गाली गरिन् । उनले आफू दृढ संकल्पका साथ, हिजोको राजनीतिक पृष्ठभूमि र संघर्षलाई टेकेर जनताको प्रतिनिधि बन्न उम्मेदवार भएको बताइन् ।

‘मलाई रवीन्द्र अधिकारीको पत्नीका नजरले मात्र पक्कै हेर्नुहुने छैन, राजनीतिक आन्दोलनमा होमिएँ । महिला आन्दोलनमा अगुवाइ गरें, संघर्ष गरें । समाजलाई नजिकबाट चिनेकी बुझेकी छु । अधिकारको लडाइँ लडेरै यहाँसम्म आइपुगेकी चेली हुँ,’ मतदातासँग विद्याले भनिन् ।

रवीन्द्रसँग विवाह भएकै कारण र केही समय अनुभवको क्षेत्र बदलेकै कारण गलत नजरले मतदाताले हेर्नुहुन्न भन्ने आफू ढुक्क रहेको उनको भनाइ थियो । ‘जनताले नै ५ वर्षका लागि जनमत दिएर पठाउनुभयो । तर, रवीन्द्रजीको दुर्घटनामा ज्यान गयो । पार्टीले मेरो योगदानलाई कदर गर्दै उम्मेदवार बनाएको छ,’ उनले भनिन्, ‘म शोकलाई शक्तिमा बदलेर जनताको अधिकारको पक्षमा लड्ने साहस बटुलेर घरदैलोमा आएकी छु ।’

घरदैलोकै क्रममा विद्या गणेश टोलकै एक घरमा पुगिन् । एक युवती घरबाहिर निस्केर हात मिलाइन् र विद्याको उम्मेदवारीमा खुसी साटिन् । विद्याले चुनावी पर्चा दिँदै भनिन्, ‘एजेन्डा पढ्नू र भोट हाल्नू ।’ युवती रहिछन्, डा. सञ्जीता पालिखे । उनले शुभकामना दिइन् र यो कुरा (माङ) आमालाई पनि भन्ने बताइन् ।

घरदैलो गर्न पुगेको समूह अर्को घरमा पुग्यो, ढोकैनेर थिए कृष्णहरि पालिखे । उनले विद्याले जित्ने विश्वास व्यक्त गरे । ‘घटना घट्यो र रवीन्द्र बिते । नत्र उनी धेरै राम्रा थिए । यिनले पनि धेरै मतले जित्छिन् होला,’ पालिखेले भने, ‘तर, भोट हाल्ने जनतामा कहिल्यै अन्याय नहोस् ।’

विद्याले जनताका सुखदुखमा सँगै हुन र अधिकारका निम्ति लड्न कहिल्यै नचुक्ने बाचा गरिन् । भोट माग्न पुगेकी विद्या एउटा गल्लीभित्र छिरिन् । जसमध्ये गएको एक घरमा आँगनमा वैशाखी छेउमा राखेर कुर्चीमा बसेका थिए, एक ज्येष्ठ नागरिक । सूर्य चिह्न, र हासिहथौडाको झण्डा बोकेका केही नेता कार्यकर्तासँगै पुगेकी विद्याले पर्चा दिइन् र भोट मागिन् । उनले कम्युनिस्ट भएर कहिल्यै आफ्नै सुखसयल र ऐस आराममा रमाउन नहुने भन्दै पुष्पलाललाई सम्झे । मकै भटमास खाएर कम्युनिस्ट पार्टी बनाएको उनले विद्यालाई सम्झाए । उनी रहेछन्, केदार बजिमय । ८६ वर्षीय केदारले पुष्पलालसँग संगत गर्ने मौका पाएको र कम्युनिस्ट कसरी बन्ने भन्ने उनीबाट सिक्नुपर्ने विद्यालाई सुझाए । विद्याले आशीर्वाद लिँर्दै भनिन्, ‘तपाईंहरुजस्तो आग्रहहरुले भनेको शिरोपर गर्दै कम्युनिस्टहरुको विचार, सिद्धान्त र व्यवहारलाई सधैं मनमा लिएर अघि बढ्ने छु ।’ केदारले शुभकामना दिँदै भने, ‘तिमीहरुको जीत पक्का छ । दुख गर्नुपर्छ । कम्युनिस्ट चरित्र कहिल्यै बिर्सन हुँदैन ।’

त्यहाँबाट निस्कँदा एक जना बटुवा भेटिए । चुनावी प्रचार टोलीबाट पर्चा पाएपछि उनले चुनावमा धेरै आश्वास बाँढ्नुभन्दा नेताले काम गरेर देखाउनुपर्ने बताए । उनले भने, ‘भोट माग्ने बेलामा यस्तो, उस्तो भन्यो काम हुने होइन । भाषण होइन, काम गरेर देखाउनुस् ।’

विद्याले मुस्कुराउँदै जवाफ दिइन्, ‘पहिलो पटक उम्मेदवार बनेकी हुँ । काम गर्ने अवसर दिनुहोस् । म प्रश्न गर्ने ठाउँ राख्ने छैन ।’

गणेश टोलदेखि अलिमाथि लागेपछि आइपुग्छ गणेशमान चोक । चोकमा लौहपुरुष गणेशमान सिंहको शालिक छ । विद्याले गणेशमानको शालिकमा माल्र्यापण गर्दै उनको स्मरणमात्रै गरिनन्, स्वच्छ राजनीति र समाजवादको बाटोमा देशलाई हिँडाउने बाचा पनि गरिन् ।

यही गणेशमानको शालिकमा माल्यार्पण गरेर आइतबार नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले घरदैलो अभियानको सुरुवात गरेका थिए । विद्याले देश र जनताका निम्ति असल काम गर्ने नेताबाट सबैले पाठ सिक्नुपर्ने बताइन् । ‘देशका निम्ति काम गर्ने नेतालाई सबैले गर्व गर्नुपर्छ । मैले गणेशमान सिंहबाट पनि आशीर्वाद लिएकी छु,’ विद्याको भनाइ थियो ।

चुनावी घरदैलोमा न त विद्याले कसैसँग तितो पोखिन् न उनीप्रति कसैले वैरभाव नै देखाए । म विद्या भन्दै भोट माग्दा कसैले भने मैले चिन्छु विद्या भण्डारी होइन र पनि भने । कांग्रेसका कार्यकर्तासामु पनि उनले निहुरिएर आशीर्वाद र शुभकामना लिइन् । वडा नम्बर ४ का कांग्रेस अध्यक्ष गोविन्द पराजुलीसँग विद्याको बाटैमा भेट भयो । विद्याले भनिन्, ‘भोट दिन नसके आशीर्वाद दिनुस् ।’

गोविन्दले उत्तर फर्काए, ‘भोटै दिन त नसकौंला तर शुभकामना छ ।’ वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलासँग पनि विद्या शुभकामना माग्न पुगिन् । विद्या कुन पार्टी र कसका कार्यकर्ता हुन् भन्ने नहेरी सबैसँग विनम्र भएर भोट मागिरहेकी थिइन् ।

बिहान ८ बजेदेखि १२ बजेसम्म निरन्तर घरदैलोमा हिँडेपछि उनको खाना खाने समय भयो । त्यही उनले केही सुखदुख पनि साटिन् । ‘पहिलोपटक चुनावमा होमिएकी हुँ । तर, मतदातासँग एकदम परिचितजस्तो लागिरहेको छ । तपाईंले जसरी पनि जित्नैपर्छ भनिरहनुभएको छ,’ उनले समाधानसँग भनिन् ।

हिजो स्वर्गीय रवीन्द्र र नेकपाले पूरा गर्न बाँकी प्रतिवद्धता, हिजो दिएको वचन, गरेका घोषणा पूरा गर्ने प्रतिवद्धताका साथ चुनावमा होमिएको विद्याले खुलाइन् ।

उनले कार्यक्रमहरुमा पटकपटक भन्दै आइरहेकी थिइन्, ममाथि प्रश्न उठिरहेका छन् । मत माग्न जाने क्रममा चाहिँ कस्ता प्रश्न आए त ? ‘प्रतिस्पर्धामा आउँदा स्वाभाविक प्रश्न उठ्दो रहेछ । हिजो विद्या राजनीतिमा थिइनन् । आज एक्कासि टिपेर ल्याइयो भनिएको छ । संवेदनाको मन लिनमात्रै ल्याइयो भनिरहेका छन्,’ उनले भनिन्, ‘नेकपाको सरकारले काम गर्न सकेन भन्ने अर्को प्रश्न पनि उठिरहेका छन् । सरकारको जनमत संग्रह पनि भनिराखिएको छ । यी कुरालाई मैले घरदैलामा प्रस्टाइरहेकी छु ।’

सहानुभूतिको मत त नेकपाले लिनै खोजेको होइन र ? यसमा विद्याले फरक ढंगले प्रस्टाइन् । रवीन्द्र अधिकारीसँग जनताको हार्दिकतापूर्ण सम्बन्धका कारण आफूमाथि मान्छेले सहानुभूति राख्न पाउने विषयलाई गलत रुपले बुझ्न नहुने उनको भनाइ थियो । ‘रवीन्द्रको जनतासँग हार्दिक सम्बन्धका कारण ममाथि कसैले माया, सद्भाव र सहानुभूति राख्न त पाइउँ होला नि ?’ उनको प्रश्न छ ।

राजनीतिदेखि टाढा रहेर एक्कासि आएको भन्ने प्रश्नलाई उनले फरक भूमिका निर्वाह गरेको बताउँछिन् । ‘राजनीतिदेखि टाढा थिइन्, केबल भूमिका फरक थियो । पछि मैले राजनीतिक चेतको विकास गरें । र फेरि राजनीतिक आन्दोलनमा होमिएकी छु,’ उनले थपिन् ।

निर्वाचित भएर संसदमा पुगेपछि प्रदेश र संघसँग समन्वय गरेर काम गर्ने विद्याको भनाइ छ । देशका गौरवका आयोजनाहरुलाई समयमै सक्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने विद्याको प्रतिबद्धता छ । ‘महिला प्रतिनिधि पनि हुँ । महिलामाथिका अन्याय र विभेदका विरुद्ध लड्दै महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेल्छु,’ उनले योजना सुनाइन् । विद्याले रवीन्द्रको जन्मगाउँ भरतपोखरीबाट चुनावी प्रचार अभियान थालेकी थिइन् ।

तपाईको प्रतिक्रिया