स्कुल मुस्ताङमा, पढाइ पोखरामा

समाधान संवाददाता २०७६ कार्तिक २६ गते १३:१३

एसके थकाली
जोमसोम

उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्था जाडो बढेसँगै घुम्ती कक्षा सञ्चालन गर्न बेंसी झरेका छन् । हिमाली उच्च भूगोलमा अवस्थित उपल्लो मुस्ताङका सामुदायिक तथा गुम्बा स्कुल बेंसी झर्न बाध्य भएका हुन् ।

लोमान्थाङ गाउँपालिकामा १० वटा सामुदायिक स्कुल र ४ वटा गुम्बा छन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मुस्ताङका अनुसार लोमन्थाङ गाउँपालिकाका सबै कात्तिक १३ गते बेंसी झरेका हुन् । लोमान्थाङबाट झरेका स्कुलले २ समूह बनाएर विद्यार्थी अस्थायी मर्ज गरी घुम्ती कक्षा व्यवस्थापन गरेका छन् ।

Advertisement

दिव्यदीप मावि छोसेर, बालकल्याण आवि न्यानोल र सम्जुङ आवि सम्जुङ गरी ३ वटा स्कुलले कात्तिक १४ गतेबाट संयुक्त घुम्ती कक्षा सुरु गर्न पोखरा झरेका छन् ।

दिव्यज्ञान आवि चुम्जुङ, सरस्वती न्याम्डो, भृकुटी किम्लिङ, वीरेन्द्र ठिङ्गर, जनप्रभात फुवा र बुद्ध आवि न्याङडोल गरी ६ वटा स्कुलले विद्यार्थी अस्थायी मर्ज गरी पोखराको हेमजामा घुम्ती कक्षा सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए । उनका अनुसार लोमन्थाङबाट झरेका २ घुम्ती समूहले हिउँदे कक्षा सञ्चालन गर्न पोखरामा भवनसमेत बनाएका छन् ।

Advertisement

लोमन्थाङ पालिकामा रहेका मञ्जुश्री गुम्बा, निफुक नाम्डोल गुम्बा, पाल नाम्ग्याल गुम्बा र महाकरुणा शाक्यापा गुम्बा गरी ४ वटा गुम्बा स्कुल पनि घुम्तीका लागि बेंसी झरेको बरालले बताए ।

उपल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८ सामुदायिक स्कुलमध्ये ६ वटा स्कुल घुम्तीमा झरेका छन् । चराङ आवि चराङ, मराङ आवि मराङ, ढाक्मर आवि ढाक्मर, शालिग्राम आवि ताङ्ग्या, यारा आवि यारा र घारा आवि घारा गरी ६ वटा स्कुलका विद्यार्थी एकै ठाउँमा अस्थायी मर्ज गरी घुम्ती कक्षा सञ्चालन गर्न बेंसी झरेका हुन् । संयुक्त घुम्ती कक्षा सुरु गर्न कात्तिक १३ गते ६ वटा स्कुल बेंसी झरेका हुन् भने जनज्योति आवि घिलिङ र घमी आवि घमी भने मंसिर १२ गते बेंसी झर्ने घमी आवि घमीका प्रअ अमन धितालले बताए । घमी र घिलिङका २ स्कुलले जारी शैक्षिक सत्र सकेर बेंसी झर्ने बताएका छन् । लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट झरेका सामुदायिक स्कुलले जिल्लाकै समय तालिका अनुसार जारी शैक्षिक सत्रको परीक्षा सञ्चालन गर्ने जनाइएको छ । घुम्तीमा रहेका सबै स्कुलले पुस १ गते नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने जनाएका छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जननर्मल आवि छुसाङ र मुक्तिनाथ आवि पनि घुम्तीमा झरेको समन्वय इकाइले जनाएको छ । मुस्ताङको घुम्ती कक्षा सञ्चालन गर्ने विद्यालयलाई स्थानीय तहले समेत आवश्यक रकम छुट्याउने गरेको छ । नेपाल सरकारबाट स्वीकृति प्राप्त गुम्बा स्कुललाई सरकारले अनुदानबापत बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ । यी गुम्बा स्कुललाई पाठ्यपुस्तक खरिद तथा शिक्षक व्यवस्थापन गराउन सरकारले रकम उपलब्ध गराएको हो । जिल्लाका ८ गुम्बा स्कुलले सरकारी मान्यता प्राप्त गरेका छन् । यी स्कुलले सरकारले निर्धारण गरेको ५ वटा पाठ्यक्रम समावेश गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

मुस्ताङमा ५४ वटा सामुदायिक स्कुल छन् । जसमा हिउँदयामको जाडो छल्न उपल्लो मुस्ताङका शैक्षिक संस्था बेंसी झरे पनि बाँकी विद्यालय पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छ । थासाङ र घरपझोङ र वारागुङ गाउँपालिकाका विद्यालयलाई हिउँदे बिदा दिने गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया