काठको खोरमा पर्‍यो नरभक्षी चितुवा

समाधान संवाददाता २०७६ कार्तिक २७ गते १२:०७

कृष्ण न्यौपाने
दमौली

तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जंगलमा राखिएको काठको खोरमा मंगलबार बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा चितुवा परेको हो ।

चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञ सहितको टोली खटिएको १ हप्तामै एउटा चितुवा खोर परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । ‘पोथी चितुवा खोरमा परेको छ, त्यसलाई चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको छ,’ बरालले भने ।

Advertisement

भानु नगरपालिका–१, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका छन् । असोज १६ र कात्तिक ११ गते पनि काठको खोरमा परेर चितुवा परेका थिए । काठको खोरमा परेर २ चितुवा अन्यत्र लगिए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन ।

डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि ९ वटा खोर निर्माण जंगलमा राखिएको छ । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका ६ जनाको विज्ञ टोली पनि भानुमा परिचालित छ ।

Advertisement

कोषका विज्ञ डा. नरेश सुवेदीले भानुका जंगलमा भएका चितुवा नियन्त्रणका लागि एसियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि प्रयोग गरिनेछ । पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवा आक्रमणको बढी समस्या छ । सुवेदीका अनुसार बुढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जंगलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ ।

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया