थानीमाईमा २२७ फूलको डोली भित्रिए

समाधान संवाददाता २०७६ कार्तिक २७ गते १३:२३

कृष्ण न्यौपाने
दमौली

जिल्लाको भानु नगरपालिका ७ स्थित थानीमाई मन्दिरमा २ सय २७ फूलको डोली चढाइएको छ । कात्तिकको प्रत्येक हप्ताको ३ वटा मंगलबार मन्दिरमा २ सय २७ फूलको डोली चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मंगलबार मात्रै मन्दिरमा ९१ वटा फूलको डोली भित्रिएको व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । थापाका अनुसार १० हजार ८ सय ९० भक्तजनले मन्दिरको दर्शन गरेका छन् । थापाका अनुसार सोमबार राति १ हजार १ सय ५१ जना भक्तजनले मन्दिरमा बत्ती बालेका थिए । कात्तिकको अन्तिम मंगलबार मन्दिरमा दर्शन गर्न र फूलको डोली लिएर आउने भक्तजनको संख्या अत्याधिक रहेको थापाले बताए ।

२५ हजार ३ सय २० भक्तजनले कात्तिक महिनाको मंगलबार मात्रै मन्दिरको दर्शन गरेको समितिले जनाएको छ । कात्तिकको तेस्रो हप्ता भने भाईटीका परेको कारण मन्दिरमा फूलको डोली चढाउन भक्तजन आएका थिएनन् । थापाका अनुसार कात्तिकको ५ गते ६५, १२ गते ७१ फूलको डोली भित्रिएको थियो भने कात्तिकको ५ गते ५ हजार ८ सय ५० र १२ गते ८ हजार ५ सय ८० भक्तजनले मन्दिरको दर्शन गरेका थिए । कात्तिकको प्रत्येक मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । कात्तिकको मंगलबार मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको स्थानीय आशा थापाले बताइन् ।

Advertisement

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मंसिर र माघमासमेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौंबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त १४ लाख र मन्दिरको भेटीबाट संकलित ६ लाख गरी २० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको थियो । विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि १ रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया