पोखरामा तिजीको झल्को

समाधान संवाददाता २०७६ कार्तिक २७ गते १४:२७

समाधान संवाददाता
पोखरा

उपल्लो मुस्ताङको लोमन्थाङमा मनाइने सांस्कृतिक पर्व तिजीकोे झल्को दिने गरी पोखरामा लामा नृत्य प्रस्तुत गरिएको छ । बौद्ध मार्गीको फुदो बज्रकिलाया पूजाको अवसरमा पोखराको याम्दीस्थित पेमा छाल शाक्य गुम्बामा नृत्य प्रस्तुत गरिएको हो ।

हिमाल पारिको जिल्ला मुस्ताङको लोमन्थाङमा तिजीमा प्रस्तुत गरिने लामा नृत्य यसपटक शाक्य गुम्बामा प्रदर्शन गरिएको हो । तिजीभन्दा फरक शैलीको पूजा भए तापनि पूजामा आयोजना गरिएको लामा मास्क नृत्यले तिजीको झल्को दिएको हो ।

Advertisement

गुम्बाले यस अघिका वर्षमा ११ दिन पूजा गर्ने गरेका भए पनि यस वर्षदेखि पूजासँगै लामाको सामूहिक मास्क नृत्यको आयाजना गरिएको गुम्बाका लामा गुरु टासी आंगेल लामाले बताए । पूजामा सुरुको दिन साजोक गरी मण्डला निर्माण गरी देवी देवताको मुकुट बनाई पुजा गरिने र अन्तिम दिन त्यही मण्डलामा रहेको आकृतिको मुकुट निर्माण गरी लामाले लगाएर सामूहिक नृत्य गरी त्यसलाई समापन गरिएको लामाको भनाइ छ ।

मेला महोत्सवमा तिजी भए तापनि शाक्य सम्प्रदायको बज्रकिलाया मण्डला पूजा अन्तर्गतको मुकुट डान्स भएको र यसले उपल्लो मुस्ताङमा पुग्न नसक्ने पोखरेलीका लागि त्यहाँको सांस्कृतिक नृत्य हेर्ने अवसर प्रदान गरेको प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले बताए । आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै सांस्कृतिक पर्यटकलाई याम्दी गुम्बाबाटै मुस्ताङको संस्कृतिको जानकारी दिन यस्ता कार्यक्रम निरन्तरता दिने गुम्बाका सल्लाहकार तथा प्रदेश सांसद विष्टले बताए ।

Advertisement

तिजी तेन्जी पर्वमा लोमन्थाङ आसपासको समुदायले एकै ठाउँमा भेला भएर सामूहिक रुपमा मनाउने गरेको र बज्रकिलाया मण्डला पूजा शाक्य समुदायका बौद्ध धर्म मान्नेहरुले मनाउने गरेको विष्टको भनाइ छ । जमीनको पूजा साजोक गरेर मण्डलामा विभिन्न ५५ वटा देवताको पूजा गरी ५५ वटा विभिन्न जनावर, चरा तथा देवी देवताको मुकुट निर्माण गरी लामाले नाच देखाइएका हुन् । यो नाच तथा पूजामा सहभागी भए ग्रह शान्ति हुने धार्मिक विश्वास छ ।

तपाईको प्रतिक्रिया