विद्यालयकी प्रधानाध्यापकमाथि खुकुरी प्रहार

समाधान संवाददाता २०७६ कार्तिक २८ गते १२:५७

समाधान संवाददाता, बेनी

मालिका गाउँपालिका २ रुम गाउँको जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुन खुकुरी प्रहारबाट घाइते भएकी छिन् । स्थानीय युवा रमेश पुनले बुधबार प्रअमाथि खुकुरी हानेका थिए । सिकिस्त प्रअ पुनलाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा ल्याइएको छ ।

बाटोमा हिँडिरहेकै अवस्थामा प्रअ पुनमाथि एक्कासि खुकुरी प्रहार भएको जिल्ला प्रहरी म्याग्दीले जनाएको छ । प्रअ बेहोस भएकी थिइन् । मालिका गाउँपालिकाको समन्वयमा हेलिकोप्टरमार्फत प्रअ पुनलाई पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भीर चोट लागेको जानकारी दिए । ‘देब्रे हातका दुइटा औंलासमेत खुकुरी प्रहारबाट चुँडिएको छ,’ घाइते भेटेकाहरुले भनेका छन् । खुकुरी प्रहार गरेका रमेश पुन फरार भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया