नारायणीमा यही महिनाबाट पानीजहाज

समाधान संवाददाता
चितवन
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षण यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
भरतपुर महानगरपालिका १६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माण भइरहेको छ । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुजको बाहिरी भागमा सिसा राख्नमात्र बाँकी छ । इन्जिन जडान भइसकेको छ । भित्री भागमा कुर्सी, टेबल, भान्छा, बार बन्ने क्रममा छन् ।
शौचालय लगायतका अन्य निर्माणका काम पनि सकिएको छ । विदेशी प्राविधिक टोली आउँदै गरेको भन्दै उनले यही महिनाको अन्त्यसम्ममा परीक्षण यात्रा गरी नोभेम्बरभित्र व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । क्रुज उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई निमन्त्रणा गरिने उनले बताए ।
प्रबन्ध निर्देशक कँडेलका अनुसार, क्रुजको भुइँ तलामा ९० र पहिलो तलामा १ सय जना बस्न मिल्ने सिट रहनेछन् । पहिलो तलाको अगाडिपट्टि र दोस्रो तलाको खुला ठाउँमा १५ जना उभिन मिल्नेछ भने पहिलो तलामा १० विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १ सय फिट लम्बाइ र २५ फिट चौडा हुनेछ ।
क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेले ब्रेकफास्ट क्रुजको मज्जा लिनेछन् । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताए । प्रत्येक क्रुजिङ करीब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको हुनेछ ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताए । क्रुजसीपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन् । दीर्घकालीन रूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने कँडेलले बताए ।
क्रुज जलप्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनपश्चात नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेसनलले गरिरहेको छ । क्रुजमा २ इन्जिन रहनेछन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ ।
क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिंगे गैँडाको टाउकोको आकृति हुनेछ । क्रुज निर्माणका लागि १५ करोड हाराहारी खर्च हुनेछ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया