खेमराज गुरु, गिरिजाबाबु र गेस्ट हाउस

समाधान संवाददाता २०७६ कार्तिक २८ गते १५:३८

योगराज लामिछाने

विभाजित कांग्रेस अनि अविभाज्य कांग्रेसी
कांग्रेस विभाजित थियो । विभाजितमध्ये एउटा कांग्रेस कास्कीको सभापति खेमराज पौडेल गुरु हुनुहुन्थ्यो । पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणको क्रममा अर्को कांग्रेसको केन्द्रीय सभापति गिरिजाप्रसाद कोइराला पोखरा आउनुभएको थियो । उहाँको बास राष्ट्र बैंक गेस्ट हाउस, पोखरामा थियो । गिरिजाबाबु बसेको कोठामा जय नेपाल भन्दै गुरु आकस्मिक रुपमा प्रवेश गर्नुभयो । कार्यकर्ताले खचाखच कोठामा गुरुका लागि ठाउँ छोडन प्रतिस्पर्धा नै भयो । ‘खेमराज जी आराम हुनुहुन्छ?’ गिरिजा बाबुले सोध्नुभयो । गुरुको सहज उत्तर थियो, ‘म त आराम छु, तर कांग्रेस बिरामी छ ।’ गुरुले थप्नुभयो, ‘गिरिजा बाबु म त कास्कीमा सभापति भएको छु नि ।’ ‘ठिक छ, मलाई थाहा छ,’ गिरिजा बाबुले भन्नुभयो । पार्टी हाम्रा कारणले फुटेको होइन, तर दुख कार्यकर्ताले पाएका छौं, पार्टी चाँडैं मिल्नु प¥यो, यत्ति भन्न आएको हुँ, यो दायित्व तपाइँसँग छ । तपाइँले मात्र सक्नुहुन्छ’ भन्दै गुरु बाहिरिने तरखरमा लाग्नुभयो । गिरिजा बाबुले चिया पिएर जान भनेपछि गुरु रोकिनु भयो । अनि चिया पनि पिउनु भयो । ‘मेरो कुरा त्यति थियो गिरिजा बाबु, जय नेपाल’ भन्दै गुरु कोठाबाट बाहिरिनुभयो ।

उहाँ गएपछि कोठामा केहीबेर सन्नाटा छायो । क्रमशः अवस्था फेरि समान्य नै भयो । आज पनि मलाई लागिरहन्छ, प्रजातन्त्र स्थापनामा उहाँको भूमिका त थियो नै, तर पार्टी एकता मार्फत्मजबुत कांग्रेसको नेतृत्वमा बामपन्थी–गैर बामपन्थी सबै मिली लोकतन्त्र स्थापनामा पनि गुरुको भूमिका लोभलाग्दो छ ।

बन्दीगृह अनि सर्वदलीय अभिभावक
पद बिरलै दावा गर्ने र फेरि नमिल्ने सिलसिला पनि उहाँको जीवनमा लामै चल्यो । त्यसकै आवेगमा घरै थन्किने अथवा कार्यकर्ता नेता÷कार्यकर्तासँग रन्किने÷ पड्किने कहिल्यै गर्नु भएन उहाँले ।पार्टीको आन्तरिक निर्वाचनमा जय÷पराजय जे हुँदा पनि पार्टीका जिल्लास्तरीय कार्यक्रममा उहाँ मञ्चमा नभएको मलाई याद छैन । बहुसंख्यक कार्यक्रमको नियमित वक्ता गुरुका अभिव्यक्तिमा आशक्ति, आक्रोश र षडयन्त्र होइन आदर्श, निरन्तरता र संघर्ष सन्देश मिल्थ्यो । सादा जीवन, उच्च कद र उच्च विचारका लागि परिचित गुरुलाई नयाँ÷पुराना कार्यकर्ताहरु कांग्रेस हुनुको मापदण्डका रूपमा अथ्र्याउथे । यी सबै सूचना देख्ने÷ सुन्नेका लगि प्रेरणा बन्थे ।

प्रतिगमन विरुद्धको आन्दोलनका क्रममा पोखरामा केही महिनासँगै बन्दी जीवन विताउदा गुरुसँग आत्मीयता बढ्यो । बन्दीगृहमा सर्वदलीय आभिभावक बनेर बसेका गुरुले पञ्चायतकलीन प्रतिवन्धित अवस्थाको आफ्नो जोखिमपूर्ण राजनीतिक यात्राका कठिन र सनसनी घटनाक्रम सुनाउँदा गुरुप्रति श्रद्धा थपियो । कांग्रेस पार्टी विभाजित तर मन अविभाजित कालमा २ नेपाल विधार्थी संघ मिलेर पृथ्वीनारायण बहुमुखी क्याम्पसमा मेरो नेतृत्वमा विपक्षसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने एकातिरको कांग्रेसका नेताको रूपमा गुरु र सोभियतबहादुर अधिकारीलाई सम्झन्छु ।

उमेरको प्रश्न अनि संघर्ष क्रियाशीलता र अनुभव
समाज र जनआवस्यकता पलपल परिवर्तन भइरहेकै कालखण्डमा उमेरले ७ दसक पारगरेको उमेदवारले सामाजिक÷आर्थिक विकासमा के योगदान दिन सक्ला भनी पूर्वाग्रह नराखी जानकारी मगियो भने त्यस्तो प्रश्न नाजायज पनि हुँदैन ।स्वाभाविक हुन्छ ।

आफूले राम्रो तयारी गरेको अप्ठ्यारो प्रश्नको उत्तर आन्तिम परीक्षामा शिक्षकले सोधिदिँदा, विद्यार्थी खुसीमात्र हुँदैन, दँग पर्छ । किनकि, उत्तर उसको लगि सरल छ । सटिक छ । उत्तर प्रष्ट र वैज्ञानिक भएका त्यस्ता प्रश्नलाई हार्दिकतापूर्वक लिँदै आकर्षक अनि वास्तविक जवाफ दिने नेपाली कांग्रेसका कार्यकर्तारुपीविद्यार्थीलाई मौका मिलेको छ । निर्धारित समयमै उत्तर दिएर सदुपयोग गर्नुपर्छ ।

आजका यी पाका अनि अनुभवी उमेदवारले साढे २ दसक देश÷विदेशमा अध्ययन र विद्यार्थी राजनीति मार्फत प्रजातन्त्र पुनस्र्थापनाको संघर्षमा बिताए ।त्यस पछिका२५वर्ष, कतिपय सन्दर्भमा राजनीतिमा सामान्य हैसियत बनाएर, त्यसैलाई हतियर बनाएर अरुलाई धम्क्याउने÷ तर्साउने आहिलेको जस्तो चञ्चल÷ चुलबुल खुल्ला होइन, राजनीति संलग्नताको सूचना सत्तालाई हुँदा जिन्दगीनै धरापमा पर्नसक्ने परिस्थितिमा भूमिगत र अर्धभूमिगत अनि बन्दी र खुल्ला राजनीति मार्फत सामाजिक एवं आर्थिक भेदभाव विरुद्धको क्रियाशीलतामा बिते । योग्य शैक्षिक जनशक्ति भेटिन मुस्किल तत्कालीन परिवेशमा त्यसैमध्येको करिब २ दसक राजनीतिक क्रियाशीलता सहितको असल गुरु बनी शिक्षणमा बित्यो ।

प्रजातन्त्र पुनस्र्थापना पछिका साढे २ दशक कस्केली जनतासँगै सामाजिक÷ राजनीतिक गतिविधिमा एकसाथ उकाली÷ओराली गर्दै आजसम्म आइपुगेको प्रमाण युवापुस्ताका कांग्रेसजनसँग मात्र होइन, कास्कीमा क्रियाशील सबै पार्टीका बहुसंख्यक नेता÷कार्यकर्तासँग पनि छ । प्रमाण पार्टीसँग त छँदैछ । प्रमाणपत्र उम्मेदवारी दिएको छ, केन्द्रले । पूर्णकालीन ढंगले सामाजिक, राजनीतिक गतिविधिमा निरन्तर संघर्षरत प्राज्ञिक व्यक्तित्व समाजशास्त्र,अर्थशास्त्र र राजनीतिशास्त्र हर कोणमा अब्बल छ । अध्यावधिक छ । तर, बुढेसकाल भनेको त विश्राम हो । क्रमभंगता हो । थोरै तिनै विष्मरण हो । क्रमभंगता कतै नभेटिने यस्तो सार्थक समर्पणपूर्ण क्रियाशीलतालाई के बुढेसकाल भन्ने?कांग्रेस कार्यकर्ता उत्तर दिने मात्र होइन प्रश्न गर्ने हैसियत राख्नुपर्छ । त्यसो भए निरन्तरता,निष्ठा,संघर्ष, त्याग र अनुभव भनेको के हो? समाज परिवर्तनको अभियन्ता नै विकास र परिवर्तनप्रति बेखबर भन्नु अन्याय मात्र होइन अत्याचार हुन्छ ।

निर्विवादित उमेदवार अनि कांग्रेसको ऊर्जा
कास्की कांग्रेसका बाकी १५ दाबेदारमध्ये कसैले पनि मैले नपाएर गुरुले किन उम्मेदवारी पाउनुभयो भनेर रत्तिभर गुनासो नगर्नु, गुरुका लगि ठूलो सम्मान हो । निष्ठा र निरन्तरताको पनि सम्मान हो । कांग्रेसका लागि सकारात्मक ऊर्जा हो ।

निरंकुशताको खोरिया फाँडेर लोकतन्त्रको बगैंचा बनाउने चरणबद्ध सञ्चालित अभियानका जुझारु अभियन्ता गुरु प्रजातन्त्र स्थापनादेखि लोकतन्त्र प्राप्तिको आन्दोलनमा अर्थपूर्ण योगदान दिएका तर परिवर्तित सन्दर्भमा महत्वपूर्ण जिम्मेवारीमा जान नचाहेका र नसकेका जुनकुनै पार्टीमा रहेका दर्जनौं कस्केली अग्रज, अनुभवी र त्यागी प्रजातन्त्र सेनानीहरुको प्रतिनिधित्व पनि गुरुको उम्मेदवारीले गरेको छ ।

तपाईको प्रतिक्रिया