मादी १२ मा वडा भवन शिलान्यास

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १२:३४

समाधान संवाददाता, पोखरा

कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले विकासलाई सही तरिकाले अगाडि बढाउन सबैको एकता आवश्यकता रहेको बताएका छन् । मादी गाउँपालिका वडा नं १२ को भवन शिलान्यास गर्दै अधिकारीले अहिलेको विकासको मोडलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पूरा गर्नेमा आशंका व्यक्त गरे ।

‘विकास जनतामुखी छ वा छैन मूल्यांकन गरिनुपर्छ, समृद्ध नेपाल सुखी नेपालीका लागी विकासको मोडललाई पनि परिर्वतन गरिनुपर्छ,’ अधिकारीले भने, ‘उत्पादन विनाको विकासले सही दिशा लिँदैन, सबै उत्पादनसंग जोडीनु पर्छ ।’ अधिकारीले जनताका काम गर्ने क्रममा आउने गाली, आलोचनाबाट नडराउन जनप्रतिनिधिलाई आग्रह गरे ।

Advertisement

कास्की जिल्ला समन्वय समितिको मौज्दात कोषबाट मादीका वडा ४ , ५, ७, ८, ९ र १२ नम्बर वडाको वडा भवन निर्माण गरिँदैछ । जसका लागि जिल्ला समन्वयले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशतको साझेदारी गरेका छन् ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले वडा नम्बर १२ को भवन निर्माण गर्न ६९ लाख ७६ हजार रुपैयाँ लागत लाग्ने बताए । जसमा मादी गाउँपालिकाले २७ लाख ९० हजार रुपैया लगानी गर्नेछ ।

Advertisement

बराले अपांगमैत्री, वातावरण मैत्री भवन निर्माणमा ध्यान दिन निर्माण कम्पनीलाई सुझाए । मादी गाउँपालिका उपाध्यक्ष विष्णुमाया पौडेलले बजेट विनियोज हुनेभन्दा पनि समय सीमाभित्रै निर्माण सम्पन्न हुने कुरा महत्वपूर्ण रहेको बताइन् ।

उनले भवन निर्माणका क्रममा स्थानियहरुको निरीक्षण पनि उत्तिकै महत्वपूर्ण हुने भनाइ राखिन् । मादी १२ का वडा अध्यक्ष चित्रबहादुर गुरुङले निर्माण सामग्रीको ल्याब परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउने सम्झौता भएकाले भवनको बलियो बन्ने अपेक्षा व्यक्त गरे । नेकपा जिल्ला सदस्य पदम पौडेलले तिनै तहका सरकार जनताको सोच र अपेक्षा अनुरुपको गतिमा अगाडि बढ्दै गएको बताए ।

तपाईको प्रतिक्रिया