लोघेकरको ताङ्ग्यामा मोबाइल सेवा सञ्चालनमा

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १२:४४

नेपाल टेलिकमको प्राविधिक टोली टावर विस्तार गर्दै । तस्बिरः एसके थकाली

एसके थकाली
जोमसोम

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ५ ताङ्ग्यामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले गत आइतबार भिटिएस टावर स्थापना गरेपछि मोबाइल सेवा सञ्चालनमा आएको हो । सञ्चारको पहँुच नपुग्दा सूचना आदान ÷प्रदान तथा देश विदेशका खबर सुन्न र हेर्नबाट बञ्चित थिए । टावर स्थापनापछि स्थानीयबासीको समस्यालाई नेपाल टेलिकम मुस्ताङ शाखाले समाधान गरिदिएको छ ।

Advertisement

टेलिकमको नेटवर्क विस्तारसँगै गाउँमै मोबाइल सेवा उपलब्ध भएपछि ताङ्ग्याबासीमा उत्साह थपिएको छ । यसअघि कुनै आफन्त इष्टमित्रलाई फोन गर्नुपर्दा ५ घन्टा पैदल हिँडेर चराङ आउनु पथ्र्याे । ताङ्ग्यामा करिब ३० घरधुरी छन् । त्यहाँ विद्युत र यातायात पहुँच छैन ।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले टेलिकमसंँग समन्वय गरी सञ्चार विस्तारको अभियानमा लागेको बताए । उनका अनुसार दामोदरकुण्डसम्म सञ्चार सेवा विस्तार गर्ने योजना छ । ‘उपल्लो मुस्ताङमा विद्युत र सञ्चारको पहँुच बढाउने अभियानमा छौं,’ उनले भने, ‘केही स्थानमा भिटिएस बिस्तार भयो, अन्य ठाउँमा पनि मोबाइल सेवा सञ्चालनमा ल्याउँछौं ।’ गाउँपालिकाको सक्रियता र नेपाल टेलिकमको मोबाइल टावर विस्तार गरिएपछि उपल्लो मुस्ताङ आउने पर्यटक तथा स्थानीयबासीलाई सञ्चार पहुँच पुगेको अध्यक्ष विष्टले बताए ।

Advertisement

नेपाल टेलिकम मुस्ताङ शाखा प्रमुख सुमनराम श्रेष्ठले उपल्लो मुस्ताङको स्याङबोचे, घिलिङ, घमी, चराङ र छोसेरमा भिटिएस मोबाइल टावर जडान गरी सेवा सुचारु गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया