अमेरिकी पाहुनालाई ढाका र पछ्यौरी

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १४:४८

समाधान संवाददाता, दुलेगौंडा

तनहुँमा विद्यालयका भवन निर्माणमा सहयोग पुर्‍याएका योङ लिभिङ फाउन्डेसनका प्रतिनिधिलाई बिहीबार सम्मान गरिएको छ । शुक्लागण्डकी ७ खैरेनीटारमा सरस्वती नमुना माविको नवनिर्मित दुई तले ८ कोठे भवनको उद्घाटनका अवसरमा उनीहरुलाई ढाकाटोपी लगाएर सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सांसद आशा कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन कुमालले १६ जना विदेशी नागरिकलाई ढाकाटोपी लगाइदिएका थिए । उनीहरुले विेदी पुरुषलाई ढाकाटोपी र महिलालाई पछ्यौरी लगाइदिए ।

Advertisement

ढाका टोपीमा रमाएका विदेशी खुसी हुँदै नेपाली गीतमा नाचेका थिए । उनीहरुमध्ये १५ जना अमेरिका र १ जना मेक्सिकोबाट आएका हुन् । ‘उनीहरु आफै दाता र कामदारसमेत हुन् । उनीहरुले निर्माण गर्ने भवन आफै बनाउने गर्छन्,’ समाजसेवी दिनेश गौतम ‘विश्वजीत’ ले भने, ‘यसले गर्दा आफूले सहयोग गरेको रकम राम्रोसँग खर्च हुने भयो । अर्कोतर्फ समयमै काम सकिने गरेको छ ।’

विनाशकारी भूकम्पलगत्तै नेपाल आएका उनीहरुले पहिलो चरणमा दोलखामा ९९ घर र १ विद्यालय २ वर्षमा सम्पन्न गरेका थिए । त्यसपछि सम्झौता नवीकरण गर्दै तनहुँका सामुदायिक भवन निर्माणमा अग्रसर भएको पूर्वमन्त्रीसमेत रहेकी कोइरालाले जानकारी दिइन् । ‘तनहुँमा विद्यालय, जेष्ठ नागरिक, आमा समूह र महिला सहकारीका गरी १९ वटा भवनमा लगानी भएको छ,’ उनले भनिन्, ‘आवश्यकताको आधारमा भवन निर्माण अघि बढाइएको छ ।’ उनका अनुसार फाउन्डेसनले करिब १५ करोड लगानी गर्नेछ ।’

Advertisement

फाउन्डेसनले यसअघि ६ वटा सामुदायिक विद्यालय र महिलाद्वारा सञ्चालित १ सहकारीको भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ । फाउन्डेसन आफैले पूर्वाधार तयार गर्दै आएको नेपाल निर्देशक सुवास सिंहले जानकारी दिए । सरस्वती माविको भवनमा करिब १ करोड रुपैयाँ खर्च भएको छ । यसमध्ये करिब १३ लाख रुपैयाँ विद्यालयले लगानी गरेको प्रधानाध्यापक सोमनारायण श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया