‘अटेरी’ फुटपाथ व्यापारीलाई कारबाही

समाधान संवाददाता २०७६ मंसिर १ गते १२:५१

विकास रोकामगर
पोखरा

मुख्य बजार क्षेत्रका सडक छेउमा व्यापार गर्ने २० जनालाई महानगरले कारबाही गरेको छ । पहिलो पटकका लागि प्रति व्यापारी १ हजारका दरले जरिवाना गरिएको महानगरले जनाएको छ ।

सडक छेउका फुटपाथ ओगटेर बसेका व्यापारी हट्न महानगरले कात्तिक १७ गते १ हप्ते अल्टिमेटम दिएको थियो । तर, महानगरले तोकेको समयावधिमा पनि फुटपाथ व्यापार नहटाएपछि ती व्यापारीलाई कारबाही गरिएको महानगर निरीक्षण महाशाखाका प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।

Advertisement

‘पहिले २ सय रुपैयाँमात्रै जरिवाना गरिन्थ्यो । कम रुपैयाँ जरिवाना गर्दा झनै अटेरी गरे,’ महानगरले फुटपाथ व्यापार हटाउन गठन गरेको समिति संयोजकसमेत रहेका थापाले भने, ‘तर, महानगरको कात्तिक ७ गते बसेको बैठकले १० हजारसम्म जरिवाना गर्नसक्ने निर्णय गरिसकेपछि सोही अनुसार कारबाही प्रक्रिया थालेका हौं ।’ उनले पटके कारबाहीमा परेमा जरिवानासहित सामान पनि जफत गर्नेगरी व्यापारीसँग सहमति गरिएको जानकारी दिए ।

कारबाही पर्नेमा सबैभन्दा बढी महेन्द्रपुल र पृथ्वीचोकका व्यापारी छन् । ‘सबैभन्दा बढी व्यस्त व्यापारिक ठाउँ पनि तिनै हुन् । त्यहाँ मान्छेको बढी चाप हुने हुनाले फुटपाथ व्यापारी पनि बढी हुन्छन्,’ थापाले भने । महानगरले पोखराका मुख्य व्यापारिक क्षेत्र नयाँ बजार, महेन्द्रपुल, सिद्धार्थचोक, पृथ्वीचोक, सिर्जनाचोक, बगर लगायत ठाउँका सबै फुटपाथ व्यापार हटाउन पत्राचार गरेको थियो ।

Advertisement

अनुगमन दिउँसोमात्रै !
१ हप्ताअघिसम्म पोखरा महेन्द्रपुल र पृथ्वीचोकमा फुटपाथ व्यापारी टम्म भरिएका हुन्थे । जसका कारण यात्रुलाईमात्रै नभई त्यहाँ व्यापार गरिरहेका अरु व्यापारीलाईसमेत सकस पर्ने गर्दथ्यो । महानगरले अहिले फुटपाथ व्यापारीमाथि अनुगमन र कारबाही सुरु गरेपछि दिउँसोका व्यापारी घटेका छन् । तर, साँझ र बिहानको समस्या भने उस्तै छ ।

महानगरले दिउँसोमामात्रै अनुगमन गर्ने भएकाले बिहानसाँझ फुटपाथ व्यापारी नघटेका हुन् । तोकिएका मुख्य बजार क्षेत्रका सडक वरिपरि व्यापार हटाउन नगर प्रहरीलाई जिम्मा दिएको छ । नगर प्रहरीले महानगरले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म अर्थात ‘कार्यालय समय’मा मात्रै अनुगमन गरिरहेको छ ।

दिउँसोबाहेक बिहान र साँझ पनि अनुगमन गर्न जनशक्तिको अभाव रहेको महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेल बताउँछन् । ‘दिउँसो नगर प्रहरीले अनुगमनमात्रै होइन । अटेरी गर्ने व्यापारीलाई कारबाही नै गरिरहेको छ । तर, बिहान र साँझ अनुगमन गर्ने हामीसँग जनशक्ति अभाव छ,’ उनले भने, ‘जनशक्ति अभावको मौका पारेर व्यापारीहरु मनमौजी गरिरहेका छन् ।’

महानगर निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापा बिहान र साँझ पनि अनुगमन गर्न ‘ओभर टाइम’को व्यवस्था हुनुपर्ने बताउँछन् । उनले बिहान बेलुकाको अनुगमन बढाउन थप जनशक्तिको व्यवस्था गर्न महानगरलाई जानकारी दिइसकेको बताए । ‘डिउटी बढाएर ओभर टाइमको व्यवस्था गर्न माग गरेका छौं । निर्देशन नपाएकाले बिहान बेलुका अनुगमनमा जान पाएका छैनौं,’ उनले भने ।

पोखरा महानगरले फुटपाथ व्यापार हटाउन कात्तिक ७ गतेको बसेको बैठकले निर्णय गरेको थियो । निर्णय अनुसार फुटपाथ व्यापारीमात्रै नभई व्यापार गर्न स्वीकृति दिने घरधनीसमेत कारबाहीको दायरामा पर्नेछन् । फुटपाथमा व्यापार गर्ने व्यापारीलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गर्ने महानगरले निर्णय गरेको छ ।

७ गते बसेको महानगर बैठकले पोखरा चिप्लेढुंगामास्थित मानव अधिकार चोक र विपी चोकमा कुनै पनि प्रकारको कार्यक्रम नगर्न सूचित गरेको छ । ती चोकमा कार्यक्रम गरे ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया