गण्डकी प्रदेश–वासिङ्टनबीच अब भगिनी सम्बन्ध

समाधान संवाददाता २०७६ मंसिर १ गते १३:२०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश र अमेरिकाको वासिङटन राज्यबिच भगिनी सम्बन्ध स्थापित हुने भएको छ । अमेरिका भ्रमणमा रहेका गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र वासिङटनका गभर्नर जे इन्जलीबीच शुक्रबार भगिनी सम्बन्ध स्थापित गर्ने बारेमा छलफल भएको छ ।

भौगोलिक हिसावमा गण्डकी प्रदेश र वासिङ्टनबीच घेरै समानता रहेकाले भगिनी सम्बन्ध स्थापना गर्ने बारेमा छलफल भएको छिटै नै सकारात्मक परिणाम आउने मुख्यमन्त्री सुब्बाले जानकारी दिए । विकास र सम्वृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले भगिनी राज्यको सम्बन्ध कायम गर्ने प्रस्ताव गरेको र त्यसमा वासिङटनका गभर्नर जे इन्जली सकारात्मक रहेको मुख्य मन्त्री गुरुङले बताए । गण्डकीका मुख्यमन्त्री गुरुङसहितको टोली वासिङटनका गभर्नर इन्जलीको निम्तोमा अमेरिका गएको थियो । मुख्यमन्त्री गुरुङ र वासिङटनका गभर्नर इन्जलीबिच सियाटलमा भेटवार्ता भएको हो ।

Advertisement

भेटको क्रममा आफूहरुबीच २ राज्यबीच सहकार्य स्थापित गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री गुरुङले जानकारी दिए । आफूहरुले वासिङ्टनका विभिन्न क्षेत्रको अवलोकन गरेको मुख्यमन्त्री गुरुङले बताए ।

वासिङटनमा पनि गण्डकी प्रदेशमा जस्तै तालहरु रहेको र नेपालको जस्तै वासिङटन राज्यको आधिकारिक फूल लालिगुराँस हो । आफूले वासिङटनका गभर्नर इन्जलीलाई गण्डकी प्रदेश भ्रमणको निम्तो दिएको र इन्जलीले चाँडै आउने प्रतिबद्धता जनाएको मुख्यमन्त्री गुरुङले जानकारी दिए । नेपालको गण्डकी प्रदेश निकै सुन्दर रहेकोबारे आफू जानकार रहेको भन्दै गभर्नर सकेसम्म समय मिलाएर अर्को वर्ष परिवारसहति भ्रमणमा आउने प्रतिबद्धता जनाएका छन् । ग्लोबल वार्मिङले हिमाल र हिमालय क्षेत्रमा पारेको प्रभावबारे चिन्ता व्यक्त गर्दै गभर्नर इन्जलीले वातावरण जोगाउन विश्व एकमत हुनुपर्नेमा जोड दिए ।

Advertisement

भ्रमणको क्रममा आफूहरुले वासिङटन राज्यका विभिन्न काउन्टी तथा समग्र राज्यमै कानुनी अपराध न्यूनीकरण तथा दण्डहीनता अन्त्य गर्ने सम्बन्धमा भइरहेका प्रयासहरुबारे अध्ययन गरेको मुख्यमन्त्री गुरुङले बताए । यस्तै त्यहाँको प्रहरीको कार्यशैली र अपराध अनुसन्धानको प्रक्रियाबारे पनि जानकारी लिएको र त्यसले आफ्नो प्रदेशमा कानुन कार्यान्वयनका लागि सहयोग पुग्ने उनले बताए ।

यस्तै अमेरिका भ्रमणको क्रममा युएस–नेपाल मेडिकल फाउन्डेसनका पदाधिकारीसँग पनि कुराकानी गरेको बताए । मेडिकल शिक्षाका सम्बन्धमा भएको कुराकानी सकारात्मक रहेको मुख्यमन्त्री गुरुङले जानकारी दिए । गण्डकी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय स्थापनाका लागि छलफल सकारात्मक भएको र अक्सिजन प्लान्ट निर्माणका बारेमा पनि कुराकानी भएको भ्रमणमा सहभागी गण्डकी प्रदेशमा मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले जानकारी दिए ।

अमेरिका भ्रमणमा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली अमेरिकाको वासिङ्टन राज्यका गभर्नर जे इन्जलीका साथमा ।

तपाईको प्रतिक्रिया