उपनिर्वाचनकाे सुरक्षाबारे प्रदेश प्रहरीकाे छलफल

समाधान संवाददाता २०७६ मंसिर २ गते १३:०२

समाधान संवाददाता
पोखरा

प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको उपनिर्वाचनको सुरक्षा व्यवस्थाबारे प्रदेश प्रहरी कार्यालय गण्डकीले आइतबार पोखरामा छलफल गरेको छ । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक दीपक रेग्मीले मंसिर १४ गते हुने उपनिर्वाचनमा उत्पन्न हुने सुरक्षा चुनौतीबारे जानकारी गराएका छन् ।

उपनिर्वाचनका क्षेत्र, उम्मेद्वार, मतदाता, निर्वाचन सुरक्षा चुनौती, प्रहरी जनशक्ति परिचालन, मतदान केन्द्रको सुरक्षा योजना, आवस्यक स्रोत साधनको व्यवस्थापनका बारेमा उनले उक्त अवसरमा जानकारी गराएका छन् । यसैगरी उपनिर्वाचनको पूर्व तयारी, निर्वाचनको दिनको सुरक्षा तयारी, निर्वाचन पश्चातको सुरक्षा योजना, मतपेटिका तथा मत पत्रको सुरक्षाका बारेमा प्रदेश प्रहरीले कार्ययोजना बनाइसकेको छ ।

Advertisement

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले उपनिर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा विश्वसनीय वातवरणमा सम्पन्न गराउन कुनै कसर बाँकी नराख्न मातहतका कर्मचारीलाई निर्देशन दिए । आइपर्ने सक्ने चुनौतीको पूर्वानुमान गरी सरोकारवाला निकायसँग छलफल गर्दै विशेष सुरक्षा रणनीति अनुरुप काम गर्न समेत उनले निर्देशन दिए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक राजेशकुमार लाल कर्ण, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट सहभागी थिए । यसैगरी गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की लगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी अधिकृत सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया