अति लोकतन्त्र भए अराजकता हुन्छ

समाधान संवाददाता
पोखरा
पत्रकारविरुद्ध हुने दण्डहीनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा १ कार्यक्रममा जोड दिइएको छ । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा फ्रिडम फोरमले पोखरामा सोमबार ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयमा आयोजना गरिएको कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो । सहभागीले राज्य र गैरराज्य दुवैले आचारसंहिता पालना गर्ने हो भने दण्डहीनता न्यूनीकरण हुने बताए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पत्रकारको सुरक्षा र दण्डहीनता अन्त्यका लागि राज्य र पत्रकार दुवै संवेदनशील हुनुपर्नेमा जोड दिए । ‘राज्यलाई मर्यादित बनाउन म प्रतिबद्ध छु,’ उनले भने, ‘तपाईहरु पनि सचेत रही काम गर्नुहोला ।’ मन्त्री चुमानले नेपालमा लोकतन्त्रको अभ्यास अति लोकतन्त्रतर्फ गइरहेको बताए । ‘अति लोकतन्त्र भए अराजक उत्पन्न हुन्छ, उनले थपे, ‘अति प्रजातन्त्रप्रति हामी सचेत हुनु जरुरी छ ।’
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सरोकारवालाबीच भएको यस प्रकारको छलफलले सम्बोधन गर्नुपर्ने विषय जानकारी हुने उल्लेख गरे । उनले पेसालाई मर्यादित बनाउनुपर्ने बताए । ‘समाचार लेखेको कारण कुनै समस्या हुन्छ भने हामीले हेर्नुपर्छ,’ उनले अगाडि भने, ‘तर अन्य कुनै पेसा गरेको अभियोगमा पत्रकारितासँग जोड्ने विषयमा हामी स्पष्ट हुनुपर्छ ।’ उनले पत्रकारको भौतिक सुरक्षामात्र नभई सामाजिक र आर्थिक सुरक्षा पनि महत्वपूर्ण पाटो भएको सुनाए । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राज्यले स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले पत्रकार आफंै व्यावसायिक ढंगबाट अघि बढ्नुपर्ने उल्लेख गरे । वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले अपराध गर्ने व्यक्ति सजायको भागीदार हुनुपर्ने बताए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका वरिष्ठ प्रहरी उपरीक्षक राजेशकुमार लाल कर्णले भिभिआइपी व्यक्ति आउँदा सुरक्षाका कारण पत्रकारलाई समाचार संकलनमा कठिनाइ भएको स्वीकार गरे । प्राध्यापक वेदहरि तिमिल्सिनाले दबाव, प्रभाव र अभावमा पत्रकारिता गर्न नसकिने बताए । वरिष्ठ पत्रकार नारायण कार्कीले पत्रकार पार्टीका प्रवक्ता भएर हिँड्दा स्वतन्त्र पत्रकारितामा चुनौती थपिएको उल्लेख गरे । ‘२ ठाउँमा खुट्टा नहालौं,’ उनले भने, ‘यसले व्यावसायिक पत्रकारितामा बाधा उत्पन्न हुन्छ, यस्तो नगरौं ।’ अधिवक्ता हरिराम पोख्रेलले पत्रकारिता पारदर्शिता र स्वतन्त्र हुनुपर्नेमा जोड दिए । राष्ट्रिय मानव अधिकार आयोग पोखराका मानवअधिकार अधिकृत टंक खनालले पूर्वाग्रही भएर समाचार लेख्दा धम्की र आक्रमण हुने गरेको सुनाए ।
गैरसरकारी संस्था महासंघकी विना सिलवालले नवआगन्तुक पत्रकारलाई अभिभावकत्व कम भएको गुनासो गरिन् । क्रियाशील पत्रकार महिला सरीता पंगेनीले राज्यले ल्याएका ऐनका कारण खोजमूलक पत्रकारिता गर्न चुनौती थपिएको टिप्पणी गरिन् । फ्रिडम फोरमकी राममाया लामिछाने र रमेश पौडेलले पत्रकारले लेखेका सुचनाले सर्वसाधारण सुसूचित हुने भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार लालबहादुर क्षेत्री, इन्सेक पोखराका प्रमुख शिव खकुरेल, नागरिक समाजका रामप्रसाद पौडेल, पत्रकार नवराज सुवेदी, भरत कोइराला, नवीन सिग्देल, जमुना वर्षा शर्मा लगायतले स्वतन्त्र पत्रकारिताका लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
हरेक वर्ष नोभेम्बर २ लाई पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै आएको फ्रिडम फोरमका प्रदेश प्रतिनिधि राजन उपाध्यायले जानकारी दिए । पत्रकार तथा मिडियाकर्मीविरुद्ध हुने अपराधसम्बन्धी दन्डहीनता अन्त्य गर्न विश्वभर ऐक्यबद्धता जनाउने, जनचेतना जगाउने, पीडित पत्रकारको न्यायका लागि वकालत गर्ने उद्देश्यले उक्त दिवस मनाउन सुरु गरिएको हो । सन् २००९ मा फिलिपिन्सको एम्पातुयन हत्याकाण्ड (मागुइडानो हत्याकाण्ड) मा मारिएका ३२ पत्रकार तथा मिडियाकर्मीको सम्झनामा विश्वभरका अभिव्यक्ति स्वतन्त्रताप्रेमी संघ, संस्थाले गरेको वकालतको परिणामस्वरुप संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ देखि यो दिवसलाई संसारभर मनाउने निर्णय गरेको थियो ।









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया