४ महिनामा ३५५० सवारी कारबाहीमा

समाधान संवाददाता २०७६ मंसिर ३ गते १३:२१

मोहसिन अलि मियाँ
गोरखा

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहिलो चौमासिकको प्रगति प्रतिवेदन सार्वजानिक गरेको छ । पत्रकार भेटघाट गर्दै ट्राफिक प्रहरीले हालसम्म भए गरेका कामबारे जानकारी गराएको हो । ट्राफिकले यस अवधिमा ३ हजार ५ सय ५० सवारी साधनलाई कारबाही गरेको छ । साउनदेखि कात्तिकसम्म ती सवारी साधन कारबाहीमा पर्दा २८ लाख २९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा ३ हजार ४ सय ५० सवारी साधन कारबाहीमा पर्दा २१ लाख ७४ हजार ५ सय राजस्व संकलन भएको थियो ।

यो गत वर्षभन्दा ६ लाख ५५ हजार बढी हो । यो आर्थिक वर्षमा ५ सयभन्दा बढी सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले जानकारी दिए । ‘हामीले चेकजाँच र सचेतनामूलक कार्यक्रमलाई १ साथ अघि बढाएका छौं’ उनले भने, ‘जसले गर्दा विगतको तुलनामा दुर्घटनाको दर घटेर गएको छ भने सवारी नियम उल्लंघन गर्नेहरु कारबाहीको दायरामा आएका छन् ।’

Advertisement

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुर्घटनामा भने कमी आएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा १० वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै १२ जना गम्भीर र ८ जना सामान्य गरी २० जना घाइते भएका थिए ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४ वटा सवारी दुर्घटनामा परेका छन् । सवारी दुर्घटनाबाट १ जनाको मृत्यु हुँदा २ जना गम्भीर ४ सामान्य गरी ६ जना घाइते भएका छन् । ट्राफिक प्रहरीको सक्रियता बढेका कारण दुर्घटनाको दर घट्नुको साथै राजस्व बढी संकलन भएको प्रमुख विकले बताए । यसबीचमा ३५ स्थानका ३ हजार ६ सय ६७ जना सर्वसाधारणलाई दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनबारेमा जानकारी गराइएको छ । कार्यक्रममा ३ वर्ष यताको प्रगति प्रतिवदेनको समीक्षा गरिएको थियो ।

Advertisement

‘हामीले ठाउँ ठाउँमा सचेतनमूलक कार्यक्रम गरिरहेका छौं, यसलाई अझै बढाउँदै लैजाने योजना छ,’ ट्राफिक प्रमुख विकले भने, ‘अहिले मोटरसाइकलमा घुमुवा टोली पनि परिचालन गरिएको छ, चेक जाँच पनि उत्तिकै जोड दिइरहेका छौं ।’ ग्रामीण क्षेत्रमा विस्तार भएको सडक र ग्रामीण बजारमा पनि सवारी चाप बढिरहेकाले ट्राफिक प्रहरीको थप जनशक्ति माग गरिएको उनले बताए ।

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयले अब हरेक महिना १ चालकलाई सम्मान गर्ने भएको छ । नियमको पालना गरी सवारी चलाउने उत्कृष्ट चालक छनोट गरी हरेक महिना सम्मान गर्न लागिएको ट्राफिक प्रमुख विकको भनाइ छ ।

तपाईको प्रतिक्रिया