स्याउ फल्यो, चिन्ता थपियो !

समाधान संवाददाता २०७६ मंसिर ३ गते १३:३६

चुमनुब्री ७ छेकपगाउँमा लटरम्म फलेका स्याउ ।

मोहसिन अली मियाँ
गोरखा

केहि वर्षअघि छेकम गाउँमा सबैले स्याउका बिरुवा लगाए । स्याउका बिरुवा नहुर्किञ्जेल कहिले फल्ला भन्ने चिन्ता भयो । फलेपछि कहाँ लैजाने भन्ने थप पीरलो अहिले स्थानीयलाई छ । चुमनुब्री गाउँपालिका ७ को छेकमगाउँमा अहिले घरैपिच्छेस्याउका रुख छन् । स्याउ सबैका घरमा लटरम्मै फलेका पनि छन् ।

Advertisement

तर खै बजार, कहाँ कसलाई बेच्ने ? सबैको एउटै प्रश्न यही छ । ‘स्याउले आम्दानी राम्रो दिन्छ भनेर बिरुवा लगाइयो । पोहोरदेखि स्याउ फल्न थालेको छ’, स्थानीय ढोल्कर लामाले भने, ‘फलेर के गर्नु, न बेच्ने ठाउँ छ, न खाएर सकिन्छ ।’

छेकमगाउँमा अहिले घरैपिच्छे जसो भएका रुखमा हाँगै लच्किने जसरी स्याउ फले पनि विक्रिका लागि बजार नहुँदा स्थानीय चिन्तित छन् । ‘दुःख गरेर स्याउका बोट हुर्काइयो । स्याउ बिक्री हुँदैन, के गर्नु ?’ लामाले थपे, ‘बजार भए त व्यावसायिक रुपमै गर्ने सोच हो तर फलेपछि पन्छाउने कसरी झन तनाव हुने रहेछ ।’

Advertisement

उनकोे मात्रै होइन, छेकमका किसानका बारीमा राताम्मे भएर अहिले स्याउ पाकेको छ । तर बिक्री हुन सकेको छैन । ‘आफूले खाएर नसकिने, कति त कुहिएर जान्छन्,’ अर्का स्थानीय लाक्पा लामाले भने ‘मनास्लु पदमार्गमा पर्यटक हिँडे फाट्टफुट्ट स्याउ बिक्री हुन्छ ।’

गाउँमा खुलेका होटलमा स्याउ बिक्रीका लागि राखिए पनि बिक्री हुने अवस्था छैन । पाकेको स्याउ सदरमुकाम तथा काठमाडौँ पु¥याउन सके मनग्य आम्दानी हुने स्थानीयले सपना देख ेपनि सडक सञ्जाल नहुँदा उनीहरुको सपना साकार हुन सकेको छैन । ‘हेलिकोप्टर, खच्चडबाट बोकाएर बजार पु¥याउन महंगो पर्छ । फाइदा हैन उल्टो घाटा हुन्छ’, लामाले भने, ‘अरु विकल्प छैन ।’ स्याउ बिक्री नभएपछि कतिपयले छ्याङ, रक्सी बनाउने गरेका छन् ।

सदरमुकामबाट त्यहाँ पुग्नै करिब ४ दिन लाग्छ । राम्रो फले पनि उत्पादित स्याउले बजार नपाउँदा छेकम्पारका मात्रै होइन, उत्तरी गोरखाका किसान व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित हुन सकेका छैनन् । बजारमा भारतीय स्याउको मूल्य दिनहुँ आकासिएको छ तर उत्तरी गोरखाका विभिन्न ठाउँमा फलेका स्याउ बजारसम्म ल्याउन सकिएको छैन ।

गण्डकी प्रदेश सरकारले उत्तरी गोरखालाई स्याउको पकेट क्षेत्र बनाउने भन्दै धार्चे र चुमनुब्रीमा गत वर्ष १० हजार बिरुवा वितरण गरेको थियो । यस बर्ष पनि व्यावसायिक रुपमा विकास गर्नका लागि थप २० हजार विरुवा रोप्ने योजनामा सरकार छ तर सडक सञ्जाल र बजारको उचित व्यवस्था नहुँदा उत्तरी गोरखाका स्याउ बजारसम्म आइपुग्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया