सुकुम्वासीको सुखदुख बुझेका वौद्धिक उम्मेदवार

समाधान संवाददाता २०७६ मंसिर ३ गते १६:२४

राजबहादुर गुरुङ

सन् १९७५ जुन २६ तारेखका दिन भारतीय तत्कालीन प्रधानमन्त्रीद्वारा भारतमा लगाइएको इमर्जेन्सी करिब २१ महिना अर्थात् जनवरी १९७७ सम्म चल्यो । भारतमा इमर्जेन्सी लागु हुनासाथ नेपालमा राजा महेन्द्रले तत्कालीन सहायकमन्त्री लमजुङका खगेन्द्रजंग गुरुङ (जो २३ वर्षको कलिलो उमेरमै मन्त्री बनेका थिए) मार्फत् आफ्नो सन्देश भारत सरकारमार्फत पठाए । दिल्ली दरबारमा राजाको सन्देश बोकर गएका मन्त्री गुरुङलाई प्रवासमा रहेका बिपी कोइरालालाई समेत भेटेर उनको र पार्टीको भित्री कुरा बुझेर मात्र भेटवार्ता गरी स्वेदश फर्किन हुकुम थियो ।

राजा महेन्द्रको हुकुम बमोजिम मन्त्री गुरुङले बिपीसँग भेटवार्ता गर्दै थिए । त्यति नै बेला पश्चिम नेपालमा भए गरेका नेपाली कांग्रेसको गतिविधि सहितको प्रतिवेदन पेस गर्न पुगेका थियो । कास्की पुम्दीभुम्दीको लुखुरे बाहुन केटो । बाहुन केटो त्यहाँ पुग्दा बिपीले तत्कालीन मन्त्री खेगेन्द्रजंग गुरुङसँग भन्दै थिए, ‘राजाको निरंकुशताले धेरै जनजातिहरुको हत्या भएको छ । राजाको सन्देशको कुरा छोड्नुस् । बरु तपाईं हामीले सुरुआत गरेको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्नुस् ।’ बिपीका मुखबाट यति कुरा खस्न नपाउँदै गुरुङले थपिहाले– ‘तपाईं गण्डक क्षेत्रलाई तमुवान प्रदेश घोषणा गरेर आन्दोलन चलाउनुस् । हामी राजालाई छाडेर संयुक्तरुपमा अघि बढ्छौं ।’

Advertisement

प्रवासमा रहेका आफ्ना नेता बिपी र तत्कालीमन्त्री गुरुङबीचको यति संवाद सुनी बसेका तिनै लुखुरे बाहुन अर्थात् खेमराज पौडेल बिपीका सामु आफ्ना विचार राख्नै सकेनन् । बिपीले राजाको सन्देश सुनाउने मन्त्री खगेन्द्रजंगको प्रस्ताव अस्वीकार गर्दै भनेका थिए, ‘जातीय आधारमा हैन, प्रजातान्त्रिक आन्दोलन भित्रैबाट देश र जनताले मुक्ति पाउँछन् ।’ प्रजातन्त्रको मूल्य, मान्यता र निष्ठाबाट प्रशिक्षित त्यही बाहुन केटो, जो आज ७४ वर्षको उमेरपर्यन्त बिपी विचार, सिद्दान्त र मान्यतालाई आत्मसात गर्दै राजनीतिमा प्रतिबद्ध छ । त्यही लुखुरे बाहुन अर्थात् खेमराज गुरु मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने चुनावमा होमिएका छन् । कास्की मात्र होइन नेपालमा भएका हरेक खालका आन्दोलनमा अग्रमोर्चामा देखिने खेमराज कहिले पनि पदलोलुप देखिएनन् । बरु पार्टी सच्चिनुपर्छ, अनि पार्टीमा लागेका नेताहरु सच्चिनुपर्छ भनेर अनवरत रुपमा लागी परे । राजनीतिमा निष्ठा आवश्यक पर्छ भन्ने विचार उनले प्रवाह गरिरहे । ६० वर्ष भन्दा बढी समय उनी राजनीतिमा समर्पित रहे । उमेरले ६ वीस १४ पार गरेका पौडेललमाथि लगाउन मिल्ने कुनै आरोप नै भेटिँदैन । पार्टीभित्र होस या बाहिर जहिले पनि उनी निर्विवाद रहे । अनि समन्वयकारी भूमिका निर्वाह गरे ।

उमेरले पाका उम्मेदवार पौडेल अहिले उत्साहका साथ चुनावमा होमिएका छन् अनि कास्की २ का मतदाताको घरदैलोमा पुगेर रुखमा मत मागिरहेका छन् । देश अहिले भ्रष्टाचारको दलदलमा फँसिरहेको अवस्थामा निष्ठावान १ कार्यकर्ताले चुनावमा अघि सर्नु नै सकारात्मक सन्देश हो । यही सन्देशले नै मतदाता उत्साही देखिएका छन् । टिकट वितरण गर्नु अघि खेमराज गुरुको नाम चर्चामा थियो । अरु पार्टीले उम्मेदवार टुंग्याउँदासम्म पनि कांग्रेस अलमलमा रहेका कारण एक खालको निराशा कार्यकर्तामा थियो । तर कार्यकर्ताको यो निराशाको कोण आशातिर ढल्कियो । जसै खेमराजको हातमा टिकट हात लाग्यो, केन्द्रदेखि स्थानीय तहसम्मबाट एकताको सन्देश प्रवाह भयो । मनोनयनकै दिनमा पोखरा आएका पार्टी उपसभापति विमलेन्द्र निधिले खेमराज गुरुले टिकट पाएसँगै दलभित्रको अन्तद्र्वन्द्व धेरै हदसम्म सल्टेको उद्घोष गरे । अनि कास्कीका मतदाताले जिताएर पार्टीभित्रको एकताको सन्देश दिन आग्रह गरे । त्यति मात्र होइन कम्युनिस्टको २ तिहाइ सरकारको कामको मूल्यांकनका लागि पनि यो महत्वपूर्ण अवसर हो । यो अवसरलाई कास्की २ का मतदाताले पक्कै सदुपयोग गर्नेछन् । ऐतिहासिक पुरुष जो निष्ठा, इमान्दारिता र सादगीका प्रतिमूर्तिका रुपमा सतिसालझैं अडिग र निर्भिक भएर नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा देश र जनताका निम्ति लडे, त्यस्ता व्यक्तिलाई उम्मेदवारको रुपमा पाउनु मतदाताका लागि अहोभाग्य हो ।

Advertisement

बिपी, गणेशमान, किसनुजी, सुवर्ण सम्शेर लगायतका नेताहरुको संसर्गमा रहेर नेपालमा बहुदलीय प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान गरेका खेमराज कहिल्यै पद र लाभको लिप्सामा लागेनन् । २०४६ सालको परिवर्तनपछि भूमिसुधार बनेकी शैलेजा आचार्यले देशभरि सुकुम्बासी र भूमिहीन जनतालाई लालपूर्जा वितरण गर्न सुकुम्बासी आयोग गठन गरेकी थिइन् । कास्कीमा तिनै खेमराज पौडेल आयोगको अध्यक्ष बने । कास्कीका तत्कालीन सुकुम्बासी बस्तीमा आफ्ना सहकर्मी साथीसहित नापजाँच टोली लिएर फटाफट कार्य सम्पन्न गरी तत्कालीन भूमिसुधार मन्त्री शैलजा आचार्यको हातबाट पोखरा उद्योग वाणिज्य संघको हलमा सेतो पूर्जा वितरण गराए ।

कार्यक्रम सकिँदा झमक्कै साँझ परेको थियो । त्यही बेला पोखरा उपमहानगरका तत्कालीन वडाध्यक्षले बोराका बोरा पैसा ल्याएर खेमराजलाई दिए । जुन पैसा सुकुम्बासीलाई पुर्जा वापत दिए वापत भनेर उठाएका रहेछन् । तर खेमराजले उक्त रकम को, कसबाट, के। कति उठाइएको हो ? सो विवरणसमेत दिन भने । त्यसपछि प्रत्येक सुकुम्बासीसँग उठाइएको रकम र नामावली समेत खेमराज पौडेललाई हस्तारण गरियो । त्यत्ति नै बेला खेमराजले सम्बन्धित व्यक्तिहरुलाई नै उक्त रकम फिर्ता गरिदिए । यसबाट पनि प्रस्ट हुन्छ कि उनी पद मात्र होइन धनका लागि पनि लालची होइनन् भनेर ।

अति सामान्य जीवन यापन गरिरहेका खेमराज गुरु पुम्दीभुम्दीकै पुख्र्यौली घरबाट पोखरा आवतजावत गर्छन् । अर्थात् पोखराको मुख्य बजारमा उनको घर छैन । उनीसँग साँझबिहान गोठमा गाईवस्तु स्याहारेको अनुभव छ । पुम्दीको माटोमा उनले धेरै पसिना बगाएका छन् । उतिबेलै वनारस पुगेर राजनीतिक संगतमा लागेका उनले त्यहाँ राजनीतिक चेतसहितको शिक्षा आर्जन गरेर स्वदेश फर्के । शिक्षण पेसामा होमिए । त्यसैले उनी अहिले सबैका ‘गुरु’ बनेका छन् ।

शेरबहादुरको नेतृत्वमा पार्टी फुटेपछि उनी जिल्ला सभापति भए । त्यसअघि पनि तारानाथ रानाभाट सभापति हुँदा उनी उपसभापति थिए । पञ्चायतपछि २०३६ सालमा कास्की जिल्ला कमिटी गठन भयो । जिल्ला कमिटीको अध्यक्ष धीरबहादुर गुरुङ हुँदा पौडेल सदस्य भनेर जिल्लाको राजनीतिमा लागेका थिए । निरन्तर राजनीतिमा लागे तर कांग्रेस केन्द्रीय कमिटीको आमन्त्रित सदस्यभन्दा माथि पुगेनन् । तर, निरन्तर जिल्लाको राजनीतिको केन्द्रमै रहन्छन्, पौडेल । उनी निवृत्त शिक्षक हुन् । वनारसबाट संस्कृत र साहित्यमा डिग्री गरेर फर्किएका पौडेलले शिक्षणसँगै राजनीति गरे । २० वर्ष शिक्षण पेसा गरेर फेरि राजनीतिमै पूर्णकालीन बनेका पौडेलले कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा सहभागी बने । पौडेल पञ्चायतदेखि हरेक आन्दोलनमा सहभागीमात्रै बनेनन्, जेलनेल पनि खाए । पहिलेका चुनावमा चारतिर फर्कने नेताहरु खेमराज गुरुले टिकट पाएसँग एकढिक्का देखिएका छन् । यो चुनावमा गुरुको विजय निश्चिताको नजिक पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया